Comments Add Comment

एनआरएन अध्यक्षका प्रत्यासी पन्तको चुनाैती –चुनाव लड्न मैदानमा आउनुहोस्

बार्सिलोना। गैरआवासीय नेपाली संघको नवौ अन्तर्राष्ट्रिय महाधिवेशन आउन दुई महिना मात्र बाँकी छ। तर, डायस्फोरामा चुनाबी माहोल अहिले ह्ववात्तै तातेको छ। संघका वर्तमान अध्यक्ष भवन भट्टले यसै साता एक बक्तब्यमार्फत आँफू पुन: अध्यक्ष पदमा दावी नगर्ने बताएका थिए । योसँगै गैरआवासीय नेपालीहरुमाँझ आगामी नेतृत्वको बिषयलाई लिएर झनै चासो बढेको हो।

बेलायत निवासी ब्यबसायी कूल आचार्यले सोमबार अनलाइनखबरसँग कुराकानी गर्दै आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रने घोषणा गरे । संघका उपाध्यक्षसमेत रहेका आचार्यले परिणाम जस्तो सुकै आए पनि चुनावी मैदानबाट पछि नहट्ने संकेत गरेका छन् ।

आचार्यको उम्मेदवारी चर्चा एक्कासी चुलिदा दुई-दुई पटकसम्म उपाध्यक्ष बनेका जर्मनी निवासी ब्यबसायी कुमार पन्त हङ्कङ्मा थिए । जर्मनी आउने क्रममा विमानस्थलबाट नै अनलाइनखबरसँग कुराकानी गर्दै प्रतिस्पर्धामा आउनेलाई साँच्चिकै मैदानमा उत्रन खुल्ला च्यालेन्ज गरेका छन्।

पन्तले अर्का उपाध्यक्ष आचार्यको उम्मेदवारी प्रति संकेत गर्दै भने,’फेरि अब म ब्याक हुने वा चुनाव नलड्ने भन्ने प्रसङ्ग नै रहदैन। चुनाव लड्न मैदानमा जो आए पनि स्वागत छ।’

संघको आगामी नेतृत्वका लागि दाबेदार मानिएका पन्तसँग हामीले चुनावी माहोल र पछिल्ला घटनाक्रममा बिषयमा कुराकानी गरेका छौं।

प्रस्तुत छ उपाध्यक्ष पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश :

दुई-दुई पटक उपाध्यक्ष त बन्नु भयो । यो पटक अध्यक्ष हुने माहोल बनेकै हो त ?

म धेरै देशहरुमा पुगे। म अहिले पनि हङ्कङ्मा छु । हालसालै मात्र ३० वटा मुलकहरुका गैरआवासीय नेपालीहरुसँग त्यही पुगेर नै छलफल गरिसकेको छु। ‘जरोदेखि लागेको मान्छे तपाईं हो अब नेतृत्व गर्नुपर्छ’ भन्ने उहाँहरुको सुझाव मात्र हैन एकमत नै छ। त्यसैले पनि आगामी नेतृत्व सम्हाल्ने माहोल बनिरहेको अबस्था हो।

तर अध्यक्ष बन्नका लागि पूर्वअध्यक्षहरुको साथ समर्थन, सहयोग र आर्शिवाद चाहिन्छ भन्छन् नि ?

पूर्वअध्यक्षहरुले मलाई नै समर्थन गर्ने भनिराख्नुभएको छ। संस्थापक अध्यक्ष उपेन्द्र जीले कम्तीमा अध्यक्ष मात्र भए पनि यसपटक सर्बसम्मत बनाउन पाए हुन्थ्यो भनिराख्नुभएकै छ। शेष दाईले पनि अब तपाईंकै पालो हो अघि बढ्नुहोस् मेरो शुभकामाना छ भन्नुभएकै छ। तर हामी नेपालीहरु निर्वाचनमा अलिकति रमाउने र अलिकति पर्वको रुपमा लिने चलन पनि छ। निर्वाचन नभए अलिकति खल्लो हुन्छ भन्ने समूहका साथीहरु पनि हुनुहुन्छ। तर पनि सर्बसम्मत हुने धेरै सम्भावना देख्छु। नभए प्रजातान्त्रिक प्रक्रिया त छदै नै छ।

साँच्चिकै सर्बसम्मतको सम्भावाना देख्नुभएकै हो त ?

हो। एकदमै धेरै सम्भावना छ। बिशेष गरी भवन जीको अस्तिको बक्तब्य आइसकेपछि त झन् सम्भावना बढ्यो। मेरो र उहाँको धेरैपटकको कुराकानीमा पनि सर्बसम्मत नेतृत्वका लागि पहल गर्छु भन्नुभएकै छ।

अध्यक्ष भट्टको बक्तब्यको कुरा गर्नुभयो, तपाईंहरुको आन्तरिक सहमति अनुसार नै ठाउँ खाली गरिदिनु भएको हो ?

त्यसरी पनि नलिउ। निर्वाचनको समय नजिकिदै छ । नेतृत्वका इच्छा राख्ने साथीहरुलाई मार्ग प्रशस्त होस् भनेर बक्तब्य दिनुभएको हो भन्ने लाग्छ। मसँग भएको सहमति नितान्त व्यक्तिगत हो । मैले त्यतिबेला उहाँलाई सघाउने र उहाँले भविष्यमा सघाउने भन्ने कुरा नै हो। तर भ्रम नहोस् कि त्यसमा कुनै सँस्थागत संग्लनता छैन। उहाँले अध्यक्षको रुपमा बक्तब्य दिदैगर्दा हाम्रो सहमतिलाई आधार मानेर दिएको भन्ने प्रश्न आउँदैन। र मलाई त्यस्तो पनि लाग्दैन। नेतृत्व गर्न लायक थुप्रै सक्षम साथीहरु हुनुहुन्छ भन्ने ठानेर नै मार्गप्रशस्त गर्नुभएको भन्ने मेरो अनुमान छ।

तपाईंलेनै व्यक्तिगत सहमति भनिराख्नुभएको परीपेक्षमा तर तपाईंकै इतर अर्कै उम्मेदवारलाई समर्थन गर्नकै लागि अहिले देखिनै बाटो प्रशस्त गर्नुभएको हो भन्ने एकखाले चर्चा पनि सुनिन्छ नि ?

मलाई त्यस्तो पटक्कै लाग्दैन। त्यस्तो हलुका अनुमान गर्दा अहिले नै हतार हुन्छ। पहिलो कुरा त उहाँले अझै पनि २ महिना नेतृत्व गर्न बाँकी नै छ। विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्पन्न गर्नु कार्यकालभरिकै एक महत्वपूर्ण जिम्मेवारी पनि हो । त्यो बाँकी नै छ। अन्य कसैलाई नै मार्ग प्रशस्त गर्नुभएको हो भन्ने मलाई लाग्दैन । एउटा संस्थाको नेतृत्व गर्दाखेरी ऊ कत्तिको सफल भयो भन्ने कुरा आँफूपछि कस्तो नेतृत्व हस्तान्तरण गर्दैछ भन्ने बिषय निकै महत्वपूर्ण रहन्छ। यो बारे उहाँ सचेत हुनुहुन्छ।

‘एनआरएनको छाला ओढेर बसेको लोभी स्यालको बुई चढेर स्वार्थको रडाको मच्चाउने ब्वाँसाहरुको कमी छैन’ भन्दै अध्यक्ष भट्टको बक्तब्य आएको छ। यो पूर्वअध्यक्षहरुप्रतिको संकेत हो भनेर कतिपयले आकलन गरेका छन् । पूर्वअध्यक्षहरुले तपाईंलाई समर्थन गरिरहेको भनिरहँदा, अध्यक्ष भट्ट र तपाईंबीच दूरी बढेको संकेत हो ?

मैले उहाँको बक्तब्य प्रत्यक्षरुपमा अहिलेसम्म सुनेको छैन । र सुन्न पनि पाएको छैन। उहाँ जत्तिको जिम्मेवार मान्छेले पूर्वअध्यक्षहरुलाई, अभियन्ताहरुलाई त्यस्तो आरोप लगाउनु भयो भन्ने कुरामा म पटक्कै विश्वास गर्दिन । ७०-८० हजार पंजीकृत सदस्यता भएको यति ठूलो संस्थाभित्र कोही त्यस्ता मान्छेहरु पनि हुन सक्छन् भन्ने कुरालाई इंकित हुनसक्छ। यत्तिकै हावादारी अनुमान गर्नु हुँदैन। यस्तो आरोप पूर्वअध्यक्षहरुप्रति नै हो भनेर मेरो पटक्कै विश्वास छैन। हामीबीच आत्मियता कायमै छ।

तपाईंले सर्बसम्मतको त धेरै चर्चा गर्नुभयो तर अर्का उपाध्यक्ष कुल आचार्य पनि तपाईंसँगै मैदानमा आएर चुनाव लड्ने संकेत गरिरहनु भएको छ नि ?

यो पनि पढ्नुहोस एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा, भन्छन्–प्रलोभनको उम्मेदवारी हैन

अब हेर्नुहोस् । उहाँको मात्र हैन सोसल मिडियामार्फत उम्मेदवारीको वर्षा नै भइरहेको छ। अझ त्यो क्रम बिस्तारै बढ्दै पनि जान्छ।तपाईंलाई थाहा नै छ। हाम्रो इतिहासलाई हेर्दा निर्वाचनका लागि मतदान सुरु भएपछि पनि सहमति भएका उदाहरणहरु छन्अ । अब अहिले नै फलानो मान्छे अध्यक्ष उठ्दैछ। चुनाव लड्दै छ भन्ने निष्कर्षमा पुगिनहालौ। तर, बिधानसम्मत उम्मेदवारी दिन छुट छदैछ। अहिले नै कसैको उम्मेदवारीप्रति मेरो कुनै कमेन्ट रहँदैन।

चुनाव लड्ने भए मैदानमा आऊ भन्ने तपाईंको आशय हो ?

अब गैरआवासीय नेपालीहरुको भावानाको कदर गर्दै मैले अध्यक्षको उम्मेदवार दिने निश्चित नै छ। त्यो सबैलाई थाहा भएकै कुरा हो। अब यसपटक अध्यक्षको उम्मेदवार मात्र हैन अध्यक्ष नै बन्नुपर्छ भन्ने साथिहरुको भावाना पनि छ। म फेरि ब्याक हुने चुनाव वा नलड्ने भन्ने प्रसङ्ग नै रहदैन। त्यसैले प्रजातान्त्रिक प्रक्रियामा चुनाव लड्न मैदानमा जो आए पनि मैले स्वागत त गर्नै पर्‍याे नि हैन र ?

तर आचार्यको संकेत बुझ्दा त सहमतिका नाममा कसैलाई काखा वा पाखाभन्दा खुल्ला प्रतिस्पर्धाका लागि आह्वान गरे जस्तो देखियो। झट्ट हेर्दा त तपाईं चुनावबाट टाढिएर सहमतिमा जोड गरेजस्तो देखियो नि।

यो के – को चिच्चावट हो ? मैले बुझेको छैन। सहमति भनेर उहाँलाई कस्ले प्रयास गर्‍याे मलाई थाहा छैन। को-को उहाँकोमा जानुभयो वा के भन्नुभयो त्यो पनि थाहा छैन। तर निर्वाचनका लागि तयार हुनुहुन्छ भने कसैले पनि रोकेको छैन। उहाँ स्वन्तन्त्र नै हुनुहुन्छ। अब स्वतन्त्र भइसकेपछि त्यसो भनिराख्नुपर्ने कुनै आवश्यकता छ र ?

अन्त्यमा, एनआरएनएलाई स्वतन्त्र, गैरनाफामुलुक र गैरराजनीतिक संस्था भनिन्छ, तर तपाईं आँफै इमान्दर भएर यसबारे टिप्पणी गरिदिनुहोस् त। अन्तर्राष्ट्रिय महाधिवेशनमा कति ठूलो राजनीतिक प्रभाव छ ?

हो म इमान्दार भएर नै भन्छु। गैरआवासीय नेपाली संघलाई राजनीतिकरण गर्न खोज्नेहरु चुनावको बेला सलबलाएको सधैँ देखिन्छ। तर संघलाई राजनीतिकरण गराउछु भन्ने मान्छेहरु आँफै फिर्ता भएका जान्छन्। यो सञ्जाल ८० लाख गैरआवासीय नेपालीहरुको साझा संस्था हो। कसैले राजनीति ल्याएर घुसाउने प्रत्यत्न गर्छ भने त्यो दुस्साहस बाहेक अरु केही हुँदैन। संघमा राजनीतिकरण हुनुपर्छ भन्नेबारे म पटक्कै विश्वास गर्दिन। र, त्यसो हुनु हुँदैन। अझ मुख्य नेतृत्वकै लागि राजनीति घुस्छ भने त्यतिबेला संस्थाको उपादयता नै सकिन्छ।

यति मीठो गरी भनिरहँदा तपाईंलाई पनि नेपाल कम्युनिस्ट पार्टी निकट रहेर जित सुनिश्चिताका लागि राजनीतिक रङ् पोतेको आरोप त छ नि ?

निर्वाचनको क्रममा बिभिन्न शक्तिहरु सलबलाउँछन् मैले यसअघि नै प्रष्ट पारें। ममाथि लगाइएको यो मिथ्या आरोप मात्रै हो। गैरआवासीय नेपाली संघको अभियानमा म पहिलो पटक निर्वाचनको प्रतिष्पर्धामा जान लागेको होइन। यसबारे म पूर्ण सचेत छु। यसअघिका पनि मसँग थुप्रै निर्वाचनका अनुभवहरु छन्। दुई-दुई पटक उपाध्यक्ष बन्दा होस् वा संघको महासचिव बन्दा म निर्वाचन लडेर नै जितेको हुँ। तर, मैले कुनै पनि पार्टीको प्रतिनिधि बनेर चुनाव जितेको होइन। मेरो उम्मेदवारी पार्टीको प्रतिनिधिको रुपमा थिएन र भविष्यमा पनि रहँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment