Comments Add Comment

श्रीलंकामा ५० देशका नागरिकलाई अन अराइभल भिसा निःशुल्क

१६ साउन, काठमाडौं । श्रीलंका सरकारले विदेशी पर्यटक भित्र्याउन ५० देशका नागरिकलाई एक महिनाका लागि अन अराइभल भिसा दिने घोषणा गरेको छ ।

इस्टर सन्डेको बेला श्रृंखलाबद्ध बम विष्फोटमा २५० भन्दा बढीको मृत्यु भएपछि पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको थियो । सो घटनापछि श्रीलंकाले दिँदै आएको ३९ देशका नागरिकका लागि अन अराइभल भिसा बन्द गरेको थियो । तर, आकर्षक पर्यटकीय गन्तव्य मानिने श्रीलंकाले पुनः ५० देशका नागरिकलाई अन अराइभल भिसा निःशुल्क दिने घोषणा गरेको छ ।

यस्तो सुविधा सन् २०१९ को अगष्ट १ देखि लागू भएको पर्यटनमन्त्री जोन अमरातुंगाले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘जो विदेशी नागरिक पर्यटन या व्यापारको उद्देश्यले श्रीलंका आउन चाहन्छ, उसलाई निःशुल्क अन अराइभल भिसाको सुविधा मिल्ने छ । अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।’

सरकारको यो निर्णयबाट देशमा पर्यटकको संख्या बढ्ने अपेक्षा छ । यदि फाइदाजनक नभएमा यो कार्यक्रम स्थगित गरिने पर्यटनमन्त्री अमरातुंगाले बताएका छन् ।

श्रीलंकाले एक महिनाको पर्यटक भिसाका लागि ३५ डलर लिन्छ । दक्षिण एसियाली देशका नागरिकले भने २० डलर शुल्क तिरे पुग्छ ।

प्रधानमन्त्री रणिल विक्रमसिंघले श्रीलंका अब पर्यटकका लागि सुरक्षित रहेको बताएका छन् । उनले बुधबार भनेका छन् इस्टर सन्डेमा भएको आक्रमणमा संलग्न सबैलाई हिरासतमा लिइएको छ । केहीलाई सोधपुछ गरेर रिहा गरिएको छ ।

श्रीलंकामा भएको श्रृंखलाबद्ध विष्फोटपछि पर्यटकको संख्यामा भारी कमी आएको छ । गत वर्षको जुलाईदेखि हालसम्म पर्यटकको संख्यामा करिब ४५ प्रतिशत गिरावट आएको छ । यद्यपि पर्यटकको संख्या बढ्ने क्रम जारी छ ।

पर्यटनलाई पुनर्जीवित गर्न श्रीलंका सरकारले धेरै योजनाहरु ल्याएको छ । योजनाहरुमा एयरलाइन्स ग्राउन्ड चार्ज, विमानको इन्धनको मूल्य कटौती, ऋण मिनाहा, ऋणको ब्याजदरमा कटौती, होटल व्यवसायीले ६० प्रतिशतसम्म छुटलगायतका आकर्षक प्याकेज सामेल छन् ।

श्रीलंकाको घरेलु उत्पादनमा पर्यटनका लागि ४.९ प्रतिशत हिस्सा छ । लगभग ५ लाख नागरिक पर्यटनमा प्रत्यक्ष निर्भर छन् । सरकारले हाल पर्यटन क्षेत्रबाट ३.७ बिलियन डलर आम्दानी गर्ने भविष्यवाणी गरेको छ । जुन ५ बिलियन डलरको सुरुवाती पूर्वानुमानभन्दा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment