Comments Add Comment

आर्थिक वर्षको पहिलो १५ दिनमा चालुभन्दा पुँजीगत खर्च बढी

१६ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष २०७६/७७ को सुरुका १५ दिनमा चालुभन्दा पुँजीगत खर्च बढी देखिएको छ । नयाँ आर्थिक वर्षको पहिलो महिनामा तलवभत्ता बुझ्ने समय नभएका कारण त्यस्तो देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १५ दिनको अवधिमा ८ करोड ५४ लाख चालु खर्च भएको छ भने पुँजीगत खर्च भने १ अर्ब ८३ करोड १० लाख रुपैयाँ भइसकेको छ । कूल बजेट खर्च १ अर्ब ९१ करोड ६४ लाख भएको छ । राजस्व संकलन भने १९ अर्ब ३४ करोड ४८ लाख भइसकेको छ ।

यसैबीच, आर्थिक वर्ष २०७५/७६ को अन्तिम दुई दिन अगाडि ३० असारदेखि बिग्रिएको महालेखा नियन्त्रक कार्यालयको वेवसाइट बिहीबारदेखि दुरुस्त भएको छ । अब उक्त वेवसाइटमा आम सर्वसाधारणले हरेक दिन भएको बजेट खर्चको प्रारम्भिक तथ्यांक हेर्न सक्छन् ।

साथै राजस्व संकलनको दैनिक विवरण पनि त्यहाँ अपलोड हुने व्यवस्था रहेको छ । यस विवरणमा बजेट विनियोजनको शुरुवातमै राखिएका लक्ष्य र उपलब्धीको तुलना गरिएको हुन्छ ।

लक्ष्यको तुलनामा उपलब्धी कमजोर हुँदा त्यसलाई लुकाउन आर्थिक वर्षको अन्त्यमा अर्थ मन्त्रालयका अधिकारीहरुले महालेखाको यो वेवसाइटमा चलखेल गर्ने गरेको आरोप छ ।

आव २०७५/७६ को तथ्यांकमा पनि अर्थ मन्त्रालयले बट्ठ्याई गरेको छ । बजेट खर्चको विवरणको प्रगति तुलना शुरु विनियोजनमा नभई अर्थ मन्त्रालयले गरेको दोस्रो संशोधनमा आधारित लक्ष्यसँग गरिएको छ । जसले गर्दा बजेट खर्च निकै राम्रो देखिएको छ ।

तर, सरकारले अघिल्लो आवको बजेटमा शुरु विनियोजन अनुसार राजस्व लक्ष्य र खर्च दुबैमा कमजोर प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment