Comments Add Comment

आकस्मिक रुपमा प्रहरी परिचालन कसले गर्ने ? गृहसचिव र आईजीपीको मत बाझियो

Photo Credit : रासस

१६ साउन, काठमाडौं । आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकारको विषयलाई लिएर गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मत बाझिएको छ ।

प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा प्रदेशमा पनि प्रहरी परिचालन गर्नुपरे त्यसको अधिकार प्रहरी महानिरीक्षक वा प्रहरी प्रधान कार्यालयलाई दिनुपर्ने कानुनी व्यवस्था गर्न माग गरेपछि गृहसचिव राईले त्यसमा असहमति जनाएका हुन् ।

आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिन नमिल्ने गृहसचिव राईले तर्क गरे । सचिव राईले नेपाल सरकारको गृह मन्त्रालय वा प्रदेश सरकारले निर्णय गरेपछि मात्रै आकस्मिक रुपमा प्रहरी परिचालन गर्न मात्रै उपयुक्त हुने पनि बताए ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै गृह सचिव राईले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिन नमिल्ने बताए ।

यो पनि पढ्नुहोस नेपाल प्रहरी र सशस्त्रको क्षेत्राधिकार विवाद बल्झियो

यता, प्रहरी महानिरीक्षक खनालले भने प्रहरी महानिरीक्षकले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार नभए प्रदेशहरुमा आइपर्ने आपतकालको समाधान तत्काल नहुने अवस्था आउने तर्क गरेका थिए ।

विधेयकमा त्यस सम्बन्धमा स्पष्ट व्यवस्था नगरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

उनले प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी लिने दायित्व पूरा गर्न पनि आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षलाई नै दिनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment