Comments Add Comment

उपनिर्वाचन मंसिरमा गर्न दलहरूको सुझाव, भोटिङ मेसिन प्रयोग गर्न माग

१६ साउन, काठमाडौं । राजनीतिक दलहरूले विभिन्न कारणले जनप्रतिनिधिविहीन भएका स्थानमा आगामी मंसिरमा उपचुनाव गर्नुपर्ने सुझाव निर्वाचन आयोगलाई दिएका छन् ।

उपनिर्वाचनबारे छलफल गर्न बिहीबार आयोग कार्यालयमा आयोजित सर्वदलीय बैठकका सहभागीहरूले रिक्त रहेका ४७ वटै स्थानमा एकैचोटी उपनिर्वाचन गर्न सुझाव दिएका हुन् ।

बैठकमा सहभागी दलका प्रतिनिधिहरूले उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न माग गरे । थोरै स्थानमा उपनिर्वाचन गर्दा भोटिङ मेसिनको व्यवस्थापन गर्न पनि सहज हुने समाजवादी पार्टीका नेता डा. शिवजी यादवले बताए ।

दलहरूले निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्नुपर्नेमा समेत जोड दिएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

आयोगले प्रतिनिधिसभामा एक, प्रदेश सभामा तीनसहित ४७ स्थानमा गर्नुपर्ने उपनिर्वाचनबारे छलफल गर्न १८ दलका प्रतिनिधिलाई बोलाएको थियो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रल्हाद बुढाथोकी, नेपाली कांग्रेसका रमेश लेखक, समाजवादी पार्टीका डा. यादव, राष्ट्रिय जनता पार्टीका अनिल झा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी लगायतका नेताहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment