Comments Add Comment

प्रधानमन्त्री रोजगार इतिहासकै सफल कार्यक्रम : श्रममन्त्री विष्ट

१६ साउन, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम  इतिहासकै सफल रोजगार कार्यक्रम भएको बताएका छन् ।

उनले एक महिनाकै बीचमा १ लाख ७० हजार भन्दा बढी बेरोजगारले रोजगार पाएको भन्दै छिटपुट रुपमा भएका कमजोरीलाई लिएर आलोचना नगर्न आग्रह गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्टले यस्तो कार्यक्रम घोषणा गर्ने सरकारको अठोटको प्रशंसा हुनुपर्ने बताए ।

‘हामीले यसै वर्ष ५ लाख बेरोजगार युवालाई रोजगारी दिने भनेका छौं,’ मन्त्री बिष्टले भने, ‘हामी त्यो लक्ष्य पुरा गर्ने गरी कार्यक्रम ल्याउँछौं ।’

मन्त्री बिष्टले गाउँ–गाउँमा करिब साढे २ अर्ब खर्चिँदा ८ हजार साना आयोजना सञ्चालन भएको उल्लेख गरे । रोजगार कार्यक्रमको आलोचना गनुर्नपूर्व तथ्य र तथ्यांक हेर्नसमेत उनले चुनौती दिए । पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि थप १३ अर्ब ऋण लिन लागिएकोबारे पूर्वअर्थसचिवहरुले गरेको टिप्पणीको पनि उनले खण्डन गरे ।

विशेषगरी प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटीमाथि प्रश्न उठाउँदै आएका पूर्वअर्थसचिव रामेश्वर खनाल र ऋण लिन नहुने बताएका शान्तराज सुवेदीप्रति लक्षित गर्दै विष्टले उनीहरुले विगतमा सचिव हुँदा हस्ताक्षर गरेका कार्यक्रमहरु सम्झाइदिने चेतावनी दिए ।

‘नेपालमा विकास, निर्माण, शिक्षा स्वास्थ्य, सेवा क्षेत्रमा विदेशी सहयोग आएका छन्,’ उनले भने, ‘तर, मानव जीवनको गुणस्तर सुधारका लागि रोजगारीमा प्रवद्र्धन गर्न ऋण लिने÷नलिने कुरा हामीलाई सम्झाईरहनु पर्दैन ।’

उनले पूर्वअर्थसचिवहरु विगतमा लामो समय यस्तै काम गरेकाले विस्मृतिमा अल्मलिएको हुनसक्ने बताए । युवा पुस्तालाई रोजगारी दिन चलाइएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यो वर्ष प्राप्त प्रतिक्रियाका आधारमा अर्को वर्ष कामबाटै जवाफ दिइने उनले उल्लेख गरे । रोजगार कार्यक्रमबारे सञ्चारमाध्यमले भ्रम छर्ने गरी एउटै तस्वीर सम्प्रेषण गरेकोसमेत मन्त्री विष्टले आरोप लगाए ।

मन्त्रालयले एक महिने प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा कार्यक्रमका प्रवक्ता लोकनाथ भुसालले ५९९ वटा स्थानीय तहको तथ्यांक प्राप्त भइसक्दा ६ हजार ८६४ सामुदायिक आयोजनामा २२ लाख ६२ हजार २६९ दिनको राजेगारी सिर्जना गरिएको बताए ।

‘औसत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक जना व्यक्तिले औसतमा १३ दिनको रोजगारी पाएको देखिन्छ’ उनले भने ।

सरकारले गत जेठमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ स्थानीय तहलाई पठाएको थियो ।

पत्रकार सम्मेलनमा प्रवक्ता भुसालले सडक मर्मत, गोरेटो बाटो निर्माण, पैनीको मर्म, वृक्षारोपण, समादायिक भवनको मर्मत, सरसफाइ, चौतारो निर्माण लगायतका काममा यो रकम खर्च भएको बताए । उनले यसमार्फत सिर्जना भएको रोजगारीले विपन्न वर्गलाई लाभ मिलेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment