Comments Add Comment

गृह सचिवको प्रस्ताव : कर्मचारीमा ‘छड्के प्रवेश’ले विकृति ल्यायो, खारेज गरौं

१७ साउन, काठमाडौं । गृहसचिव प्रेमकुमार राईले सरकारी कर्मचारी प्रशासनको माथिल्लो तहमा ‘छड्के प्रवेश’ (‘ल्याटरल इन्ट्री) ले विकृति ल्याएको भन्दै खारेजीको प्रस्ताव गरेका छन् । निश्चित कोटामा उपसचिव र सहसचिवमा सिधै प्रवेश गर्ने प्रक्रियालाई ल्याटरल इन्ट्री अर्थात छड्के प्रवेश भन्ने प्रचलन छ ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा उनले छड्को प्रवेशले सरकारी स्रोतको दुरुपयोगसमेत भइरहेको बताए ।

खुला प्रतिस्पर्धाबाट आउने प्रहरी कर्मचारी र सेवामै रहेका तर आन्तरिक प्रतियोगिताबाट प्रतिस्पर्धा गरेर आउने कर्मचारीका बीचमा सेवा सुविधा फरक–फरक हुन नहुने भन्ने सत्तारुढ दल नेकपाका सांसद सांसद झपट रावलको प्रस्ताव थियो । यसको जवाफ दिँदै गृहसचिव राईले ल्याटरल इन्ट्रीका विषय उठाएका हुन् ।

सेवा गर्ने सुरुका स्टेजका जति वटा विन्दु छन् त्यो सम्म मात्रै सेवामा प्रवेश दिनुपर्ने र सुरुका विन्दुभन्दा माथि आन्तरिक बढुवा र फाइल बढुवामा मात्रै जानु उपयुक्त हुने गृहसचिव राईको भनाइ छ ।

‘म ल्याटरल इन्ट्री त दिनै हुँदैन भन्ने पक्षमा हो । किनभने एउटा–एउटा स्टेप हुन्छ । एउटा जवानमा होला । एउटा असईमा होला । एउटा इन्सपेक्टरमा होला । निजामती तर्फ हो भने खरदार, सुब्बादेखि लिएर सेक्सन अफिसर र माथि सहसचिवसम्म थियो । हामीले ल्याटरल इन्ट्रीबाट सहसचिव उपसचिव आउन सक्ने पनि राख्यौं । यसमा मेरो सधैं विमति रहेको हो’, गृहसचिव राईले भने ।

यस्तो व्यवस्थाले विकृति ल्याएको उनले बताए । ‘सधैं सरकारको बजेट खर्च गरेर सरकारी साधन स्रोतकै दुरुपयोग गरेर, अथवा जो काम छलेर पढ्छ । कोचिङमा जान्छन् तिनीहरुले मात्रै पास गरे । त्यसकारण ल्याटरल इन्ट्री नै खारेज हुनुपर्छ भन्ने मेरो धारणा हो’ उनले भने ।

गृहसचिव राईले आफू छड्को प्रवेशको प्रावधान हटाउन निरन्तर लागिरहेको भए पनि माथिल्लो तहमा त्यही छड्केबाट आएका कर्मचारी रहेका कारण सफल हुन नसकेको समेत बताए । ‘म निरन्तर लागेको छु । तर, माथिल्लो लेभरमा ल्याटरल इन्ट्रीका मान्छे भएकाले यो व्यवस्था हटाउन सकेको छैन्’ उनले भने ।

यो व्यवस्थाले कर्मचारी काममा भन्दा कोचिङ पढ्न र पढाउनमा व्यस्त हुने गरेको गृहसचिव राई बताउँछन् । ‘यहाँ खरदार भएको मान्छे सुब्बाको लागि पढ्छ । सुब्बा भएको मान्छे काम गर्नु छैन सेक्सन अफिसरको लागि पढ्छ । सेक्सन अफिसर काम गर्नु छैन उपसचिवका लागि पढ्छ । त्यसकारण सुरु स्टेजका कति वटा प्वाइन्ट छन् त्योसम्म मात्रै दिनुपर्छ । त्यो भन्दा अरुमा आन्तरिक बढुवा र फाइल बढुवामा मात्रै जानुपर्छ’ गृहसचिव राईले दोहोर्‍याए ।

ल्याटरल इन्ट्रीका कारण सरकारी स्रोतको समेत दुरुपयोग भइरहेको उनको टिप्पणी छ ।

उनले भने ‘ल्याटरल इन्ट्री राख्दा के–के मा खर्च गर्दो रहेछ भनेर हेर्दा, अफिसकै फोटोकपी प्रयोग गर्छ । किताबहरु प्रिन्ट गर्छ । कोचिङ क्लासमा जान्छ । त्यहाँ तालिमको भन्ने हुन्छ नि त्यसकै खर्च गर्छ । कम्युटर, ल्यापटप, इन्टरनेट, फोटोकपी त्यहीँको प्रयोग गर्छ । काम त गर्दै गर्दैन ।’

विधेयकमा खुला प्रतिस्पर्धाबाट आउने प्रहरी कर्मचारी र आन्तरिक प्रतिस्पर्धाबाट आउने कर्मचारीका बीचमा सेवा सुविधाबारे के हुने ? भन्ने प्रष्ट उल्लेख गरिएको छैन । यसबारे विधेयक बोल्नुपर्ने सांसद रावलको प्रस्ताव थियो ।

जवाफमा गृहसचिव राईले भने, ‘असईलाई इन्स्पेक्टर पास गर्न नोकरी टुटाएर आउ भन्न हुँदैन । त्यो मिल्दैन ।’

खुलामा आउनेले खुलाकै व्यवस्था स्वीकार गरेर आउने र काम गर्दै गरेकाहरुले सेवा सुरु गर्दा नै एक खालको प्रावधान स्वीकार गरेको हुनाले सोही अनुसार हुनु स्वभाविक भएको उनले बताए ।

साथै, गृहसचिव राईले नेपाल प्रहरीसम्बन्धी अर्को विधेयक पनि संसदमा आउँदै गरेको जानकारी दिए ।

के हो ल्याटरल इन्ट्री ?

ल्याटरल इन्ट्रीलाईलाई ‘छड्के प्रवेश’ पनि भनिन्छ ।

निजामती सेवाको माथिल्लो पोष्टमा बाहिरका योग्यतम व्यक्तिहरुलाई एकैपटक ल्याउनका लागि केही प्रतिशत सिटहरु राखिएको हुन्छ । जसमा खुलाका लागि र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि निश्चित प्रतिशत सिट राखिएको हुन्छ ।
जसमध्ये केही पदमा ल्याटरल इन्ट्रीबाट पनि कर्मचारी लिइन्छ । खुला प्रतिस्पर्धाका लागि योग्यता तोकिएको हुन्छ भने, ल्याटरल इन्ट्रीका लागि कुनै पनि संस्थामा निश्चित वर्ष काम गरेको भनी अनुभव मागिएको हुन्छ ।

सामान्य प्रशासन मन्त्रालयका पूर्व प्रवक्तासमेत रहेका नम्बर १ का प्रमुख सचिव सुरेश अधिकारीका अनुसार शाखा अधिकृतमा छड्के प्रवेश हुँदैन । यसमा खुला प्रतिस्पर्धा हून्छ । योग्यता पुगेका जो सुकैले पनि खुलामा प्रतिस्पर्धा गर्न पाउँछ । तर, सहसचिव र उपसचिवमा भने ल्याटरल इन्ट्री हुन्छ । ल्याटरल इन्ट्रीमा कुनै संस्थामा निश्चित अवधी काम गरेको व्यक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउने भन्ने प्रावधान हुन्छ ।

उदाहरणको लागि सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला ल्याटरल इन्ट्रीबाट आएका हुन् । कोइराला गुठी संस्थानको अधिकृत थिए । ल्याटरल इन्ट्रीबाट कोइराला एकै पटक गुठी संस्थानको अधिकृतबाट उपसचिव भएका थिए ।
तर, ल्याटरल इन्ट्रीलाई खुला भनेर बुझ्ने गरिएको सामान्य प्रशासन मन्त्रालयका सह–सचिव एवं प्रशासन महाशाखा प्रमुख रुद्रसिंह तामाङले बताउँछन् ।

‘आन्तरिक प्रतियोगितामार्फत उपसचिवबाट सहसचिव हुने, शाखा अधिकृतबाट उपसचिव हुन सक्छन् । खुलामा उपसचिवबाट पनि सहसचिव हुने वा शाखा अधिकृतबाट पनि सहसचिव हुने अवस्था रहन्छ’ उनले भने । हाल खुलाबाट उपसचिव हुन पाँच बर्ष काम गरेको हुनुपर्ने र सहसचिव हुन सात बर्ष काम गरेको हुनुपर्ने प्रावधान छ भने, खुलाका लागि सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment