Comments Add Comment

एसिया कपको तयारी गर्न भारत जाने प्रस्ताव अस्वीकृत

१७ साउन, काठमाडौं । अबको एक महिनापछि नेपालको यू–१९ टिमले एसिया कप खेल्दैछ । तर न नेपालमा अभ्यासको वातावरण पाएको छ, न विदेश टुर नै स्वीकृत भएको छ ।

यू–१९ प्रशिक्षक विनोद दासका अनुसार एसियन क्रिकेट काउन्सिल (एसीसी) सामू भारत भ्रमणको प्रस्ताव राखिएको थियो । तर स्वीकृत भएन । ‘बरु हप्ता दिन पहिले श्रीलंका जानुस् भन्ने कुरा आएको छ’ प्रशिक्षक दासले भनेका छन् ।

अब नेपाली टोलीले काठमाडौंमा नै अभ्यास गर्नुपर्छ । तर त्रिवि क्रिकेट मैदानको अवस्था दयनीय छ । क्रिकेट मैदानमा घाँस लामो पलाएको छ ।

यसबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई समेत जानकारी गराइएको छ । शुक्रबारबाट मैदानको घास काट्न थालिएको छ ।

प्रशिक्षक दासका अनुसार आगामी मंगलबारबाट बन्द प्रशिक्षण सुरु गर्ने योजना छ । एसिया कप छनोट खेलेर आएपछि नेपाली किशोरहरुले अर्को कुनै प्रतियोगिता खेलेको छैन । त्यसैले एसीसीले दिएको मापदण्डमा रहेर पछिल्लो समय खेलिरहेका यू–१९ क्रिकेटरहरुलाई बन्द प्रशिक्षणमा बोलाइने प्रशिक्षक दासले बताए ।

एसिया कप अर्को महिना श्रीलंकामा हुनेछ । ५ अगष्टबाट सुुरु हुने प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगालादेश, अफगानिस्तान, यूएई र कुवेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment