Comments Add Comment

दशैं रिलिजको ‘कबड्डी’, फिल्म मेकरमा खै त एकता ?

दशैं रिलिजका लागि तयार भएको चलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मिति भदौ २७ लाई तोकिएपछि चलचित्र क्षेत्रमा तरंग फैलिएको छ । दिपकराज गिरी र उनको टिमले किन दशैं रिलिज छाड्यो ? के एउटा हिन्दी चलचित्रले नेपाली चलचित्र मेकरको होश उडाइदिएको हो भन्ने खालका प्रश्न उब्जन थालेको छ । कतै, दशैंको बिदा हिन्दी चलचित्र ‘वार’को कब्जामा जाने त होइन भन्ने खालको प्रश्न पनि उब्जन सक्छ ।

किन फेरियो रिलिज मिति ?
‘छ माया छपक्कै’ असोज १० वा १७ मा आउने चर्चा चलिरहँदा दिपकराज गिरीले किन एकाएक भदौ २७ मा रिलिज मिति किन तोके ? यसको मुख्यकारण भदौ १३ बाट पछि सरेको ‘कबड्डी कबड्डी कबड्डी’ हो । भदौ १३ बाट प्रतिक्षित मानिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ मा पुगेपछि माहोल एकाएक गर्मायो ।

किनकी, यो मितिमा दिपकराज गिरी आफ्नो चलचित्र ‘छ माया छपक्कै’ ल्याउन चाहन्थे । तर, माहोल अर्कै भैदिएपछि उनले आफूलाई घेर्न लागेको महशुश गरे । जसकारण, ‘छ माया छपक्कै’लाई ‘कबड्डी ३’ भन्दा एक साता ल्याउने निर्णय गरियो । किनकी, असोज ३ देखि असोज १४ सम्म हेर्दा ५ वटा चलचित्र रिलिज हुने पक्का थियो । जसमा, ‘कबड्डी कबड्डी कबड्डी’ लभ डायरिज, रातो टिका निधारमा, वार र छ माया छपक्कै थिए ।

तर, ‘कबड्डी ३’ असोज ३ मा आउँदा १० वा १७ जुन मितिमा आएपनि शोज कम पाउने आँकलन दिपक र उनको टिमको छ । यसैले पनि अहिले भदौ २७ मा रिलिज डेट तोकिएको हो ।

‘रातो टिका निधारमा’ जुध्ने मनस्थितीमा
निर्माता तथा निर्देशक अशोक शर्माले पनि ‘रातो टिका निधारमा’को प्रदर्शन दिन तोक्न सकेका छैनन् । दशैं रिलिज भनिएतापनि उनी जुन दिन ‘छ माया छपक्कै’ रिलिज हुन्छ, सोही मितिमा आफ्नो चलचित्र रिलिज गर्ने तयारीमा छन् । यस्तो अवस्थामा अशोकको चलचित्र असोज १० वा १७ मा आउने निश्चित छ । तर, भदौ २७ मा ‘छ माया छपक्कै’ सरेपछि अशोकले संभवत चलचित्र असोज १० मा रिलिज गर्न सक्छन् ।

भदौ २७ पक्का कि दबाब मात्र ?
चलचित्र ‘छ माया छपक्कै’को रिलिज मिति भदौ २७ मा सरेपनि यसमा कोही पनि विश्वस्त भने छैनन् । किनकी, चलचित्रका निर्माता रोहित अधिकारीको फेरिदो स्टाटस र भित्री खेल हेर्दा यो दबाब दिन र बार्गेनिङका लागि मात्र हो भनेर वुझ्न धेरै सोच्न नै पर्दैन ।

दिपकराज गिरी र उनको टिमले चलचित्र असोज १० वा असोज १७ मै रिलिज गर्ने चलचित्रकर्मी नै बताउँछन् । यसको टिम पनि भित्री रुपमा वार्ता, राजनीति र दबाबलाई अगाडि बढाइरहेको छ ।

‘वार’को डर ?
दशैमा रिलिज हुन लागेका नेपाली चलचित्रका मेकर व्यापारिक रुपमा पनि सफल छन् । दशैकले पत्याएका यी ब्यानर कतै हिन्दी चलचित्र ‘वार’सँग डराएका हुन् कि भन्ने पनि दर्शकलाई परेको छ । असोज १७ लाई कुनै पनि निर्माताले रिलिज मिति तोक्न नसक्नु नै हिन्दीको डर हो भन्ने विश्लेषण गरिएको छ ।

टाइगर श्राफ र ऋतिक रोशनको मुख्य भूमिका रहेको यो एक्सन चलचित्रलाई यशराज ब्यानरले निर्माण गरेको हो । यसपटकको दशैकको रिलिजमा नेपाली चलचित्रमा देखिएको अन्यौलताको एउटा कारण ‘वार’ पनि हो । यो चलचित्रसँग रिलिज हुँदा शोज कम पाउने, दर्शक बाँडिने र व्यापारिक रुपमा घाटा हुने सोच निर्माताहरुको छ । यसैले पनि अरु बेलामा जती नै ठूलो बहस भए पनि, ठूला हिन्दी चलचित्रसँग नेपाली चलचित्रका ठूला मेकर नै तर्सिएको अवस्था छ ।

कस्तो सन्देश जाला ?
नेपाली चलचित्रका निर्माताले भन्दै आएको एउटा कुरा के हो भने, विदेशी चलचित्रले गर्दा हामी पछि परेका छौ । तर, नेपाली चलचित्र क्षेत्र भित्र ठूला ब्यानरको राजनीति हेर्दा विदेशी चलचित्र मुख्य शत्रु नै होइनन् । नेपाली चलचित्र मेकरका मुख्य शत्रु नै नेपाली चलचित्र मेकर नै हुन् । यसैले, पनि विदेशी चलचित्रलाई दोष दिएर आफू चोखिनुको अर्थ छैन ।

दशैं रिलिजका चलचित्रको खेल र राजनीति हेर्दा पनि के भन्न सकिन्छ भने यसले नेपाली मेकरहरुमा एकता छैन भन्ने सन्देश दर्शकमाझ गएको छ । एकले अर्कोलाई सक्ने, आफू भन्दा अरुलाई सक्दा मस्त निदाउन सोचले नै नेपाली चलचित्रका मेकर पछि परेका छन् ।

राम्रो मितिमा चलचित्र रिलिज गर्दा कमाई पनि राम्रै हुन्छ भन्नु स्वभाविक हो । तर, आफै आफै जुधेर, अरुलाई सक्ने खेल खेल्दा फाइदा सिंगो चलचित्र क्षेत्रलाई छैन । नेपाली चलचित्रकर्मीको ‘कबड्डी’ले दर्शकमाझ पक्कै पनि गतिलो सन्देश प्रवाह गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment