Comments Add Comment

अन्तरविद्यालय फुटबलको उपाधि स्कलर्स होम र स्मृतिलाई

१९ साउन, बुटवल । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा बुटवलमा सञ्चालित क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि स्कलर्स होमले जितेको छ ।

रुपन्देहीका सरकारी र नीजि ४३ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको आइतबार सम्पन्न फाइनलमा स्मृति बोर्डिङ स्कूल तिलोत्तमालाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउंदै स्कलर्सले उपाधि जितेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको हो ।

स्कलर्सका तर्फबाट जीवन राई, विज्ञान गुरुङ, रिजन गुरुङ र जुलेश थापाले गोल गरेका थिए । स्मृतिका अजय पाठक र अंकित सिजापतिले मात्र गोल गर्न सके ।

छात्राको उपाधि स्मृतिलाई

सात विद्यालयको सहभागिता रहेको छात्रा फुटबलको उपाधि भने स्मृति बोर्डिङले जितेको छ । आइतबार नै भएको फाइनल खेलमा शान्ति नमूना मावि मणिग्रामलाई ४–० ले पछि पार्दै स्मृतिले उपाधि चुमेको हो ।

स्मृतिको जितमा मायासरी गाहाले १० मिनेट, अञ्जु दर्लामीले १२ तथा रितु तामाङले २४ र ६३ औं मिनेटमा गोल गरेकी थिइन् । छात्रतर्फको विजेता टिमले ३० हजार उपविजेताले १५ हजार तथा छात्रातर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार हात पारेका छन् ।

विजयी टिमलाई प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसी, प्रतियोगिता संयोजक जिल्ला फुटबल संघका उपाध्यक्ष हरि क्षेत्रीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । जिल्ला विजेता छात्र र छात्रा टिमले प्रदेशस्तरीय प्रतियोगिता खेल्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment