Comments Add Comment

१० फलफूल र तरकारीमा विषादीको सीमा निर्धारण

२० साउन, काठमाडौं । नेपालमा उत्पादन हुने फलफूल तथा तरकारीमा पहिलोपटक जिवनाशक विषादीको अधिकतम सीमा निर्धारण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार विभिन्न दश प्रकारका फलफूल तथा तरकारीमा एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट० तोकिएको हो ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार फलफूलमा स्याउ र केरा तरकारीमा करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम प्रयोग सीमा निर्धारण गरिएको छ ।

दैनिक प्रयोगमा आउने तथा आयात हुने ताजा तरकारी तथा फलफूलमा विषादी अवशेषको अधिकतम सीमा नेपालमा पहिलो पटक निर्धारण गरिएको हो । एमआरएल निर्धारणपछि ती १० प्रकारका तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको १ देखि ७३ प्रकारका विषादीको कति मात्रा मानव शरीरका लागि प्रयोग गर्दा हानिकारक हुन्न भन्ने यकीन हुने प्रवक्ता महर्जनले बताए ।

राजपत्रमा सूचना प्रकाशनका लागि पठाइकिएको विवरणअनुसार स्याउमा २७ प्रकारका विषादी अवशेषको अधिकतम प्रयोग सीमा तोकिएको छ । यस्तै केरामा ४२, करेलामा १, भण्टामा २१, बन्दामा ३६, काउलीमा १३, भिण्डीमा ३, आलुमा ७१, टमाटरमा ७३ तथा चियामा १९ प्रकारका विषादीको अधिकतम प्रयोग सीमा तोकिएको छ ।

विभागका अनुसार यसअघि पिउने पानी, पाउडर दुध र गेडागुडी जस्ता खाद्य वस्तुमा मात्रै एमआरएल तोकिएको थियो । विभागले थप १० प्रकारका फलफूल तथा तरकारीमा एमआरएल निर्धारणका लागि ड्राफ्ट तयार गरेको पनि जनाएको छ ।

मन्त्रालय माताहतको खाद्यस्तर निर्धारण समितिको सिफरिसपछि मात्रै उक्त वस्तुहरुको एमआरएल निर्धारणको प्रक्रिया अघि बढ्ने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले बताए ।

नेपाल सदस्य राष्ट्र भएका कारण एमआरएल निर्धारणबारे विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ० लाई जानकारी गराइएको र ६० दिनको अवधिमा सदस्य मुलुकबाट कुनै टिप्पणी नउठेपछि एमआरएल लागू गर्ने बाटो खुलेको हो । राजपत्रमा सूचना प्रकाशनपछि सेप्टेम्बर १ अर्थात भाद्र १५ गतेबाट एमआरएल कार्यान्वयनमा आउने विभागले जनाएको छ । गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताप्राप्त कोडेक्स मापदण्डभित्रै रहेर एमआरएल निर्धारण गरिएको विभागले जनाएको छ ।

तरकारी तथा फलफूलमा विषादी अवशेषको अधिकतम मात्रा कति रहने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment