Comments Add Comment

कक्षा ४ मा पाक्छ दैनिक ६० किलो चामल

पहिरो पीडितको प्रश्न : स्कूल खुलेपछि हामी कहाँ जाने ?

२१ साउन, बुटवल । ‘किलामा बाँधेका गाईवस्तुसहित गोठ नै पहिरोले लग्योे, हामी भने जेनतेन बाँच्यौं, त्यसपछि यही स्कुलमा बसेका छौं’, यसो भनिरहँदा गुल्मी सत्यवती गाउँपालिका– ३ कुरहकी खगी सिञ्जाली भावुक भइन् ।

अविरल वर्षासँगै ७ साउनमा गएको पहिरोले सत्यवती गाउँपालिकामा १३ जनाले ज्यान गयो । पहिरोले विस्थापित भएकाहरु स्थानीय धर्मपुर माविमा बसिरहेका छन् ।

केटाकेटी, तन्नेरीदेखि बुढाबुढीसम्म २०६ जनाको भान्सामा स्कुलको कक्षा ४ मा तयार हुन्छ । बडेमानको डेक्चीमा एकै छाकमा ३० देखि ४० किलोसम्म चामल पकाइन्छ । राहतबाट संकलन गरिएका आलु, दाल र तरकारी पकाइन्छ ।

सबै कोठामा सुत्ने व्यवस्था मिलाइएको छ । ‘डेस्क बेन्च, स्कुलको प्रांगणमा सारिएको छ, चिसोबाट बचाउन बृद्धबृद्धलाई डेस्क बेन्चमाथि म्याट राखेर बिस्तारा बनाइएको छ’, सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

‘स्कुल खुलेपछि हामी कता जाने ?’ सिञ्जालीको चिन्ता छ । वर्षेबिदामा बन्द भएको स्कुल साउन २६ गते खुल्छ ।

एउटै घरमा ६२ जनाको बास

वडा नम्बर ३ को घारडाँडामा रहेको लालन रानाको घरमा ६२ जना बसिरहेका छन् । अरु भन्दा यो घर केही सुरक्षित भएकाले उनीहरु यहीँ बसेका हुन् । ‘गोठ र करौसामा पहिरो खसेको छ,’ स्थानीय ३३ बर्षीय सुमन रानाले भने ।

विस्थापितहरुको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बनेको गाउँपालिका अध्यक्ष ढकालले जानकारी दिए ।

गाउँमा १६ ठाउँमा अस्थायी शिविर राखिएको छ । स्थानीय धर्मापुर मावि, नव बिहानी प्रावि, राम मावि, धर्मपुर प्रावि, गज्कोट, किल्दिप, मनकामना प्रावि, साजपुर प्रावि, ओखर, ढुंगाचाल्ने, कसिन्थला, डाँडा, कसिन्थला मोतीप्रसाद, दानसिंगा, गगनपुर, विन्टुंग, काउलेमा शिविर छन् । सबैको पीडा उस्तै छ ।

१ करोड नगद, ५ सय क्विटल खाद्यान्न राहत

पहिरो प्रभावितका लागि सरकारी स्तरबाट गाउँँपालिका, वडा र जिल्लामा गरी ३ वटा खाता खोलिएको छ, जसमा सहयोगी हातहरुबाट अहिलेसम्म करोड रकम जुटेको छ ।

गाउँपालिकाको खातामा ३० लाख र वडा नं ३ को खातामा ३० लाख र वडा नं ४ मा ४० लाख रकम जम्मा भएको गाउँपालिका अध्यक्ष ढकालले बताए । खाद्यान्न संकलन भइरहेको वडा नं. ३ का वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए ।

साउन ७ गते बिहान पहिरो जाँदा वडा नं ३ ठूलोलुम्पेकमा ५ जना र वडा नं ४ मा ८ जनाको ज्यान गएको हो । पहिरोले ठूलो लुम्पेक र लिम्घामा क्षति पुर्‍याउँदा ३ सय ७ घरका १२ सय ६० जना मानिस प्रभावित भएका छन् ।

भूगर्भविद् ४ दिनदेखि घटनास्थलमा

पहिरो प्रभावितहरुले तत्काल सुरक्षित बासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । पहिरो प्रभावित सत्यवती ३ का ६७ बर्षीय नेत्रलाल राहदीले आफूहरुलाई सुरक्षित स्थानमा राखेर जनताको जीउधनको सुरक्षा गर्नुपर्ने बताउछन् ।

नेत्रलालले भने, ‘२०१८ सालयता पहिरो जाँदा ३ जनाको मृत्यु भएको थियो । तर, यति डरलाग्दो र बढी क्षति भएको पहिरो कयो मेरो जीवनमा पहिलो पटक हो ।’

गाउँपालिकाको विभिन्न स्थानमा झरेको पहिरोबारे भूगर्भविद्को टोलीले अध्ययन गरिरहेको छ । तीन दिनसम्म लुम्पेकमा अध्ययन गरेको टोली मंगलबार मात्र लिम्घामा पुगेको टोलीमा सहभागि भूगर्भविद राजेन्द्र आचार्यले बताए ।

‘एउटै प्रकृतिको चट्टान, पहाडको झुकाव, पहाड जता छ त्यतै ढुंगा भएकाले ठूलोलुम्पेकमा पहिरोको जोखिम बढी भएको हो । लिम्घामा पहिरो खसेको भाग बाहेक अन्यत्र सुरक्षित नै छ’, टोलीका राजेन्द्र आचार्यले अनलाइनखबरसँग भने । यस्तै जथाभावी सडक खन्दा सिंदीमा क्षति भएको उनको भनाइ छ ।

अध्ययन टोलीले तीन दिनपछि प्रतिवेदन दिने गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment