Comments Add Comment

कार्टुनले बालिबालिकाको स्मरण क्षमता बढाउँछ ?

जब बालबच्चा टेलिभिजनमा झ्याम्मिन थाल्छन् तपाईं गाली गर्नुहुन्छ, ‘किन यसरी टिभीमा लिप्त भएको ? लेखपढ गर ।’ बालबालिका भने टेलिभिजन छाड्न चाहँदैनन् । अझ टेलिभिजनमा कार्टुन हेर्न पाए उनीहरु संसार भुल्छन् । बालबालिकालाई किन कार्टुन मन पर्छ होला ?

किनभने कार्टुन खासमा बालबालिकाको मनोविज्ञानलाई बुझेर सोही अनुसार प्रस्तुत गरिहएको हुन्छ । उनीहरुले त्यहाँ नितान्त भिन्न चरित्र, पात्र, कथा, दृश्य हेर्न पाउँछन् । पशुपंक्षी पनि मान्छे जस्तै बोलेको, आफुले देखेको भन्दा भिन्न दृश्य आदिले बालबालिकालाई कार्टुनप्रति मोहनी लगाउँछ । विचित्रका पात्र, ठट्यौली हाउभाउ, सरल संवाद, रोमाञ्चक कथा, आकर्षक पृष्टभूमीले पनि उनीहरुलाई लोभ्याउँछ । जब उनीहरु कार्टुन हेर्न थाल्छन्, उनीहरु  त्यही परिवेशभित्र रमाउन थाल्छन् ।

अहिलेका बालबालिका यस्तै कार्टुनमा लोभिएका छन् । बालबालिकालाई लक्षित गरेर कार्टुनहरु निर्माण गरिन्छ । ति कार्टुनले उनीहरुलाई ख्याल-ख्यालैमा धेरै कुरा सिकाइरहेको पनि हुन्छ । खासगरी इमान्दारिता, मर्यादा, अनुशासनको कुरा कार्टुनले सिकाइरहेको हुन्छ ।

कसरी असाहयलाई सहयोग गर्ने, कसरी अग्रजलाई श्रद्धा गर्ने, कसरी नराम्रो काम गर्दा त्यसको सजाय भोग्नुपर्छ, कसरी राम्रो काममा सफलता हासिल हुन्छ यावत् विषयमै कार्टुनहरु निर्माण भएका हुन्छन् । यद्यपि कार्टुनले प्रत्यक्ष रुपमा उपदेश दिए जसरी नभई अप्रत्यक्ष रुपमा मनोरञ्नात्मक शैलीमा बालबालिकालाई अनेक पाठ सिकाइरहेको हुन्छन् ।

तर, कार्टुन हेर्न थालेपछि बालबालिकाले होमवर्क भुल्छन्, पढाई भुल्छन्, खानेकुरा भुल्छन्, दिसा-पिसाब आएको ख्याल हुँदैन । उनीहरु त्यसमै लिप्त हुन्छन् । यसरी कार्टुनमा लिप्त हुँदा केही बेफाइदा पनि छन् ।

एक त उनीहरुको शारीरिक सक्रियता घट्छ । एकै स्थानमा लामो समय बस्छन् । यसले गर्दा खेल्ने, उफ्रने, दौडने काम बन्द हुन्छ । उनीहरु निस्त्रिय हुन्छन् । टेलिभिजन हेर्दै खानेकुरा खानु अरु बेफाइदा छ । यसरी खाइरहँदा के खाँदैछु, कति खाँदैछु भन्ने उनीहरुलाई थाहा हुन्न । यसले गर्दा उनीहरु अनावश्यक र अनियन्त्रित खाना पुग्छन्, जसले मोटोपन लगायतको समस्या बढ्छ ।

अर्कोतिर टेलिभिजन हेरिरहँदा त्यसको प्रत्यक्ष असर आँखामा पर्छ । निरन्तर टेलिभिजन हेर्ने बालबालिकाको आँखा कमजोर हुनसक्छ ।

टेलिभिजनमा कार्टुन हेर्न थालेपछि बालबालिकाले आफ्नो कामको मेलोमेसो पाउँदैनन् । पढ्ने, लेख्ने काम भुल्छन् । खाना खाने समयको मेसो पाउँदैनन् । टेलिभिजनमै एकोहोरिन्छ ।

यावत् कारणले गर्दा बालबालिकालाई टेलिभिजन अझ कार्टुनबाट अलग राखिन्छ । कार्टुनबाट उनीहरुको ध्यान भंग गरेपछि पढाई लगायतका काममा रुची राख्छ भन्ने अभिभावकको बुझाई हुन्छ ।

स्मरण क्षमतामा बृद्धि

कार्टुन हेर्दा त्यसबाट कतिपय बेफाइदा होलान् । यद्यपि फाइदा पनि रहेछ । पछिल्लो एक अध्ययनले कार्टुन हेर्दा बालबालिकाको स्मरण क्षमता बढ्ने देखाएको छ । यूपीवी/ईएचयु डिपार्टमेन्ट अफ एभोलुशरनी साइकोलोजी उन्ड एजुकेशनद्वारा गरिएको एक अध्ययन अनुसार बालबालिकाको बौद्धिक विकासका लागि कार्टुन सहयोगी हुन्छ । कार्टुनले उनीहरुलाई धेरै कुराको जानकारी दिलाउँछ । यसैगरी जिन्दगीप्रति हेर्ने दृष्टिकोण र जीवनको मूल्यबारे पनि उनीहरुलाई सम्झाउँछ ।

विद्यालयमा अध्ययनरत बालबालिकामा कार्टुनको प्रभावबारे यो अध्ययन केन्दि्रत थियो । अध्ययनको नतिजामा पाइयो कि कार्टुनले बच्चामा सिक्ने, सम्झने, सोच्ने र स्मरण गर्ने क्षमतामा प्रभाव पारेको पाइयो । खासगरी कथात्मक कार्टुनबाट उनीहरुमा राम्रो प्रभाव पर्ने देखिएको हो ।

समय निश्चित गरौं

बालबालिकालाई कार्टुन वा उनीहरुकै लागि तयार गरिएका श्रव्यदृश्य सामाग्रीबाट बञ्चित गराउने उपाय ठिक होइन । किनभने यस्ता सामाग्रीबाट उनीहरुले धेरै नयाँ कुरा जान्ने, सिक्ने, बुझ्ने मौका पाउँछन् । कार्टुनकै माध्यामबाट बच्चाले जीवनोपयोगी शिक्षा पनि लिन सक्छन् । त्यसैले उनीहरुलाई यी सामाग्रीहरु हेर्नेबाट बञ्चित गराउने होइन, बरु समय निश्चित गरिदिनुपर्छ । निश्चित समयमा उनीहरुले कार्टुन हेरेर रमाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment