Comments Add Comment

निजी काममा प्रयोग भएका ६ स्कुल बस कारबाहीमा

२२ साउन, पोखरा । उद्देश्यविपरीत गाडी प्रयोग गर्ने पोखराका विभिन्न विद्यालय बसलाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

भाडा प्रयोजनका लागि यातायात व्यवस्था कार्यालयमा दर्ता भएर पनि निजी प्रयोगमा लगाइएका ६ स्कुलका बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

कारबाहीमा पर्ने स्कुलमा कान्तिपुर एकेडेमी, होली एन्जल सेकेन्डरी स्कुल, एलए मावि, मेट्रोपेलिटन एकेडेमी, जुनियर सिटिजन्स एकेडेमी, बेसलाइन एकेडेमी छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सार्वजनिक सवारी (कालो नम्बर) प्लेटमा दर्ता भएर पनि स्कुलले विद्यार्थी बोक्न प्रयोग गरेकाले कारबाही गरेको जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख मुरारी मिश्रले नियमविपरीत गुडेका स्कुल बसलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा सिफारिस पठाइएको जानकारी दिए । उनले भने, ‘कतिपय बस सार्वजनिक सवारीमा दर्ता भई वर्षौं कुदेर पुराना भइसकेका छन् ।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी जुन प्रयोजनका लागि दर्ता भएको हो सोही प्रयोजनमा मात्र उपयोग गरिनुपर्ने प्रावधान छ । उक्त नियम उलंघन गरिएको पाइए १ हजारदेखि ५ हजार रुपैयाँ जरिवाना हुने कानुन छ ।

नियन्त्रणमा लिएका स्कुल बसमध्ये ४ वटा कालो नम्बर प्लेटका छन् भने पिस जोन एकेडेमीकोमात्रै रातो नम्बर प्लेट छ । ‘पिस जोनले उद्देश्यअनुरुप गाडी चलाए पनि रिन्यू फेल छ । सवारी कर तिरेको छैन,’ मिश्रले भने । मेट्रोपोलिटन एकेडेमीको बसले विद्यार्थी र यात्रु ओसार्ने काम सँगसँगै गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment