Comments Add Comment

लेहेङ्गावाली कुसुमलाई संगीतले पुनर्जीवन दियो

धेरै महिला कलाकारहरु बिहेपछि आफ्नो पेशालाई निरन्तरता दिन सक्दैनन् । श्रीमान र परिवारले नै उनलाई बन्देज गर्छ । तर, बुटबलकी गायिका कल्पना कुशुमको हकमा भने ठीक उल्टो भयो । उनी बिहे पछि मात्र गायन क्षेत्रमा लागिन् ।

आफू श्रीमानको प्रेरणाले नै यस क्षेत्रमा सक्रिय भएर लागेको बताउँछिन् कल्पना । ७२ सालमा उनी निकै बिरामी भएर थलिएकी थिइन् । मनमा निराशा बढेको बेला उनलाई श्रीमानले संगीत कक्षामा हालिदिएका थिए ।

‘सानैदेखि संगीतमा रुचि राख्थेँ । त्यसैले मेरो मन बहलियोस भनेर उहाँले संगीत सिक्न पठाउनुभयो । र, सिक्ने क्रममा यसैमा मेरो रस बस्यो,’ उनले सुनाइन् ।

नेपालको सांगीतिक क्षेत्र अहिले पनि काठमाडौं केन्द्रित नै छ । मोफसलमा बसेर सांगीतमा आफ्नो उपस्थिति जनाउन कठिन कुरा हो । यो अप्ठेरो कल्पनाले पनि महसुस गरेकी छन् ।

उनी भन्छिन्, ‘गीत रेकर्डिङदेखि अनेक कामका लागि काठमाडौं धाउनुपर्छ, त्यसैले हामीजस्ता मोफसलका कलाकारलाई गाह्रो छ ।’

त्यसो त कल्पनाको मूल पेशा गायन होइन । उनी अक्सफोर्ड कलेज र न्यू होरिजन स्कुलमा पढाउने गर्छिन् । एक सन्तानकी आमा पनि हुन् उनी । गृहणी, पूर्णकालीन प्राध्यापक र गायिकाको तेहरो भूमिका निर्वाह गर्ने क्रममा समय व्यवस्थापन गर्न उनलाई निकै सकस पर्छ ।

विभिन्न कार्यक्रममा गीत गाउन उनलाई निम्तो आइरहन्छ । तर, कलेजबाट छुट्टी पाउन गाह्रो हुन्छ ।  ‘विदेशको कार्यक्रममा जाँदा त कलेजबाट सजिलै छुट्टी पाइन्छ । तर देशभित्रैका कार्यक्रममा जाँदा चाहिँ छुट्टी मिलाउन गाह्रो पर्छ ,’ उनले भनिन् ।

आफ्नो आम्दानीको मुख्य स्रोत भएकाले जागीर छोडेर संगीतमा केन्द्रित हुने अवस्था पनि छैन । त्यसैले अहिलेसम्म संगीतलाई प्रोफेसनलभन्दा पनि सोखकै रुपमा अघि बढाइरहेको उनले बताइन् ।

मीठो स्वरकी धनी कल्पनाले अहिलेसम्म करिब एक दर्जन गीतहरु गाएकी छन् । पहिलोपटक उनले तीज गीत रेकर्ड गराएकी थिइन् । कल्पना ‘लेहेङ्गा’ बोलको तीज गीतबाट स‌गीत क्षेत्रमा चिनिएकी हुन् । त्यसमा राम्रो प्रतिक्रिया प्राप्त भएपछि उनलाई प्रेरणा मिल्यो । उनले छायाँ छवि क्रियसनबाट उत्कृष्ट नवगायिकाको अवार्ड पनि जितिसकेकी छन् । उनले अष्ट्रेलिया र दुबईमा गएर पनि आफ्नो गायनकला प्रस्तुत गर्ने मौका पाएकी छन् ।

हालै मात्र कल्पनाले नयाँ तीज गीत यूट्यूवमा रिलिज गरेकी छन् । ‘हाम्रा बाबाले किनिदिएको पछ्यौरी…’ बोलको गीत नारायण सापकोटाले लेखेका हुन् भने संगीत इन्दिरा पाण्डेको रहेको छ । गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment