Comments Add Comment

प्रदेशको राजधानी हेटौंडा नै चाहिन्छ भन्दिनँ : मुख्यमन्त्री पौडेल

‘सिंहदरबारको छायाँमा हुँदैन, नुवाकोट वा रामेछाप लगे हुन्छ’

२३ साउन, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् ।

प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेलको तर्क छ ।

काठमाडौंको नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउन नहुने जिकिर गरे ।

अबको केही दिनभित्रै प्रदेश ३ को नाम र राजधानी सुन्न पाइने दाबी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानीका विषयमा यस्तो दलील प्रस्तुत गरे–

तपाईहरुको सबैभन्दा ठूलो जिज्ञासा राजधानीको सन्दर्भ र नामको सन्दर्भ छ । मैले के अनुरोध गरें भने घरपायकका आधारमा राजधानी रहँदैन । मैले चाहेर हुने भए त स्वाभाविकरुपमा हेटौंडामा हुनुपर्छ भनौंला । किनभने, मेरो घर त्यहीँ छ, मैले बाहिर भन्न अलि मिल्दैन ।

तर, म एउटा कुरा के प्रष्ट पार्छु भने राजधानीका विषयमा मेरो आफ्नो लजिक छ । जबर्जस्त लजिक छ । त्यो के हो भने मैले हेटौंडै चाहिन्छ भन्दिनँ, तर राजधानी यो राजधानीमा (काठमाडौं) मा हुँदैन । यो मेरो निर्णय हो । यो सिंहदरबारको छायाँभित्र आएर प्रदेशको राजधानी बस्दैन ।

सिंहदरबार यहीँ छ । हामी २०/२५ वर्षसम्म केमा लडियो भने राजधानीलाई कसरी व्यवस्थित गर्ने ? राजधानीका जनतालाई कसरी डाइभर्ट गर्ने ? यो पपुलेसनलाई हामीले कसरी बाहिर लैजान सक्छौं ? कसरी बाहिरको क्षेत्रलाई विकास गर्ने ? यी सबै मान्छे काठमाडौंमा आउने र काठमाडौं अस्तव्यस्त शहरको रुपमा रुपान्तरण हुने कुराको अन्त्य गर्न सबभन्दा पहिले राजधानीको पपुलेसनलाई डाइभर्ट गर्नुपर्छ । यो एउटा वैज्ञानिक आधार हो । अब २०/२५ वर्षसम्म यिनै कुरा गरेर म आएँ । अब फेरि राजधानीलाई ल्याएर काठमाडौंमै राख्नुपर्छ भनेर मैले भनें भने मेरो २० वर्षको इतिहास, मैले जे कुरा गरें, जे लगानी गरें, त्यो खेर जान्छ । त्यो हुँदैन ।

राजधानी नुवाकोटमा लान पनि म तयार । कुनै आपत्ति छैन । हेटौंडा नै राख्नुपर्छ भन्दिनँ म । रामेछापमा यदि सम्भावना छ भने त्यहाँ पनि जाऔं । तयार होऔं । तर, के भने राजधानी हामी यस्तो ठाउँमा लैजाऔं, जहाँ त्यो क्षेत्रको पनि विकास हुन सक्छ, जनताले काठमाडौं बाहिर पनि देश हो भनेर सोच्नुपर्छ । हामीले त्यही सेवा र सुविधा दिन सक्यौं भने काठमाडौंमा जनता धेरै आउँदैनन् । योचाहिँ मेरो एउटा दृढ कुरा हो ।

अर्को पक्ष के हो भने म तपाईहरुलाई एउटा उदाहरण दिन्छु । २०१७/०१८ सालमा राजा महेन्द्रले बनाएका जिल्ला सदरमुकामहरु हेर्नुहोस् । प्रशासनिक भवनहरु हेर्नुहोस् । मेचीदेखि महाकालीसम्म जानुभयो भने जम्मै बोर्डर साइडमा छन् ।

किन तल–तल, तल–तल ? मास्तिर राखेको भए पनि हुन्थ्यो नि । चन्द्रनिगाहपुरमा नराखेर किन गौरमा राखियो ? सप्पै हेर्नुहोस् बोर्डरमा छन् । यसको अर्थ त्यो स्ट्राटेजीकल्ली पनि, सरक्षाको हिसाबले, हरेक हिसाबले भन्ने पनि एउटा तर्क हो ।

त्यसैले राजधानीजस्तो विषयलाई मैले भनेर त हुने हैन, हामी दुई/चार जनाले भन्नुभन्दा पनि सिंगो यो मुलुकको नेतृत्व गर्ने राजनीतिक पार्टीहरुको वीचमा एउटा सहमति भयो भने हुन्छ । किनभने यो त दीर्घकालीन प्रभाव पार्ने, दीर्घकालीन असर पार्ने कुरा हो ।

अहिले काठमाडौंका मान्छेलाई काठमाडौंमा हुँदा राम्रो । नजिकको हिसाबले सबै राम्रो होला । तर, के भने त्यसको व्यवस्थापकीय हिसाब र अरु हिसाबले पनि, संघीय व्यवस्थालाई व्यवस्थापन गर्ने हिसाबले पनि राजधानी काठमाडौंमा हुँदैन र काठमाडौंभन्दा बाहिर जानुपर्छ भन्ने मेरो मान्यता हो ।

तर, यसो भनेर मैले यहीँ नै हुनुपर्छ त भनिनँ । किनभने त्यसको संविधानले नै व्यवस्था गरेको छ । संविधानले राजधानी कहाँ बनाउने, कसरी बनाउने भन्ने कुराको व्यवस्था गरिसक्या छ । प्रदेशसभाको दुईतिहाई सदस्यको बहुमतले जहाँ भन्छ, त्यहीँ बनाउने भन्या हुनाले बाटो त त्यही हो, त्यहाँ जानुपर्छ । म जाने हो । तर, त्यसमा सकेसम्म अझ एकमना, एकरुपता सबैको भयो भने भोलि राजधानी जहाँ भए पनि सबैले सहज ढंगले स्वीकार गर्ने वातावरण बनोस् भन्नेमात्र मेरो चाहना हो । यसले गर्दा केही ढीला भएको हो ।

अब नामको विषयमा राजधानी नबनिकन नाममात्रै भन्दाखेरि पनि खासै त्यति ठूलो औचित्य नहुने र तपाईहरुको पनि चित्त बुझ्दैन । नाममात्रै निर्णय गर्‍यो, राजधानी के भन्ने हुन्छ । त्ससो भएको हुनाले दुईवटा कुरो एकै दिन हुन्छ । जहिले भए पनि, दुई दिन हामी लगाउँदैनौं । एक्कै दिन, एउटै प्रस्तावमा नाम र राजधानी हुन्छ । र, यहाँ मेरो कुनै इन्ट्रेष्ट छैन । तर, सैद्धान्तिक हिसाबमा मात्रै मैले कुरा गरेको हो ।

मेरो व्यक्तिगत इन्ट्रेष्टका आधारमा राजधानी रोकिएको हैन । हामी यसलाई अगाडि बढाउँछौं । अगाडि जान्छ र तपाईहरु सबैले केही दिनभित्र अब राजधानीको नाम र स्थायी राजधानीको ठाउँ पनि सुन्न पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment