Comments Add Comment

अब मोबाइलबाटै सिक्न सकिन्छ जापनिज भाषा

Photo Credit : गोपाल चन्द

२५ साउन, काठमाडौं । जापान जान चाहने नेपालीलाई लक्षित गर्दै जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवा सुरु भएको छ । बिहीबार एक कार्यक्रमका बीच जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवाको औपचारिक सम्झौता गरिएको हो।

जापानस्थित जापान इन्ष्टिच्युट अफ कल्चर एण्ड इकोनोमी (जेआइसिई)का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट लिंकन इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रा.लि.का अध्यक्ष पुकार थापाले नेपालमा जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवाको औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जेआइसिईका सिइओ नाकाता सुनिइचीले जापानमा अध्ययन तथा रोजगारीको खोजीमा थुप्रै युवा जाने गरेकाले नेपाली युवाहरुको सहजताका लागि ई–लर्निङ सेवा सुरु गर्न लागिएको बताए। ‘जापानमा जाने नेपाली युवाहरु भाषा अध्ययन गरेर गए पनि कन्भरसेसन गर्न सक्दैनन्, कतिपय त भाषा पढेर गए पनि राम्रोसँग बुझ्न सक्दैनन्, त्यस्तो समस्या समाधानका लागि हामीले ई-लर्निङ सेवा सुचारु गर्न लागेका हौँ,’ उनले भने।

ई–लर्निङमार्फत अध्ययन गरेका विद्यार्थी तथा कामदारहरुले जापानमा सामान्य बोलिचालीको भाषा राम्रोसँग बुझ्न र बोल्न सक्ने सिइओ सुनिइचीले दावी गरे। ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिन्छ भन्ने राम्रो उदाहरण दिनको लागि नेपालमा प्रचारप्रसारको आवश्यक तयारी गरिएको नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए।

‘सम्झौतासंगे पहिलो चरणमा नेपालमा इन्टरनेटको पहुँच भएका स्थानहरुमा ई–लर्निङ सेवा सुरु गर्छौं’, ओझाले भने, ‘नेपाल बाहिरका इन्टरनेटको पहुँच नभएका स्थानमा समेत इन्टरनेट पहुँच विस्तार गरी सेवा सुचारु गर्दै जानेछौं ।’

ई–लर्निङ के हो ?

इन्टरनेटका माध्यमबाट आफ्नो अनुकुलतामा अध्ययन गर्न सकिने सेवा नै ई–लर्निङ सेवा हो ।

ई-लर्निङ सेवामार्फत एन फाइभ तहसम्मको जापानिज भाषा सिक्न सकिने व्यवस्था गरिएको जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए । आफ्नो मोबाईल, ल्यापटप तथा कम्प्युटरमार्फत ई–लर्निङ सेवा लिन सकिन्छ । यो सेवामार्फत जापानिज भाषा सिक्न ४ महिनाको अध्ययन कोर्स राखिएको ओझाले जानकारी दिए ।

ई-लर्निङ सेवा अन्तर्गत जापानिज भाषा अध्ययनका लागि एक व्यक्तिले एउटा ई–लर्निङ आइडी र पासवर्ड लिन सकिन्छ । ई–लर्निङ सेवामार्फत जापानिज भाषा अध्ययनका लागि विभिन्न जापानिज भाषा प्रशिक्षण संस्थामार्फत सहकार्य गरी व्यक्तिहरुले आफ्नो आइडी लिन सक्ने व्यवस्था गरिने जेआइसिईका सिइओ नाकाता सुनिइचीले बताए। एउटा आइडी एक पटकमा एउटा मात्रै मोबाइल, ल्यापटप वा कम्प्युटरमा लगइन गरेर प्रयोग गर्न सकिन्छ ।

आफ्नो ई–लर्निङको आइडी एउटा मोबाइलमा लगइन छ र अब मोबाइलबाट नचलाएर कम्प्युटर, ल्यापटप वा अर्को मोबाइलमा लगइन गरेर अध्ययन गर्नुपर्‍यो भने पहिले लगइन भइरहेको डिभाइसबाट लगआउट गरेपछि मात्रै अन्य डिभाइसमा लगइन गर्न सकिने सुनिइचीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment