Comments Add Comment

इन्स्टाग्रामले ह्याकरलाई किन दियो ३२ लाख रुपैयाँ ?

अहिले साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ । साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपराधमा कारबाहीसमेत हुने गरेको छ । तर कहिलेकाहीँ ह्याकिङ गर्नु कसैका लागि पुरस्कारको विषय पनि बन्दो रहेछ ।

हालै भारतको चेन्नईका एकजना ह्याकरलाई फोटो सेयरिङ एप इन्स्टाग्रामले पुरस्कृत गरेको छ । लक्ष्मण मुथिया नामका ती ह्याकरलाई इन्स्टाग्रामले ३० हजार डलर नगर पुरस्कार दिएको हो ।

पेसाले सफ्टवेयर इन्जिनियर रहेका लक्ष्मण श्वेत टोपीधारी ह्याकर हुन् । उनले हालै इन्स्टाग्राम अकाउन्ट ह्याक गरे र त्यसबापत ३० हजार डलर पुरस्कार पाए ।

तर उनले यसरी ह्याकिङबापत पुरस्कार पाएको यो पहिलोपटक होइन । उनले यसअघि ३४ पटक यसरी पुरस्कार पाइसकेका छन् ।

इन्स्टाग्राममा रहेको सुरक्षा कमजोरी पत्ता लगाई ह्याक गरेबापत उनलाई इन्स्टाग्रामले पुरस्कृत गरेको हो । उनकै सुझावका आधारमा इन्स्टाग्रामले उक्त कमजोरीलाई सच्चाइसकेको छ ।

यसअघि एकपटकमा १० लाखवटा कोडहरु हालेर इन्स्टाग्राम अकाउन्ट ह्याक गर्न सम्भव थियो । तर उनले त्यो कमजोरी पत्ता लगाइसकेपश्चात् इन्स्टाग्रामले एकपटकमा दश मिनेट भित्रमा केवल १० वटामात्रै कोड हाल्न सकिने बनायो, जसका कारण लाखौं अनुमानित कोडहरु एकसाथ हालेर ह्याकिङ गर्न असम्भव भयो । सोहीबापत इन्स्टाग्रामले उनलाई पुरस्कृत गरेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment