Comments Add Comment

ठोरी नाकाबाट भारततर्फ लगिएका तीन युवतीको उद्दार

२७ साउन, काठमाडौं । पर्साको ठोरी नाकाबाट भारततर्फ लगिएका तीन नेपाली युवतीको सोमबार प्रहरीले उद्दार गरेको छ ।

तनहुँको घिरिङ गाउँपालिकाका उनीहरुलाई नयाँदिल्लीमा श्रृङ्गार कम्पनीमा सामान प्याक गर्ने काम लगाइदिने भनी लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले अनलाइनखबरलाई जानकारी दिए ।

प्रहरीले उक्त घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतिया पिपरा घर भएका बृजेशकुमार, तनहुँको देवघाट ५ का ४४ वर्षीय यादवप्रसाद धिताल र घिरिङ गाउँपालिका–४ का १९ वर्षीय किसान विश्वकर्मा रहेका छन् ।
धितालकै योजना बमोजिम युवतीलाई भारत लगिएको पाइएको प्रहरीले जनाएको छ । भारतीय नागरिक बृजेशकुमार भने भारतबाट ठोरी नाकामा उनीहरुलाई लिन आएका हुन् ।

चितवनको चौबीसकोठीबाट बस चढेर उनीहरु ठोरी पुगेका थिए । प्रहरीले शंका लागेर सोधपुछ गर्दा घटना खुलेको हो । उद्धार गरिएका युवतीका घरपरिवारसंग सम्पर्कको प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक पन्तले बताए ।

ठोरी नाका क्षेत्रको निगरानी गर्ने संस्था माइती नेपाल विस्थापित भएसंगै यो नाका भएर नेपाली चेली भारत पुर्‍याउने क्रम बढेको महिला अधिकारकर्मी मिनु गिरीले बताइन् । माइती नेपाल गत जेठमा विस्थापित भएसंगै यस प्रकारको ६ वटा घटना भइसकेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment