Comments Add Comment

पाँच बर्षे सम्झौता गरेको दुई महिनामै सटर खाली गराउन निर्देशन

२७ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले अस्पताल परिसरका ७२ सटरमा व्यवसाय गर्न टेण्डर पारेका व्यवसायीसँग गएको जेठ २८ गते पाँच वर्षका लागि भाडा सम्झौता भयो ।

तर त्यसको दुई महिना बित्न नपाउँदै प्रदेश ५ सरकारले अस्पताल विस्तार गर्ने भन्दै सटर खाली गराउन सामाजिक विकास मन्त्रालयमार्फत अस्पताल प्रशासनलाई पत्राचार ग¥यो ।

अस्पतालले भने यसबारे व्यवसायीलाई अझै औपचारिक जानकारी गराएको छैन । तर अस्पताललाई आएको पत्रबारे अन्यत्रबाट जानकारी पाएका व्यवसायीहरु यतिबेला अन्योल र चिन्तामा परेका छन् ।

दुई महिनाअघि मात्रै सम्झौता गर्दा पाँच वर्षसम्म व्यवसाय गर्न पाउने ठानेर ऋणधन गरी लगानी गरेको अवस्थामा एक्कासी सटर खाली गर्नुपर्ने कुरा बाहिर आउँदा आफूहरु स्तब्ध बनेको व्यवसायी पिताम्बर शर्मा न्यौपानले बताए ।

‘सटर खाली गर्ने कुराले हामी अन्योल र पीडामा छौं, भत्काउनु नै थियो भने पाँच वर्षका लागि सम्झौता किन गरियो’ न्यौपानेले भने‘एक महिनाको भाडा पनि बुझायौं, अब हामी कहाँ जाने, के गर्ने ?’

अर्का व्यवसायी केदार नेपालले सरकारले व्यवसायीसँग छलफल नै नगरी सनकको भरमा निर्णय गर्दा व्यवसायीहरुले आत्महत्या गर्ने अवस्था आउनसक्ने बताए । आफूहरुले अघिल्लो चार वर्षे सम्झौता अवधिको झण्डै एक वर्ष मधेश आन्दोलन, नाकाबन्दी, सडक विस्तार जस्ता कारणले व्यवसाय गर्न नपाएकाले एक वर्ष सम्झौता अवधि थपिदिन प्रदेश सरकारलाई समेत अनुरोध गरेको थाहा हुँदाहुँदै सटर खाली गर्ने निर्णय गर्नु अन्यायपूर्ण भएको नेपालले गुनासो गरे ।

यहाँ व्यवसायीले मासिक पाँच लाख रुपैयाँसम्म तिर्ने गरी सटरको भाडा सम्झौता भएको छ ।

सरकारले जबर्जस्ती खाली गराउन खोजे क्षतिपुर्ति दिन नसक्ने अर्का व्यवसायी ध्रुव गिरीले बताए । ‘यहाँ करोडौं लगानी भइसकेको छ, सयौं जना रोजगार छन्’ गिरीले भने ‘हाम्रो लगानी, व्यवसाय र रोजगारीको सुरक्षाको ग्यारेन्टी नभई प्रदेश सरकारले भन्दैमा तत्काल हट्न सम्भव छैन, हामी अलपत्र र सडकमै जाने अवस्था आए व्यवसायिक संघसंस्थाको साथ लिएर आन्दोलनमा जान्छौं ।’

सटर खाली गर्ने निर्णय कार्यान्वयन भए अस्पतालले वार्षिक भाडावापत पाउने नौ करोड रुपैयाँ गुमाउनेछ । सटरबाट हुने आम्दानीबाटै अस्पतालको आईसीयू सञ्चालन र निजी स्रोतका दुईसय बढी कर्मचारीले तलब खाँदै आएका थिए ।

सटर भत्काएर अस्पताल विस्तार, संरचना प्रष्ट देखिने गरी होचो पर्खाल लगाउने र पर्खाल भित्र बँगैचा बनाएर आकर्षक बनाउने प्रदेश सरकारको योजना रहेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । ‘हामीले तुरुन्तै सटर खाली गर्न खोजेका होइनौं, योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल बनाएर गृहकार्य चाहिँ गरेका छौं’ चौधरीले भने ‘पहिला त अहिले यी सटरबाट भइरहेको करोडौं आम्दानीको सट्टाभर्ना कसरी हुन्छ भन्ने निर्क्यौल हुनपर्‍यो ।’

अस्पतालको मेसु डा. कृष्ण खनालले आन्तरिक गृहकार्य गरिरहेकाले व्यवसायीलाई औपचारिक जानकारी नगराएको बताए । उनले भने ‘तीन महिनाको सूचना दिएर खाली गराउन सकिने व्यवस्था सम्झौतामा नै उल्लेख रहेकाले सरकारले चाहेमा हटाउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment