Comments Add Comment

सडकमा नाच्दै गाउँदै मनाए गुरुङ समुदायले ट्होंटे पर्व

२८ साउन, पोखरा । मंगलबार पोखराका सडक गुरुङ समुदायका केटाकेटीदेखि बुढाबुढीसम्मले भरिए । जातीय पोसाक र बाजागाजासहित सडकमा उत्रिएका उनीहरुले सडक छपक्कै छोपेका थिए ।

हजारौंका संख्यामा त्यसरी सडकमा निस्किएका उनीहरुको पोखरा महेन्द्रपुल, न्यूरोड हुँदै तमु धिंमा नाच्दै गाउँदै पुगे ।

अवसर थियो, ट्होंटे पर्व । जुन गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्ये प्रमुख मानिन्छ । यो वर्ष उभौली र उधौली गरी वर्षमा २ पटक मनाइन्छ । चैत र साउनको अन्तिम मंगलबार धुमधामले यो पर्व मनाउने गरिन्छ ।

यसपटकको उधौली ट्होंटे पनि पोखरामा धुमधामले मनाइएको छ । टोल–टोलबाट झाँकीसहित गुरुङ समुदाय निस्किए । तमु धिं नेपालको आह्वानमा टोल–टोलबाट विभिन्न गुरुङ संगठनका ब्यानर, झाँकीसहित गुरुङ समुदाय जातीय पोसाक तथा विभिन्न जनावरदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी पोखराका सडकमा निस्किए ।

गुरुङ समुदायका विभिन्न हातहतियार, बाजा बजाउँदै झिलीमिली पोशाकमा बालबालिका, किशोरकिशोरीदेखि बुढापाकासम्म र्‍यालीमा सहभागी बने । ‘राष्ट्रिय संस्कृति बचाऔं, ट्होंटे पर्व मनाऔं’ भन्ने नाराका निस्किएको ¥यालीले बजार परिक्रमा गर्दै नयाँ बजारस्थित तमु धिंको कार्यालयमा पुगेर समापन गरिँदै छ ।

ट्होंटेमा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँडा, भालालगायतका विशेष हतियार लिएर ढ्याङ्ग्रो, छेलीलगायत बाजा बजाई नाचगान गर्ने चलन छ ।

संस्कृतिकर्मी जगमान गुरुङका अनुसार ट्होटें दुई शब्दबाट बनेको हो । ट्हो को अर्थ गाउँ ठाउँ र टेंको अर्थ लखेट्नु हुन्छ । दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ तमु समुदायले ट्होंटे पर्व मनाउने चलन छ । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा लिइँदै आएको छ ।

भूत, प्रेम, भगाउने, रोगब्याधी हटाउने विश्वासका साथ यो पर्व मनाउने प्रचलन रहेको संस्कृतिकर्मी डा जगमान गुरुङ बताउँछन् । ‘श्रीपञ्चमीबाट उभौली सुरु हुन्छ । दिन घमाइलो हुन्छ । कर्‍याङकुरुङ चरा दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतिर लाग्छन् । यसले उभौलीको संकेत गर्छ,’ उनी भन्छन्, ‘उद्यौली नागपञ्चमीतिर पर्छ । उत्तरी गोलार्धबाट कर्‍याङकुरुङ चरा फेरि दक्षिणी गोलार्धतिर झर्छन् ।’

क¥याङकुरुङ चराले लिने दिशाजस्तै उभौली ट्होंटेमा गाउँ तलबाट पूजा गर्दै माथि उक्लने र उधौलीमा गाउँमुनिबाट पूजा गर्दै माथि जाने प्रचलन रहेको गुरुङले बताउँछन् । ठ्याक्कै कहिलेदेखि ट्होंटे मनाउन थालियो भन्ने एकीन नभए पनि यो गुरुङ जातिको मौलिक र सांस्कृतिक पर्व भएको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment