Comments Add Comment

संविधानबाट ‘समाजवाद’ हटाउन पूर्वपञ्चको माग

नेपालमा समाजवाद छैन, होलीवाइनको लुटपाट छ : डा. लोहनी

२८ साउन, काठमाडौं । पूर्वपञ्चहरुले वर्तमान संविधानको प्रस्तावनामा रहेको ‘समाजवादोन्मुख’ शब्द हटाउनुपर्ने माग गरेका छन् । संविधान संशोधन गरी समाजवादोन्मुख शब्द हटाएर ‘कल्याणकारी उदारवाद’ शब्द राखिनुपर्ने पूर्वपञ्चहरुको माग छ ।

पूर्वपञ्चहरुको पार्टी राप्रपा (संयुक्त) सम्वद्ध बुद्धिजीवी मञ्चको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले संविधानमा समाजवाद शब्द लेखुञ्जेल नेपालमा वैदेशिक लगानी नभित्रिने दाबी गरे ।

‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल र डरलाग्दो छ, यसको मूल कारण संविधानको प्रस्तावनामा समाजवादउन्मुख भन्ने वाक्य राख्नु हो’ राणाले भने, वैदेशिक लगानीकर्ताले लगानी गर्नुपूर्व लगानी गरिने देशको संविधान, शान्ति सुरक्षा र सरकारको स्थिरताको अध्ययन गर्छन्, नेपालको त संविधानको प्रस्तावनामै समाजवादउन्मुख लेखिएको छ ।’

संविधानमा जबसम्म समाजवादउन्मुख भन्ने शब्द राखिन्छ, तबसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी आउँदैन भन्दै राणाले संविधान संशोधन गरी समाजवादउन्मुख भन्ने वाक्य हटाएर ‘कल्याणकारी उदारवाद’ राख्न माग गरे ।

कार्यक्रममा बोल्दै राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समाजवादका नाममा लुटतन्त्र मच्चाएर देश खत्तम पार्ने प्रपञ्च जारी रहेको आरोप लगाए । उनले भने ‘नेपालमा समाजवाद छैन, होलीवाइनको लुटपाट छ । होलीवाइन समाजवादमा भ्रष्टाचार आकाशिएको छ ।’

कार्यक्रमका अर्का वक्ता परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले ओली सरकार व्यवहारिक व्यवस्थापनभन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाए । उनले भने, ‘चावहिल–वौद्ध तीन किलोमिटर सडक दुई वर्षमा बन्न सकेको छैन, हामी भने ठूला रेलमार्गका कुरा गर्दैछौंं ।’

पाण्डेले थपे, ‘नयाँ लगानीकर्ता आकर्षित गर्ने त परै जाओस्, भएका लगानीकर्ता भ्रष्टाचार र प्रशासनिक जटिलताका कारण देश छोडेर गएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment