Comments Add Comment

बगैंचाले राख्छ सक्रिय र खुसी

तपाईंको घरमा बगैंचा छ ? बगैंचामा फूलहरु फुलाउनु भएको छ, वनस्पति हुर्काउनुभएको छ ? करेसाबारी बनाउनुभएको छ ? सागसब्जी रोप्नुभएको छ ? बार्दली, छतमा फूल वा तरकारी फलाउनु/फुलाउनुभएको छ ?

वास्तवमा यी कुराहरु तपाईंका स्वास्थ्य, सक्रियता र खुसीसँग जोडिएका छन् । तपाईंले आफ्नो घरको आसपासमा, छतमा, वार्दलीमा फूलहरु फुलाउन सक्नुहुन्छ । सागसब्जी रोप्न सक्नुहुन्छ । वनस्पति हुर्काउन सक्नुहुनेछ । यी सबै कुराले तपाईंको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ ।

अग्र्यानिक र ताजा सागसब्जी

आफ्नै बगैंचा वा करेसाबारीमा सागसब्जी रोप्नुभएको छ भने तपाईं बजारमा निर्भर भइरहनु पर्दैन । अहिले त्यसैपनि बजारमा उपलब्ध सागसब्जी शुद्ध र स्वस्थ्यकर छैन । विषादीको प्रयोगले ति खान लायक छैनन् । सागसब्जीसँगै हामी विष पनि सेवन गरिरहेका छौं । त्यसैले बजारमा मात्र आश्रति भइरहनु भनेको शरीरलाई रोगी पनि बनाउनु हो । अतः आफ्नै घरबारी, बगैंचा, करेसाबारी, छत, बार्दलीमा किन सागसब्जी नरोप्ने ?

जब तपाईं आफै सागसब्जी रोप्न थाल्नुहुनेछ, यसबारे धेरै जानकारी हासिल गर्नुहुनेछ । कुन सिजनमा के रोप्ने, कसरी रोप्ने, कस्तो मलखाँद प्रयोग गर्ने इत्यादि । आफ्नै हातले रोपेको सागसब्जी खानु भनेको स्वास्थ्यका लागि अति फाइदाजनक छ । किनभने यसको शुद्धतामा तपाईं ढुक्क हुन सक्नुहुन्छ ।

सक्रियता

अहिले हामी धेरै अल्छे भएका छौं । टेलिभिजन हेरेर, गफ गरेर, मोवाइल चलाएर घण्टौ बस्छौं । खाना चाहि मिठो मसिनो चाहिने, मसलेदार चाहिने, तारेको भुटेको चाहिने, बजारको तयारी खानेकुरा चाहिने । यद्यपि त्यस अनुरुप शारीरिक श्रम नगर्ने । यही कारण हामीलाई अनेक किसिमको रोगले गाँजिरहेको छ । मोटोपनदेखि मधुमेहसम्मको रोग निम्त्याउने नै ऐशआरमको जिन्दगी हो ।

अतः शरीरले समुचित श्रम गर्नुपर्छ । शरीर समुचित श्रम गर्नकै लागि हो । शरीर सक्रिय र चलायमान हुनुपर्छ । यदि हामीले घर अगाडि, पछाडि, छतमा, बार्दलीमा सागसब्जी वा फलफूल लगाएका छौं भने हाम्रो सक्रियता स्वत बढ्छ । हामी गोडमेल गर्न थाल्छौं, सिंचाई गर्न थाल्छौं, स्यहारसुसार गर्न थाल्छौं । यावत् गतिविधिले हाम्रो शारीरिक सक्रियता बढ्छ । अतिरिक्त व्यायामको खाँचो हुँदैन ।

खुसी

बगैंचाका यावत् गतिविधिले हामीलाई खुसी पनि तुल्याउँछ । वास्तवमा यी सबै खुसीका स्रोत हुन् । जब तपाईं सागसब्जी, फलफूल लगाउनुहुन्छ, हुर्काउनुहुन्छ तपाईंको ध्यान त्यसमै मग्न हुन्छ । तपाईंमा नकारात्मक विचार आउँदैन । मन अन्यत्र भड्किदैन । आफुले गरिरहेको खेतीपातीमै तपाईं मग्न हुनुहुन्छ । यसले तपाईंको चित्त शान्त रहन्छ ।

तपाईंले रोपेका सागसब्जी उम्रन थाल्छन्, कोपिला लाग्न थाल्छ, फूल फुल्न थाल्छ, फल लाग्न थाल्छ । सागसब्जी हुर्कन थाल्छ । यी सबैकुरा ख्याल गरिरहँदा तपाईंमा एक किसिमको उत्साह पनि जाग्छ । आफुले रोपेका सागसब्जी, फलफूल उमि्रएको र फलेको देख्दा तपाईं प्रफुल्लित रहनुहुन्छ ।

तनाव हट्छ

सागसब्जी रोप्ने, फलफूल लगाउने, फलाउने आदि कामले तपाईंलाई तनावबाट टाढा राख्छ । अहिले हामी तनावग्रसत छौं । चारैतिर तनावले घेरिएका छौं । तनावकै कारण हामीलाई अनेक किसिमको रोग लाग्न थालेको छ । अतः तनाव हटाउनका लागि राम्रो काइदा हो बगैंचामा काम गर्नु ।

तपाईं सागब्जी रोप्न थाल्नुहुन्छ, स्यहार्न थाल्नुहुन्छ, फूल फुलाउन थाल्नुहुन्छ । यावत् गतिविधिले तपाईंलाई तनावबाट टाढै राख्छ ।

प्रकृतिसँग नजिक

तपाईं माटोको सम्पर्कमा रहनुहुन्छ । पानी खेलाउनुहुन्छ । मल तयार गर्नुहुन्छ । विरुवा, बुट्यान, फूलहरुसँग रमाउन थाल्नुहुन्छ । वास्तवमा तपाईं प्रकृतिको नजिक पुग्नुहुन्छ । प्रकृतिसँग जति निकट हुन सकिन्छ, खुसी र स्वस्थ्य रहन सकिन्छ । अहिले हामी प्रकृतिबाट विमुख हुँदै गएका छौं । यान्त्रिक जीवन विताइरहेका छौं । त्यसैले पनि हामी प्रकृतिसँग निकट हुन आवश्यक छ । प्रकृतिले हामीलाई रमाउन सिकाउँछ, बाँच्न सिकाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment