Comments Add Comment

मजदुर, महिला र युवा विभागबारे पूर्वएमालेभित्र विवाद

सचिवालय बैठक फेरि स्थगित

Photo Credit : फाइल तस्वीर

२९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अरु विभागबारे पनि विवाद सुरु भएको छ ।

तत्कालीन एमाले र माओवादीबीच स्कुल विभागबाहेक अरुको भागवण्डा टुंगिए पनि कसलाई प्रमुख बनाउने भन्नेमा विवाद भएको हो । स्रोतका अनुसार आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमालेबाट सचिवालयमा रहेका ६ नेताको बैठक मंगलबार बालुवाटारमा बसेको थियो ।

तर युवा, महिला र मजदुर विभागलाई लिएर विवाद भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरमा विष्णु रिमाल, युवामा महेश बस्नेत र महिला विभाग प्रमुखमा गोमा देवकोटाको नाम अगाडि सारेका छन् ।

दुई पार्टीको भागवण्डामा मजदुर विभाग पूर्वमाओवादीको भागमा परेको थियो तर प्रधानमन्त्री ओलीले एमालेमा ल्याएर आफ्ना सल्लाहकारसमेत रहेका रिमाललाई बनाउन चाहेका छन् । माधवकुमार नेपाल पक्षले भने असहमति जनाएका छन् ।

विवाद बढेपछि प्रधानमन्त्री ओलीले पूर्वएमाले नेताहरुको बैठक नै नराख्ने बताए । जवाफमा नेता नेपालले स्थायी कमिटीमा छलफल गरौं भनेको स्रोतको दाबी छ ।

यदि पूर्वएमालेभित्र विभागीय प्रमुखहरु टुंगो लागेको भए बुधबार सचिवालय बैठक बस्ने तयारी थियो । तर बुधबार विहान अर्का अध्यक्ष प्रचण्डसँग भएको भेटमा ओलीले गृहकार्य नपुगेको भन्दै बैठक सार्न आग्रह गरेका छन् ।

सचिवालय बैठक भोलि मात्र बस्नेछ ।

नेकपामा स्कुल विभागलाई लिएर यसअघिदेखि नै विवाद छ । सुरुमा पूर्व माओवादीले नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलको दाबी थियो । तर दुई नेताको नाममा विवाद भएपछि यो विभागमा ८ जनाको दाबी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment