Comments Add Comment

पहिरोले अवरुद्ध उदयपुरको पहाडी सडक खुल्यो

Photo Credit : फाइल तस्वीर

३० साउन, गाईघाट । वर्षाका कारण भत्किएर एक महिनासम्म अवरुद्ध बनेको उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको सडक खुलेपछि खाद्यान्न ढुवानी शुरु भएको छ ।

सदरमुकाम गाईघाट बजार र रौतामाई गाउँपालिकाको व्यापारिक केन्द्र मुर्कुचीबजारबाट पहाडी क्षेत्रका विकट गाउँहरु जाँते, लाफागाउँ, बराह, बासबोटे, बलाम्ता, ताम्लिछा, छताङ, माझखर्क, इनामेसहित गाउँ जोड्ने सडक मर्मत गरेपछि सञ्चालनमा आएको छ । पहिरो हटाइएकाले खाद्यान्न ढुवानी थालिएको लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिलाकुमारी राईले जानकारी दिइन् ।

सडक खुलेसँगै बुधबार बिहानैदेखि टक्टरबाट जिल्ला सदरमुकाम गाईघाट र रौताको मुर्कुचीबजारबाट झण्डै २० वटा ट्याक्टरमा लिम्चुङबुङको माझखर्क, बासबोटे र बराहमा खाद्यान्न ढुवानी हुन थालेको छ ।

गत असारको अन्तिम हप्ता आएको भीषण बाढी र पहिरोका कारण सदरमुकाम गाईघाट र व्यापारिक केन्द्र मुर्कुचीदेखि जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रका गाउँहरु जोड्ने सडक ठाउँ–ठाउँमा पहिरोले पुरिएको थियो । सडक अवरुद्ध भएर गाडी नचल्दा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभाव भएको थियो ।

प्रदेश १ सरकारले सो क्षेत्रका लागि हेलिकोप्टरबाट ४१ क्वीन्टल चामल ढुवानी गरेको भए पनि स्थानीयले अपुग भएको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए ।

रौतामाई गाउँपालिकाले १५ लाख, लिम्चुङबुङ गाउँपालिकाले २५ लाख र प्रदेश १ सरकारले २० लाख गरेर कूल ६० लाख रुपैयाँको लागतमा रौता–मुर्कुची डिल्लीबर हुँदै लिम्चुङबुङसम्मको सडक खुलाइएको सडक व्यवस्थापन समितिका संयोजक मनोज बुढाथोकीले बताए ।

साउनको ३ गतेदेखि आधादर्जन स्काभेटर र जेसिभीको प्रयोग गरी दैनिक पचासौँ मजदुरको सहयोगमासडक खुलाउनसफल भएको उनको भनाइ थियो ।

लिम्चुङबुङ बराहका देवेन्द्र बरालले भने,‘यस पटक फागुनदेखि खडेरी परेकाले मकैबाली सबै नष्ट हुँदा गाउँघरमा अन्य जगेडा अन्न नभएकाले अन्यत्रबाट चामल ढुवानी गर्दै ल्याउनुपरेको थियो ।’ सडक सञ्चालन भएकाले चामल–दाल त किनेर खान सकिने भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment