Comments Add Comment

मकैबाली सखाप पार्ने अमेरिकी फौजी किरा नेपालमा भेटियो

३१ साउन, काठमाडौं । मकैबाली सखाप पार्ने अमेरिकी फौजी किरा नेपाल भित्रिएको पुष्टि भएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्रका अनुसार ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाका मकै खेतिमा यो किराको संक्रमण भेटिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटको अनुसन्धानमा फौजी किरा नेपाल प्रवेश गरेको पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले किराबारे थप अनुसन्धान अगाडि बढाएको थियो । नेपालमा पहिलोपटक देखिएको यो किराले छोटो समयमै मकैबाली सखाप पार्ने भएकाले कृषि क्षेत्रमा चिन्ता थपिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

पूर्वको झापादेखि पश्चिमको दाङ जिल्लाका विभिन्न भागबाट संकास्पद नमूना केन्द्रले परिक्षणका लागि भारत पठाएको थियो । भारतीय कृषि अनुसन्धान परिषद्को कृषि किट संशाधन ब्यूरो बैङ्लोरले गरेको परिक्षणमा अवशेष पुष्टि भएको प्रवक्ता सुवेदीले बताए ।

फौजी किराको विशेषता

स्पोडोपेट्रा फ्रेगिपेड्रा जे.ई.स्मीथ वैज्ञानिक नाम रहेको यो किरालाई अमेरिकी फैजी किरा भनेर संसारभर चिनिन्छ । यसका अलवा यो किराको कारडि्रना फ्रेगिपेड्रा लगायत सातवटा फरक वैज्ञानिक नाम पनि छन् । उक्त किरालाई जर्मनीमा हेरवूर्म र स्पेनमा कोगोल्लेरो डेल माईज नामले पनि चिनिन्छ ।

देशपिच्छे यसको नाम फरक रहेको पाईन्छ । हल्का खैरो र सादा पहेँलो रङ्गको यो किराको अण्डा ०.४ लामो र ०.३ एमएम अग्लो हुन्छ । उस्तै उचाईका तर ४.५ सेन्टिमिटर लामो यसको लाभ्रा हुन्छ । यो किराको वयस्क भाले १.६ सेन्टिमिटर लामो र यसको पखेटाको फैलावट ३.७ सेन्टिमिटर हुन्छ । किराको वयस्क पोथी भालेभन्दा केही ठूलो हुन्छ । वयस्क पोथी १.७ सेन्टिमिटर लामो र यसको पखेटाको फैलावट ३.८ सेन्टिमिटर हुने किराहरुको वैज्ञानिक इन्साइकोपिडियाले उल्लेख गरेको छ ।

अमेरिकापछि पहिलोपटक सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको फौजी किरा अहिले एसियाको २५ मुलुकमा फैलिएको छ । सन् २०१६ पछिको साँढे दुई वर्षमा यो किराको फैलावट ब्यापक देखिएको छ । यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ ।

मकैमा देखिने असर

फैजी किराले भर्खरै उम्रदै गरेको मकैको पातदेखि डाँठ, घोगा र बोट नै सखाप पार्छ । नेपालको प्रमुख खाद्यान्न बालीहरुमध्ये एक मकैको उत्पादनमा किराले ठूलो असर पुर्‍याउन सक्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत एवं प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् ।

किरा नियन्त्रणका लागि छलफल अगाडि बढाइएको केन्द्रका उनले जानकारी दिए । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराम शर्माको संयोजकत्वमा किरा चुनौतीबारे अध्ययन गर्न गठन १२ सदस्यीय उच्चस्तरीय समिति भएको छ । भदौ १ गते आइतबार समितिले कृषि, मकैबाली तथा किरासम्बन्धी सरोकारवाला, सरकारी अधिकारी, संघसंस्था र वैज्ञानिकबीच फौजी किराको प्रकोप नियन्त्रणबारे छलफल कार्यक्रम आयोजना गरेको प्रवक्ता सुवेदीले बताए ।

सबै तस्वीर :  प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment