Comments Add Comment

तिब्बती शरणार्थीको सन्तानलाई वंशजको नागरिकता ! वडाध्यक्ष पक्राउ

३१ साउन, पोखरा । तिब्बती शरणार्थीको सन्तानलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापासहित ३ जना पक्राउ परेका छन् ।

अध्यक्ष थापासहित वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिधिकारी राजेन्द्र पौडेललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका २५ हेम्जास्थित तिब्बती शरणार्थी शिविरमा बस्ने सरु थापामगर र तासी आङ्मो थापामगरले जेठ २६ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको खुलेको थियो । झूटो विवरण पेश गरेर नागरिकता लिएको खुलेपछि साउन २४ गते नै ८ जनालाई पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले नागरिकताका लागि वडा कार्यालयबाट सिफारिस दिएको देखिएकाले सोधपुछ गर्न वडाध्यक्षलाई नियन्त्रणमा लिएको बताए ।

नातिनीलाई छोरी बनाएर नागरिकता !

पोखरा १८ बस्ने लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग बिहे गरेकी आफ्नी छोरीको सन्तानलाई वंशज नागरिकता दिलाउन उनले जिल्ला प्रशासन कार्यालयमा झूटो विवरण पेश गरेको खुलेको थियो । नातिनीलाई छोरी बनाई वंशज नागरिकता दिलाएको भन्दै राष्ट्रप्रेमी नेपाली नामक समूहले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा छानविन गर्दा लेखबहादुरले झूटो विवरण पेश गरी नातिनीलाई नागरिकता दिलाएको खुलेको थियो । अनुसन्धानपछि घटनामा संलग्न देखिएका लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगर र सर्जमिन बस्ने पोखरा १८ कै बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

झुटो विवरण पेश गरी नागरिकता दिलाएको विषयमा मुछिएका जिल्ला प्रशासन कार्यालय, नागरिकता फाँटका प्रशासकीय अधिकृत ऋषिराम आचार्य, पेस गर्ने नायब सुब्बा डाँशीराम लामिछाने, खरिदार परशुराम पौडेल र रामचन्द्र थापालाई प्रशासनले विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment