Comments Add Comment

नेकपाको समीकरण उथलपुथल : माधवको वरियतामा झलनाथको धावा

प्रचण्डलाई मिलाउँदै कसरी बने ओली शक्तिशाली ?

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समीकरणमा एकाएक उथलपुथल भएको छ ।

बामदेव गौतम उपाध्यक्षमा चयन र ईश्वर पोखरेल स्कुल विभाग प्रमुख भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालको वरियतासमेत हल्लिएको छ ।

झलनाथको माग पूरा होला त ?

शुक्रबार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा झलनाथ खनालको दोस्रो बरियतासम्बन्धी प्रस्ताव विधिवतरुपमा पेश गरेपछि नेता नेपालको वरियता हल्लिएको हो ।

खनालले आफू नेता नेपालभन्दा वरिष्ठ भएकाले दुई अध्यक्षपछिको वरियतामा रहनुपर्ने माग एक वर्षअघि नै बैठकमा राखेका थिए । खनालको यो माग शुक्रबार विधिवत रुपमा प्रवेश भएको र त्यसमाथि गम्भीर छलफल पनि गरिएको सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले बताए ।

वरियतासम्बन्धी खनालको प्रस्तावमाथि थप छलफल गरी अर्को बैठकबाट टुंगो लगाइने उनले बताए । पोखरेलले अनलाइनखबरसँग भने, ‘कमरेड झलनाथ खनाल हाम्रो पार्टीको वैधानिक वरिष्ठ नेता हो । उहाँको सन्दर्भमा विगतमा त्रुटि भएकै हो । उहाँले शुरुदेखि नै त्रुटि सच्याउनुपर्ने कुरा गम्भीरतापूर्वक उठाउनुभयो । अब यो विषय बैठकको एजेण्डा बनेको छ, यस विषयमा आगामी बैठकमा गम्भीर छलफल हुन्छ ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको ९ सदस्यीय सचिवालयमा नेताहरुको वरियता तोक्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डपछि माधवकुमार नेपाललाई राखिएको थियो । खनाललाई तेस्रो वरियतामा राखिएका थिए ।

पार्टी एकीकरण घोषणा हुँदा नेपालमा नरहेका खनाल स्वदेश फर्किएलगत्तै अनलाइनखबरसँगको अन्तर्वार्तामार्फत सचिवालयले तोकेको बरियता अस्वीकार गरेका थिए । आफू तत्कालीन एमालेभित्र ओलीपछिको दोस्रो वरियतामा रहेको र पार्टीको निवर्तमान अध्यक्ष भएकाले आफ्नो वरियता खोस्ने अधिकार कसैलाई नभएको उनले बताएका थिए ।

खनालले आफू दुई अध्यक्षपछिको वरियतामा रहनुपर्ने भन्दै नेपाललाई आफूभन्दा वरिष्ठ मान्न तयार नरहेको प्रस्ताव बैठकमा औपचारिक रुपमा दर्ज गरेका थिए । तत्कालीन अवस्थामा खनालको प्रस्तावमा पछि निर्णय गर्ने भन्दै दुई अध्यक्षले पन्छाउँदै आएकामा शुक्रबार एकाएक सो प्रस्ताव छलफलमा ल्याइनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

माधव नेपाललाई झट्का

शुक्रबारको बैठकमा खनालले आफ्नो मागलाई एजेण्डा बनाउनुपर्ने भन्दै वरियताको कुरा उठाएपछि एकसरो छलफल भएको एक सचिवालय सदस्यले बताए । अध्यक्षद्वयले खनालको कुरालाई अर्को बैठकमा एजेण्डाका रुपमा राख्ने आश्वासन दिएका छन् । अन्य नेताले पनि खनालको कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले भने वरिष्ठता खोज्ने हो भने कम्युनिस्ट आन्दोलनमा को पहिले लाग्यो भन्नेबाटै खोजिनुपर्ने भन्दै आफू खनालभन्दा वरिष्ठ रहेको बताएका थिए ।

नेकपाका एक नेताले दुई अध्यक्षले झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोखरेलका सन्दर्भमा ‘सरप्राइज’ दिएर माधवकुमार नेपाललाई किनारामा पार्न खोजेको टिप्पणी गरेका छन् । यसमा ओली र प्रचण्ड मिलेको उनको दाबी छ । शुक्रबारका सबै प्रस्ताव ओली र प्रचण्ड दुवैले ल्याएका हुन् ।

यो पनि पढ्नुहोस नेकपाका नेताहरु कसले कुन जिम्मेवारी पाए ? (सूचीसहित)

नेकपाकै अर्का एक सचिवालय सदस्यले भने माधव नेपाल भड्किनुपर्ने वा उनलाई दुई अध्यक्षले कर्नरमा पार्ने कुनै कारण नरहेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै ती नेताले भने, ‘दुई अध्यक्ष मिल्नुभएको छ तर, यसको अर्थ कुनै अर्को नेतालाई कर्नरमा पार्ने भन्दा पनि सबैलाई सँगै लिएर अघि बढ्ने उहाँहरुको स्पिरिट हो ।’

दुई अध्यक्षबीच अविश्वास छ र उनीहरु अलग अलग ढंगले एकले अर्कोलाई कमजोर पार्न खोजिरहेका छन् भन्ने प्रचार पछिल्लो निर्णयले खण्डित गरेको प्रचण्ड निकट एक नेताले बताए ।

दुई अध्यक्ष मिल्दैमा माधव नेपाल कर्नरमा पारिन्छन् भन्ने प्रचार पनि तिनै व्यक्तिले गर्न थालेको उनको दाबी छ ।

बामदेव गौतम ओलीसँग पुनः नजिकिएको र अध्यक्ष प्रचण्ड पनि ओलीसँग कुनै न कुनै सम्झौतामा गएर वरियता विवादलाई बैठकमा छलफल गराएको आशंका नेता नेपाल पक्षको छ । झलनाथ खनाललाई समेत दोस्रो वरियतामा ल्याएर प्रधानमन्त्री ओलीले नेपाललाई एक्ल्याउन खोजेको आशंकासमेत नेपाल निकट नेताहरुले गरेका छन् ।

पार्टी एकतापछि खासगरी बामदेव गौतम, ओलीसँग टाढिएपछि पूर्वएमालेभित्र बलियो बनेका र सिंगो नेकपामै निर्णायक अवस्थामा पुगेका नेता नेपाललाई शुक्रबारको सचिवालय बैठकले झड्का दिएको छ ।

नेकपामा उसै पनि ओली, प्रचण्ड र माधव नेपालबीच कुनै दुई मिल्नासाथ अर्को पक्ष कमजोर बन्ने गणित छ । त्यसमाथि पनि दुई अध्यक्षमध्ये एउटा असहमत हुँदा नेकपा अनिर्णयको बन्दी हुने अवस्था रहेकाले पनि माधव नेपालभन्दा ओली र प्रचण्ड नै निर्णय हुन् । जसरी विष्णु पौडेललाई महासचिव बनाउन ओली र प्रचण्ड सहमत भएका थिए बामदेवलाई उपाध्यक्ष बनाउन पनि उनीहरु दुवै सहमत भएरै यो प्रस्ताव आएको हो ।

उपेक्षा गरिने पात्र होइनन् नेपाल

ओली र प्रचण्डले माधव नेपाललाई उपेक्षा गरेर जाने अवस्था भने पार्टीभित्रको सन्तुलनले दिँदैन । नेपालसँग आफ्नो पूर्वएमालेको गुट छँदैछ, पूर्वमाओवादीका नेताहरु पनि नियमित सम्वादमा छन् । सन्तुलनकारी नेताका रुपमा उनलाई पूर्वमाओवादी नेताहरुले मान्ने गरेका छन् ।

पूर्व माओवादी बरिष्ठ नेताहरु पनि माधव नेपाललाई कर्नरमा पारेर पार्टी अघि बढाउन खोजिए दुर्घटना हुन्छ भन्ने लाइनमा छन् । ओली र प्रचण्ड मिलेपछि निर्णय त गर्न सक्छन् तर, कार्यन्वयनमा माधव नेपालको साथ चाहिन्छ भन्ने विश्लेषण नेकपाका एकथरि नेताहरुको छ ।

प्रदेश कमिटी पदाधिकारी चयनमा माधवकुमार नेपालको लिखित असहमति कायमै छ । त्यसयता सबै निर्णय उनीसँगको सहमतिमै हुने गरेका छन् । बामदेवलाई उपाध्यक्ष बनाउने लगायत शुक्रबारका सबै निर्णयमा माधव नेपालले सहमति जनाएको तर, बरियतासम्बन्धी झलनाथको प्रस्तावमा मात्र उनको विमति रहेको स्रोतले जनाएको छ ।

माधव नेपाल सहज र सजिला कम्युनिस्ट नेता हुन् । ओली र प्रचण्डले छलफलमा सहभागी गराउँदा उनी लचिलो ढंगले प्रस्तुत हुने गरेका छन् । तर, आफूलाई वाइपास गरिएको महशुस भएपछि उनी कडा रुपमा आउँछन् । आफ्नो वरियता खोस्ने ढंगले आएमा उनी प्रतिक्रियात्मक हुने सम्भावना रहेको नेताहरुको आंकलन छ ।

बामदेवको बल

नेकपा बैठकको अर्को सरप्राइज बामदेव गौतमको उपाध्यक्षमा इन्ट्री हो । गौतम संगठन विभाग प्रमुख बन्ने निश्चित भए पनि उपाध्यक्ष बन्ने कसैले कल्पना गरेका थिएनन् । तर, ओली र प्रचण्ड दुवैले सल्लाह गरेर गौतमलाई नेकपाको उपाध्यक्षमा प्रस्ताव गरे ।

यो प्रस्ताव स्थायी कमिटीमा निर्णयमा लागि पेश गरिनेछ । शुक्रवारको बैठकमा प्रायः सबै नेताले बामदेवको प्रशंसा गरेका थिए । सचिवालय सदस्य ईश्वर पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै बामदेव हिजो एमालेमा वरिष्ठ उपाध्यक्ष रहेकाले गौतम जतिको सिनियर नेतालाई पार्टीको उपाध्यक्ष बनाउनुपर्छ भन्नेमा दुवै अध्यक्ष एकमत भएपछि यो प्रस्ताव आएको बताए ।

नेकपामा बामदेव पुनः शक्तिशाली बनेका छन् । उनले एकैसाथ तीन महत्वपूर्ण जिम्मेवारी पाइसकेका छन् भने अर्को एउटा जिम्मेवारीको नजिक छन् । गौतमले पार्टीको उपाध्यक्ष, संगठन विभाग प्रमुख र किसान महासंघको अध्यक्ष जस्ता ठूला जिम्मेवारी पाएका छन् । अब कास्की २ मा उपचुनावमा उम्मेदवार बनाइए भने आश्चर्य हुने छैन ।

ओलीसँग जुधेर भन्दा मिलेरै जाँदा आफ्नो राजनीति सुरक्षित हुने बुझेका गौतमले अन्तिम घडीमा आएर माधव नेपाललाई धोका दिएको चर्चा पनि नेकपामा चलेको छ । गौतमले पूर्वएमालेभित्र ओलीपछिको नेता बन्ने बाटो खोलेका छन् । उनी ओलीपछिको नेता बन्दा योगेश भट्टराईलगायतका युवा नेताहरुलाई समेत नैतिक दबाव पर्ने दावी गौतम निकट नेताहरुको छ ।

ईश्वरको इन्ट्री

नेकपाको स्कूल विभाग पार्टी बाहिरसमेत चर्चित बन्यो । पूर्वएमाले र पूर्वमाओवादी कसले यो विभाग लिने भन्ने टुंगो नलाग्दै नारायणकाजी र ईश्वर पोखरेलको दावीका कारण प्रतिष्ठाको विषय बन्यो । यही विवादका कारण कार्य विभाजन समेत एक महिना लम्बियो ।

शुक्रबारको बैठकमा भने फरक दृश्य देखियो । बैठकमा श्रेष्ठ र पोखरेल दुवैजनाले स्कूल विभागको एजेण्डा पहिलोपटक बैठकमा आएको भन्दै यसमा आफूहरुबीच कुनै विवाद नरहेको बताएका थिए । दुई अध्यक्षले ल्याउने प्रस्ताव आफूहरुलाई मान्य हुने दुवै नेताले बताएको एक नेताले जानकारी दिए ।

श्रेष्ठ र पोखरेलले जिम्मा दिएपछि दुवै अध्यक्षबीच केहीबेर अलग्गै छलफल भएको थियो । त्यसपछि स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल र प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठको नाम प्रस्तुत भएको थियो । बाहिर प्रचार गरिएजस्तो बैठकमा स्कूल विभागका लागि दुवै नेताबीच कुनै मनमुटाब नदेखिएको ती सदस्यले बताए ।

पूर्वएमालेभित्रै पनि ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुख बनाउन ओलीले झलनाथ र बामदेवको साथ लिएको स्रोतले जनाएको छ । यसबीचमा प्रचण्डले पनि ईश्वर पोखरेलसँग अलग्गै छलफल गरेका थिए । पोखरेल नै स्कूल विभाग प्रमुख बन्दैछन् भन्ने प्रचण्ड निकट नेताहरुले अनुमान गरिसकेका थिए ।

स्कूल विभाग प्रमुखमा दावी गरेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई प्रचण्डले ईश्वर पोखरेलको उपप्रमुख बनाएका छन् । यसबीचमा पोखरेल र पौडेलबीच लामो कुराकानी भइसकेको थियो । पोखरेल निकट केन्द्रीय सदस्य सूर्य थापा प्रचार विभागको उपप्रमुख बन्नुले नेकपामा शक्ति सन्तुलन फेरिएको पुष्टि गर्छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र माओवादी जनयुद्धको विरुद्धमा खुलेरै सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा छाएका थापालाई कारवाही गर्न राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटासहितका नेताहरुले माग गरिरहेका बेला थापा नारायणकाजी प्रमुख रहेको महत्वपूर्ण विभागको उपप्रमुख बन्नु अर्थपूर्ण छ ।

प्रचण्ड आश्वस्त ?

शुक्रबारको नेकपा केन्द्रीय सचिवालयको बैठकबाट पार्टीभित्र ओली थप बलियो बनेका छन् । उनले प्रचण्डलाई समेत कुनै न कुनै विन्दूमा आश्वस्त बनाएर आफू अनुकुल निर्णय गराएको बुझिन्छ । अधिकांश निर्णयहरु ओलीले आफू अनुकुल गराउन सफल भएका छन् ।

प्रचण्ड नेकपाको आगामी एकता महाधिवेशनबाट पार्टीको अध्यक्ष बन्न चाहान्छन् । अध्यक्ष बन्ने शर्तमा उनी ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री मान्न तयार छन् । ओलीले प्रचण्डलाई एकता महाधिवेशनपछिको अध्यक्ष बनाउने बचन दिएर आफू निकट नेताहरुको व्यवस्थापन गर्न चाहेको तर्कसमेत नेकपा नेताहरुले गर्न थालेका छन् ।

प्रचण्डनिकट नेताहरु भने अहिले नै महाधिवेशनको कुरा गर्नु धेरै हतारो हुने तर्क गर्छन् । पार्टी एकताका सबै कामहरु टुंगो लगाउने हदसम्म ओलीसँगै सम्झौता गरेर जानुको विकल्प प्रचण्डसँग नरहेको ती नेताको भनाइ छ ।

तर, माधव नेपाललगायतका नेताहरुलाई पनि सम्मान गर्दै निर्णय प्रक्रियामा सामेल गर्नुपर्ने पक्षमा प्रचण्ड रहेको दाबी उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment