Comments Add Comment

सुनसरी-मोरङका १०७ उद्योग बन्द, ३० हजार श्रमिकको रोजगारी गुम्यो

सरकारले उद्योगीको माग सुनेन, जग्गाको भाउ आकाशियो

१ भदौ, बिराटनगर । सरकारले एक वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरिरहेका बेला सुनसरी-मोरङ औद्योगिक कोरिडोरका सयभन्दा बढी उद्योग बन्द हुँदा हजारौं श्रमिकको रोजगारी गुमेको छ । प्रमुख औद्योगिक शहर बिराटनगर, दुहबी र खनारमा सञ्चालित उद्योगहरु सरकारको बेवास्ताले गर्दा घरासायी हुन थालेको उद्योगीहरुको गुनासो छ ।

सुनसरी-मोरङ औद्योगिक करिडोर आसपासका क्षेत्रमा साना-ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन् । यीमध्ये १५० वटा ठूला र मझौला उद्योग खुलेकोमा अहिले १०७ वटा त्यस्ता उद्योग बन्द भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अनलाइनखबरलाई बताए ।
बन्द भएका यी १०७ उद्योगमा २३ अर्बको लगानी थियो भने ३० हजार श्रमिकले रोजगारी पाएका थिए ।

घिमिरेका अनुसार अशोक टेक्सटायल, प्रभात टेक्सटायल लगायत आधा दर्जन भन्दा बढी टेक्सटायल उद्योगहरु बन्द भएका छन् । त्यसैगरी दुहबीको बंशल इण्डष्ट्रिज (पाइप उद्योग) बन्द भएको छ । आइरन उद्योग, कर्कट पाता र पाइप उद्योगहरु पनि बन्द भएका छन् ।

अम्बे, सांग्रिला इन्टरनेशनल, अमी, जेडी, इजी वेयर, फेसन फेबि्रक, जस्ता तयारी पोशाकका ठूला उद्योग पनि यसबीचमा बन्द भएका छन् । ठूलो स्वदेशी लगानीका पशुपति सावन, अन्नपूर्ण सप, नेशनल पाइप लगायतका दर्जन बढी नाम चलेका उद्योग बन्द भएका छन् ।

मोरङ-सुनसरीमा ११ वटा ठूला जुट उद्योगहरु सञ्चालनमा थिए । अहिले ५ वटा मात्रै सञ्चालनमा रहेको उद्योगी राजकुमार गोल्छा बताउँछन् ।

विदेशी लगानीका बंशल नेपाल, क्रिस्टेन, सूर्य नेपाल लगायत करिव एक दर्जन उद्योग बन्द भएका छन् । वंशल र क्रिस्टेनले कर्कट पाता एवं जीआइपी पाइप उत्पादन गरी भारत लगायतका मुलुकमा तयारी वस्तु निर्यात गर्दै आएका थिए । सूर्य नेपालबाट उत्पादित तयारी वस्तु विभिन्न मुलुकमा निर्यात हुँदै आएको थियो ।

यस करिडोरमा सञ्चालित उद्योगमध्ये १९ प्रतिशतले उत्पादित वस्तुहरु विदेश निर्यात गर्दै आएका छन् ।

रोजगारी पनि गुम्दै

उद्योग विभागको तथ्यांक अनुसार सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगहरुमा ५ अर्ब रुपैयाँको लगानी छ । तर, पछिल्लो समय सयभन्दा बढी उद्योग बन्द भएपछि करिब ३० हजार मजदुरले रोजगारी गुमाएका छन् ।

उद्योग संगठन मोरङको तथ्यांकअनुसार सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालन भएका उद्योगमा अहिले ५० हजार मजदुरले रोजगारी पाएका छन् । दुई बर्षअघि यस क्षेत्रमा ८० हजार मजदुर कार्यरत थिए ।

मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योगहरुले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कटपाता, प्लाष्टिकका सामान, सिमेण्ट, दाना, बिजुलीको तार, जीआई पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् ।

राजनीति फेरियो, उद्योगको अवस्था फेरिएन

उद्योगीहरुका अनुसार ०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकमा देखिएको अस्थिरता, सशस्त्र द्वन्द्व, बन्द-हड्ताल, श्रमिक आन्दोलन र लोडसेडिङ जस्ता कारण यी उद्योगहरु सदाका लागि बन्द भएका हुन् ।

विगतमा देखा परेको राजनीतिक अस्थिरता अहिले छैन । देशमा संविधान बनेपछि तीन तहमा सरकारहरु बनेका छन् । तैपनि देशमा उद्योगधन्दाहरु फस्टाउने खालको सरकारी नीति बन्न नसकेको उद्योगी व्यवसायीहरुको गुनासो छ ।

‘वर्तमान अवस्थामा सरकारको आर्थिक नीति उद्योगलाई दोहन गर्न मात्र देखिन्छ,’ अध्यक्ष घिमिरेले भने, ‘उद्योगको संरक्षण नहुने र संघीयताका नाममा विभिन्नखालको करको चपेटामा उद्योगी व्यवसायी मारमा परिरहेका छन् ।’

अहिलेको अवस्थामा नयाँ लगानीका उद्योगहरु खोल्ने कल्पना पनि गर्न नसकिने बताउँदै घिमिरे जेनतेन सञ्चालनमा रहेका उद्योगहरु पनि समस्याग्रस्त अवस्थामा रहेको बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतलेे नयाँ उद्योग स्थापनाका लागि बाहृय क्षेत्रबाट लगानीकर्ता आउने वातावरण नहुँदा ठूला उद्योग स्थापनामा कठिनाइ भएको बताए ।

उद्योगीको माग सरकारले सुनेन, जग्गाको भाउ चुलियो

सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीले दुई दशकदेखि औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै आएका छन् ।

लामो समयदेखि यहाँका उद्योगीले विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएको अध्यक्ष मुन्दडाले अनलाइनखबरलाई बताए ।

सरकारले विशेष आर्थिक क्षेत्र स्थापना गरे जग्गा खरिद गर्ने पुँजी उद्योगमा लगानी हुने उनको भनाइ छ । सुनसरी-मोरङका उद्योगीहरुले सरकारको स्वामित्वमा रहेको सुनसरीको अमरडुवास्थित ६५० बिघा जग्गामा औद्योगिक क्षेत्र घोषणा गर्न माग राख्दै आएका छन् ।

‘पूर्वका उद्योगी-व्यवसायीले दुई दशकदेखि सरकारसँग एउटै माग राखेका छन्’, अध्यक्ष मुन्दडा भन्छन्, ‘तर सरकारलेेे हाम्रो मागलाई अहिलेसम्म सम्बोधन गरेन ।’

मुन्दडा भन्छन्- सरकारले अमरडुवाको जग्गामा औद्योगिक क्षेत्र घोषणा गरेर पानी, बिजुली र सुरक्षा दिन्छ भने व्यवसायीहरु त्यहाँ उद्योग खोल्न लागि तयार छन् ।’

मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मूल्यवृद्धिका कारण लगानीकर्ताले उद्योग स्थापना गर्न नसकेको उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राउत बताउँछन् ।

पछिल्लो समय प्रदेश-१ को राजधानी बिराटनगर भएसँगै कोसी राजमार्गको करिडोर क्षेत्र विराटनगरको प्रवेशद्वार उत्तर इटहरीसम्मको क्षेत्रमा जग्गाको मूल्य अत्यधिक बढेको व्यवसायीहरुको गुनासो छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगर-इटहरी सडक खण्ड छेउछाउमा जग्गा खाली नभएको बताए । भएको जग्गा पनि अत्यन्तै महंगो भएको उनी बताउँछन् ।

‘अधिकांश उद्योग यही क्षेत्रमा सञ्चालनमा छन् । कोसी राजमार्ग छेउछाउ प्रतिकठ्ठा जग्गाको मूल्य कम्तिमा ३०/४० लाख रुपैयाँ पर्छ,’ मुन्दडाले भने,’एउटा उद्योग स्थापनाका लागि ४/५ बिघा जग्गा आवश्यक पर्छ । जग्गा खरीदमै न्यूनतम १०/११ करोड खर्चिनुपर्ने अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment