Comments Add Comment

सहकुलपतिको अधिकार ऐनमै किटान गर्न सांसदहरुको माग

१ भदौ, काठमाडौं । सांसदहरुले विश्वविद्यालयका सहकुलपतिको अधिकार ऐनमै किटान गर्नुपर्ने बताएका छन् ।

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि दफाबार छलफलका क्रममा राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सांसदहरुले कुलपतिको अनुपस्थितिमा सहउपकुलपतिले अधिकार प्रयोग गर्न सक्ने ऐनमै व्यवस्था गर्न सुझाव दिएका हुन् ।

नेपालमा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था छ ।

विश्वविद्यालय वा मातहतका आङ्गिक र सामुदायिक शैक्षिक संस्थामा दलित, अपाङ्गता र विपन्न वर्गका छोराछोरीलाई उच्च शिक्षामा निःशुल्क हुने गरी कानून तर्जुमा गर्ने समितिमा मतैक्यता छ । उक्त विधेयकको प्रतिवेदनमाथिको दफावार छलफलमा सांसदहरुले विश्व विद्यालयमा भर्ना भएका दलित, अपाङ्गता भएका र आर्थिक रुपले विपन्न छात्रछात्राका लागि उच्च शिक्षा निःशुल्क गर्ने विषय ऐनमै उल्लेख गर्न सुझाव दिएका थिए ।

विपन्न भन्नाले सरकारद्वारा तोकिएको आयभन्दा न्यून आय भएका व्यक्तिलाई जनाउने उल्लेख गरिएको छ । दलित विद्यार्थीका लागि प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा एक पटक भर्नाका लागि तोकिएको सिट सुरक्षित गरिने व्यवस्था विधेयकमा गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिका छोराछोरी तथा अपाङ्गता भएका छात्रछात्रालाई उच्च शिक्षा निःशुल्क हुने व्यवस्था गर्न पनि बैठकमा सहमति भएको छ । सरकारले जेहेन्दार, विपन्न र आरक्षित कोटा तोकेर छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment