Comments Add Comment

एनआरएन नेतृत्व हत्याउन पन्त र आचार्यको होडबाजी

२ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका आकांक्षी वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले आफ्नो सक्रियतालाई तीव्र पारेका छन् ।

राष्ट्रिय समन्वय परिषदहरुका अधिबेशनहरुमा सहभागी बन्दै उपाध्यक्षद्वयले आफ्नो पक्षलाई बलियो पार्ने प्रयास थालेका हुन् । केन्द्रीय अध्यक्ष पदमा दाबी गर्ने बताउँदै आए पनि हालसम्म दुबैले औपचारिक रुपमा उम्मेदवारी घोषणासभाको आयोजना भने गरेका छैनन् ।

आउँदो अक्टोबरमा काठमाडौँमा हुन गइरहेको संघको अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा दुई पटकसम्म उपाध्यक्ष सम्हालेका पन्त हाल युरोप भम्रणमा छन् ।
पन्तले यसअघि ३० वटा मुलुकमा पुगेर संसारभरका गैरआवासीय नेपालीहरुसँग छलफल गरिसकेको बताएका छन् ।

युरोपका केही मुलुकमा गैरआवासीय नेपालीसँग छलफल सकेर अर्का उपाध्यक्ष आचार्य संयुक्त राज्य अमेरिकाको न्यूयोर्क र डालससम्म पुगे । उनले शनिबार एनआरएन क्यानडाको साधारणसभालाई टोरन्टोमा पनि सम्बोधन गरे ।

पन्त र आचार्य के भन्छन् ?

एनआरएनए बेल्जियमको सातौं अधिवेशनलाई आइतबार सम्वोधन गर्दै केन्द्रीय उपाध्यक्ष पन्तले खाडी मुलुकहरुमा रहेका श्रमिकको पक्षमा बोले । उनले देशको अर्थतन्त्रको ३५ प्रतिशत रेमिटेन्सले धानिएको बताउँदै सरकारले पनि श्रमिकको हकहितको पक्षमा तत्काल निर्णय लिनुपर्नेमा जोड दिए ।

‘एक डलर पठाउँदा नेपालका बैंकहरुले ३५ पैसा नाफा राख्छन् । १० प्रतिशत बैंकले मात्र किन पाउनुपर्‍यो ? त्यसको २ प्रतिशत मात्रै श्रमिक कल्याणकारी कोषमा राखिदिने हो भने अर्बाैं रकम जम्मा हुन्छ र हाम्रा श्रमिक साथीहरु लाभान्वित हुन्छन्’ पन्त भन्छन्, ‘यसबारे हामी राज्यसँग थप कुराकानी गर्न चाहान्छाैं ।’

उनले संघको अबको अभियान खाडी मुलुकका श्रमिक र नेपालको समृद्धिमा अघि बढ्ने बताए।

अर्का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीको नागरिकतासँगै पासपोर्ट दिने व्यवस्था पनि हुनुपर्ने बताएका छन् । शनिबार एनआरएन क्यानडाको १२ औं साधारणसभालाई सम्बोधन गर्दै आचार्यले संसदको राज्य व्यवस्था समितिमा भएको छलफलपछि आशंका उब्जिएको बताउँदै सबै साथीहरुलाई कानून नबन्दासम्म प्रयास जारी राख्न, चनाखो रहन र लविङ गरिरहन आग्रह गरे ।

‘गैरआवासीय नेपाली नागरिकता ऐनमा उल्लेखित सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ, त्यस्तै नेपाली नागरिकका रुपमा हामीसँग रहेको सम्पत्ती गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन जरुरी छ’ आचार्य भन्छन्, ‘भूतपूर्व गोर्खाहरुका लागि पनि विशेष व्यवस्था हुनुपर्छ ।’

आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुबाट पनि निवेदन दिन सकिने व्यवस्था मिलाउनुपर्ने, र तीन पुस्तालाई मात्रै दिने प्रावधान खारेज गर्नुपर्ने बताए । साथै भाषाको अनिवार्यता हटाउन आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment