Comments Add Comment

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सिफारिस

२ भदौ, काठमाडौं । दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउन सिफारिस गरेको छ ।

साउन २९ गते गठित कार्यादलले सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाललाई अध्ययन प्रतिवेदन पेश गर्दै प्रशोधित दूधको नयाँ मूल्य सिफारिस गरेको हो ।

कार्यदलका संयोजक एवं दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले दूधको मूल्य बढाउन सिफारिस गरिएको बताए पनि मूल्य भने खुलाएनन् । बढ्ने मूल्यको ६९ प्रतिशत दुग्ध उत्पादक किसानले तथा ३१ प्रतिशत व्यवसायीले पाउने हुने गरी मूल्य सिफारिस गरेको संयोजक पन्तले बताए ।

मन्त्रालय स्रोतका अनुसार कार्यदललले प्रशोधित दूधको मूल्य मौसमका आधारमा दुईथरि कायम गर्न सकिने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । कम दूध उत्पादन हुने मौसम (लिन सिजन) मा हाल कायम प्रतिलिटर मूल्यमा १४.२९ प्रतिशत आर्थात १० रुपैयाँ बढाउन सकिने र अत्यधिक उत्पादन हुने मौसम (फ्लस सिजन) मा ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा थप्न कार्यदलले मन्त्रालयलाई सिफारिस गरेको छ ।

कार्यदलको सिफारिस हुबहु कार्यन्वयन भएको खण्डमा अब अत्यधिक उत्पादन हुने मौसम असोजदेखि फागुनसम्म दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ कायम हनेछ भने चैतदेखि भदौसम्मको समय प्रतिलिटर ९० रुपैयाँ पुग्नेछ ।

मन्त्रालयले किसान र उपभोक्ताको हित, दूग्ध उत्पादन समय, गुणस्तर, उत्पादन लागत, अन्तर्राष्ट्रिय बजार, मूल्य वृद्धिको प्रभाव, दूध उत्पादनमा मौसमी प्रभावजस्ता विषय अध्ययन गरेर मूल्य सिफारिस गर्ने जिम्मेवारी तोकेको थियो ।

दूध उत्पादक किसानले खरिद गर्ने दाना, ढुटो, चोकरजस्ता पदार्थको मूल्य बढेको, मुद्रा स्फ्रीतिदर र बजार मूल्य बढेको, सामाजिक सुरक्षा कोष जस्ता कानुनी प्रक्रियाले ज्यालादर बढेका कारण मूल्य बढाउन जरुरी रहेको कार्यदलले औल्याएको छ । दूधको व्यवस्थापन र कामदारको मासिक पारिश्रमिक वृद्धि भएको भन्दै लागत खर्चअनुसार मूल्यवृद्धि गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले दूग्ध विकास संस्थालाई मूल्य बढाउन निर्देशन दिएपछि संस्थानको बोर्ड बैठकले मूल्यबारे निर्णय लिने कार्यदलका संयोजक पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment