Comments Add Comment

सडक बिस्तारका लागि चक्रपथका २ हजार रुख काटिँदै

'ट्री ट्रान्सप्लान्टर मेसिन' किन आएन ?

४ भदौ, काठमाडौं । सडक विभागले चक्रपथको कलंकी-बालाजु-महाराजगञ्ज सडक खण्ड विस्तार अघि बढाउन रुख कटानको तयारी गरेको छ । सडक सीमामा पर्ने रुखहरु अर्को साताबाट काट्न सुरु गरिँदैछ ।

चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिजालका अनुसार यो खण्डमा काट्नुपर्ने २ हजार ५७ वटा रुखहरु पहिचान भएका छन् ।

‘साइट क्लियर गर्न लागिएको हो,’ उनले भने, ‘बिजुलीको पोल र खानेपानीको पाइप पनि सार्दैछौं ।’

२ लेनको सडकलाई ८ लेनको बनाउन आगामी आर्थिक वर्षबाट निर्माण थाल्ने तयारी छ । खानेपानी, ढल र विजुलीको पोल काम सुरु हुनुअघि नै सार्ने रिजाल बताउँछन् ।
‘पूर्ण रुपमा साइट क्लियर भएपछि मात्रै चीनले ठेकदार छनोट गरेर पठाउँछ,’ उनले भने ।

चक्रपथ विस्तार आयोजनाका लागि आगामी वर्षको बजेटमार्फत १ अर्ब ८१ करोड रुपैयाँ छुट्याइएको छ ।

कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड चीन सरकारले बनाएर केही समयअघि नेपाललाई हस्तान्तरण गरेको थियो । तर, प्राविधिक गल्तिका कारण सुधारका लागि धेरै ठाउँ भत्काउनुपर्ने अवस्था आएको छ । चक्रपथको बाँकी खण्डमा भने यो गल्ती नदोहोर्‍याउने विभागका अधिकारीहरु बताउँछन् ।

अब चक्रपथको बाँकी १७ किलोमिटर सडकमा मेडियन अर्थात् दुई सडकको बीचमा लेन छुट्याउने भाग राखिनेछ भने अन्य आवश्यक पूर्वाधारहरु पनि राखिनेछन् । कुल २७.२ किलोमिटरमध्ये कलंकी-महाराजगञ्ज खण्ड ८.२ किमि लम्बाइको छ । यही खण्ड विस्तारका क्रममा सडकको मध्यभागबाट ३१/३१ मिटरमा पर्ने रुखहरु काट्न अहिले विभागले तयारी अन्तिम चरणमा पुर्‍याएको हो ।

आएन ट्रान्सप्लान्टर मेसिन

यसअघि कोटेश्वर-सातदोबाटो-कलंकी सडकखण्डमा पनि यसैगरी सयौं रुख काटिएका थिए । तर, सडक विस्तार गर्दा रुख रोप्ने कुरालाई ध्यान दिइएन । हाल नेपालमा कुनै विकासका काम गर्दा निर्माणस्थलमा हुर्किएका रुख नकाटी उपाय छैन । नयाँ रुख रोपेर हुर्काउन निकै समय र परिश्रम खर्च हुन्छ ।

यसैलाई ध्यानमा राखेर स्थानीय तहको चुनावअघि काठमाडौं महानगरपालिकाले हुर्किएका रुखहरुलाई पनि चाहेको स्थानमा सार्न सकिने गरी ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन किन्ने निर्णय गरेको थियो । टेन्डर निकालिए पनि जनप्रतिनिधिहरु आएपछि यो प्रक्रियालाई स्थगित भयो । सोही बेला थालिएको प्रक्रियाबाट काठमाडौंमा सडक बढार्ने ब्रुमर आएर काम थालिसक्दा पनि ‘ट्री ट्रान्सप्लान्टर’ किन्न महानगरले चासो दिएको छैन ।

महानगरले २ वटा ट्रान्सप्लान्टर किन्न प्रक्रिया अघि बढाएको थियो । १० देखि २० फिटसम्मका रुख सार्न मिल्ने किसिमको मेसिन ल्याउने योजना थियो ।

‘ट्री ट्रान्सप्लान्टर’ मेसिन विदेशमा खासै नयाँ प्रविधि हैन । नपालमा भने अहिलेसम्म यस्तो प्रविधि भित्रिएको छैन । यस्तो मेसिनले रुखलाई जेरैबाट उखेल्छ । त्यसकै आकारमा अर्को ठाउँ तयार गरिएको खाल्डोमा मेसिनले त्यो रुख लगेर गाडिदिन्छ ।

अहिले विरुवा रोप्दा पैदल यात्रुले निमोठ्ने र बढ्नै नदिने, संरक्षणको अभावमा मर्ने, सवारीले कुल्चिदिने लगायतका समस्या छन् । जसले गर्दा काठमाडौंमा हरियाली प्रवर्द्धनका लागि खासै काम नै हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment