Comments Add Comment

नलसिंगाड आयोजनाबारे उर्जामन्त्री र जापानी राजदूतबीच छलफल

४ भदौ, काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंगाड जलविद्युत् परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा छलफल भयो ।

उनले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखि नलगाडसम्म जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागी जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसंग आग्रह गरे ।

भेटमा जापानी राजदूतले नलसिंगाड परियोजना जाइकाले पिपिपी मोडलमा अध्ययन गरिरहेको जानकारी दिए । उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिँदै सो क्रममा दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए ।

जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगनीका लागी राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागी आफूले पहल गर्ने बताए ।

राजदूत साइगाले भारत र वङगलादेशसँग सहमति भएको क्रस बोर्डर प्रसारणलाइनबारे समेत चासो व्यक्त गरे । जवाफमा मन्त्री पुनले भारतसँग क्रस बोर्डर ब्यापारको विषयमा राम्रो वातावरण वनेको र गत वर्ष मात्र ७ करोड र गत साउनमा नै २५ करोडको विजुली भारतमा निर्यात भएको जानकारी दिए ।

उनले वङगलादेशसँग पनि डेडिकेटेड लाइन र भारत हुँदै वङगलादेशसँग पनि विद्युत व्यापार गर्ने विषयमा सहमति भएको भन्दै लगानीको लागी वातावरण बनाईदिन आग्रह गरे ।

नलसिंगाड परियोजना पिपिपी मोडलमा बनाउने गरी हाल जापानले अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापानी विकास नियोग जाइकाको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ ।

जापान भ्रमणकै क्रममा उनले आफ्ना समकक्षीसँग समेत उक्त परियोजनाका विषयमा छलफल गर्ने तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment