Comments Add Comment

नेकपा काठमाडौंले भन्यो : चितवनको प्रदर्शन गणतन्त्र मास्ने हर्कत

४ भदौ, काठमाडौं । चितवनमा भएको पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर सत्तारुढ नेकपाको काठमाडौं जिल्ला कमिटीले बुधबार विज्ञप्ति जारी गरेको छ । नेकपा काठमाडौंका अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माद्वारा संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा पुडासैनी मृत्यु प्रकरणपछि भइरहेको प्रदर्शन गणतन्त्रलाई कमजोर पारेर परिवर्तन उल्ट्याउनका लागि दक्षिणपन्थीहरुबाट आयोजना गरिएको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पुनरुत्थानवादी तत्व लगायतका कुत्सित मनसाय परिपूर्ति गर्न घटनालाई अनावश्यकरुपमा उछाल्ने, अराजकता सिर्जना गर्ने र समग्र परिवर्तन माथि धावा बोल्दै नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै कमजोर बनाई परिवर्तन उल्ट्याउने खेल हो ।’

नेकपाले अगाडि भनेको छ, ‘कथित विरोध प्रदर्शन धमिलो पानीमा माछा मार्ने प्रतिक्रियावादी र घोर दक्षिणपंथी गतिविधिबाहेक अरु केही पनि होइन ।’

पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन नेकपाले माग गरेको छ ।

‘जिल्ला अदालत चितवनबाट म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेकाले उक्त घटनाको निष्पक्ष छानविन गर्ने वातावरण बनाउनु सबै नागरिकको जिम्मेवारी र कर्तव्य हो’, विज्ञप्तिमा भनिएको छ ।

अहिले भइरहेको प्रदर्शन र सामाजिक सञ्जालमा आउने धारणाले घटनाको निष्पक्ष र स्वतन्त्र अनुसन्धानलाई समेत प्रतिकुल प्रभाव पार्ने भन्दै नेकपा काठमाडौंले त्यस्ताखाले गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment