Comments Add Comment

हाम्रै सिफारिशमा प्रधानमन्त्री सिंगापुर जानुभएको हो : डा. शर्मा

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले जानकारी पाउनुपर्छ : अध्यक्ष डा. श्रेष्ठ

५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिलिप शर्माले मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुर गएको बताएका छन् ।

आफूहरुकै सिफारिसमा प्रधानमन्त्री ओली सिंगापुर गएको उनले बताए ।

बिहीबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला चलेजस्तो जटिल नभएको जिकिर गरे । उनका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुनेछ । प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा. दिव्या सिंहसँगै गएकी छिन् ।

सिंगापुरमा रहँदा प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण गरिने र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार हुने उनले बताए ।

उनकाअनुसार प्रधानमन्त्रीको क्रेटिनन अहिले २ को हाराहारीमा छ । उनले भने, ‘उहाँको मिर्गौला स्थिर छ ।’ सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाइ छ ।

बरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए । एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाइ छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नेपाली जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । उनले भने, ‘नेपाली जनताले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी पाउनुपर्छ ।’

श्रेष्ठले नेपाली नेताहरु विदेश उपचार गर्न जाने पद्धतीको भने विरोध गरे । विदेश उपचारमा जानैपर्ने भएपनि मेडिकल बोर्डलाई जानकारी गराएर जानुपर्ने पद्धतीलाई पनि नेपालका नेताहरुले आत्मसात नगरेकोमा उनको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment