५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, कतारको नयाँ नेतृत्व (२०१९-०२१)का लागि शुक्रबार चुनाव हुने भएको छ ।
दोहास्थित नेपाली दूतावासको सभाहलमा हुने ८औं महाधिवेशनबट नयाँ कार्यसमिति चयन गरिने छ ।
निर्वाचन समितिका अनुसार बिभिन्न १४ पदका लागि हुने चुनावमा यसपटक ६३ जनाले प्रतिस्पर्धा गर्दै छन् ।
सुरुमा ६९ जनाले मनोनयन दर्ता गराएको भए पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । चुनावबाट बिभिन्न पदमा गरी ३६ जना मात्रै निर्वाचित हुनेछन् ।
बिभिन्न ३ वटा पदमा भने ४ जना यसअघि नै निर्बिरोध निर्वाचित भएका छन् । तृतीय उपाध्यक्षमा सरिता भण्डारी (स्याङ्जा), महिला संयोजकमा अम्बिका खत्री (तनहुँ), लेखा समिति सदस्यहरु पुरुषोत्तम लामिछाने (गोरखा) र कविन्द्र कँडेल (धादिङ) निर्बिरोध निर्वाचित भएका हुन् ।
यसपटक ४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसी) सदस्यका लागि ७ जना चुनावी प्रतिस्पर्धामा छन् ।
अध्यक्षका लागि तेज कटुवाल (सुनसरी) र मुक्तदा मुसलमान (कपिलवस्तु)ले उम्मेदवारी दिएका छन् ।
यसैगरी १८ जना सदस्यका लागि मात्रै ३२ जनाको उम्मेदवारी परेको छ । १ जना लेखा समिति संयोजकमा २ जनाको उम्मेदवारी परेको छ ।
एनआरएनए कतारमा ४ हजार १३४ जना परिषद सदस्य छन् ।