Comments Add Comment

मणिमुकुन्द सेन उद्यानभित्र भेटिएको अवैध काठको छानविन नभएपछि विरोध प्रदर्शन

५ भदौ, बुटवल । बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) को चितुवा बस्ने घरमा लुकाएर राखेको अवस्थामा भेटिएको टिक प्रजातिका काठको गोलाईबारे छानविन नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।

अवैध काठबारे सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने भन्दै उपभोक्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । बुटवल सामुदायिक वनभित्र रहेको पर्यटकीयस्थल फूलबारीको चिडियाखानाभित्र ७३ दशमलव १९ क्युफिट टिकको २८ थान गोलिया साउन २२ गते फेला परेको थियो ।

स्थानीय उपभोक्ताले डिभिजन वन कार्यालय रुपन्देहीलाई जानकारी दिएर काठ बरामद भएपनि यसबारे छानविन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकायले बेवास्ता गरेकाले विरोध प्रदर्शन भएको हो ।

उद्यान गेट अगाडि भएको विरोध प्रदर्शनमा सामुदायिक वनका निवर्तमान अध्यक्ष माधव प्रधानले नियामक निकायले छानवीन र कारवाहीमा बेवास्ता गरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संस्थामा उजुरी दिने बताए । समुदायले धेरै दुःख गरेर संरक्षण गरेको वनमा अवैधरुपमा रुख फँडानी र काठ तस्करी हुन थालेको भन्दै उनले अवैध काठ भेटाएर नियामक निकायलाई जिम्मा लगाउँदा पनि कारवाहीमा बेवास्ता गर्नु विडम्वना भएको गुनासो गरे । मान्छे हिँड्ने बाटो नभएको जंगलको छेउमा चितुवा बस्ने घरभित्र कसैलै शंका नै नगर्ने ठाउँमा फेला परेको काठ कसले काटेको हो र किन त्यहाँ राखियो भन्ने खुलेको छैन ।

तर, सामुदायिक वनका निवर्तमान अध्यक्ष प्रधानले चोरी तस्करीका लागि काठ काटेर चिडियाखानामा लुकाएर राखिएको र यसमा जनप्रतिनिधि र फूलबारीका पदाधिकारीको संलग्नता रहेको आरोप लगाए । आफू विधानसम्मत अध्यक्ष हुँदाहुँदै दुई तिहाई वहुमतको दम्भमा नेकपाले हस्तक्षेप गरी जबरजस्ती अर्को समिति बनाएको र वडा अध्यक्षहरुलाई उद्यानको महासचिव र सचिव राखिएको वनका निवर्तमान अध्यक्ष प्रधानको आरोप छ । उनले वनका काठ चोरी तस्करी गर्नकै लागि राजनीतिक हस्तक्षेप गरेर वनमा दुईवटा समिति बनाइएको बताए ।

वडा-१ का अध्यक्ष महेन्द्र लिगल र २ का अध्यक्ष रमेश नेपाल मणिमुकुन्द सेन उद्यान सञ्चालक समितिको क्रमशः सचिव र महासचिव छन् ।

एउटै सामुदायिक वनमा दुई कार्यसमिति

बुटवल सामुदायिक वनमा अहिले दुई वटा कार्यसमिति छन् । निर्वाचनबारे अदालतमा मुद्दा समेत परेको छ ।

ढलेका रुख काट्ने निहुामा सग्ला रुख काटेर काठको तस्करी गरेको आशंका उपभोक्ताहरुले गरेका छन् । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले समेत प्रमाण नभएका काठ फेला परेको स्वीकार गरेको छ ।

डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख इन्द्र पछाईले काठबारे छानविन भइरहेको र छानवीन टुंगिएपछि घटनामा संलग्नलाई कारबाही गरिने बताए । हावाहुरीले रुख ढालेको भन्दै बुटवल सामुदायिक वनले डिभिजन वन कार्यालयबाट रुख काट्ने अनुमति लिएको थियो ।

काठबारे वडाअध्यक्ष र सामुदायिक वनका अध्यक्ष नै बेखबर

डिभिजन वन कार्यालय रुपन्देहीले वैधानिक मानेको बुटवल सामुदायिक वनका अध्यक्ष महेन्द्रकुमार राजभण्डारीले अवैध काठबारे आफूलाई केही जानकारी नभएको बताए ।

बुटवल वडा नम्बर २ का अध्यक्ष तथा मणिमुकुन्द सेन उद्यान बुटवल सञ्चालक समितिका महासचिव समेत रहेका रमेश नेपालले रुख कसले काटेर चिडियाखानामा ल्याएर राखे भन्नेबारे आफूहरु अनभिज्ञ रहेको बताए ।

फूलबारीभित्रै अवैध काठ बरामद हुादा पनि फूलबारी सञ्चालक समिति र बुटवल सामुदायिक वनका पदाधिकारी घटनास्थलमा गएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment