Comments Add Comment

प्रधानमन्त्रीलाई शीघ्र स्वास्थ्य लाभको कामना

५ भदौ, काठमाडौं । देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मृगौलासम्बन्धी एन्टीबडीको मात्रा घटाउनका लागि विहीबार सिंगापुर प्रस्थान गरेका छन् । सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा करिब डेढ हप्ता उपचार गरेपछि नेपाल र्फकने प्रधानमन्त्रीको कार्यसूची छ ।

आवश्यक पर्‍यो भने प्रधानमन्त्रीले सिंगापुरबाटै मन्त्रिपरिषद बैठक डाक्न सक्ने गरी कार्यसम्पादन नियमावली संशोधन गरेर प्रधानमन्त्री ओली सिंगापुर लागेका हुन् । आवश्यक परेको खण्डमा नेकपाको बैठक डाक्न सक्ने अधिकार प्रचण्डलाई पहिलोचोटि हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति के कस्तो भइरहेको छ भन्नेबारे आम जनतामा चासो हुनु स्वाभाविकै हो । मानवीय हिसाबले पनि पक्ष-विपक्षमा रहेका सबैले यस्तो अवस्थामा स्वास्थ्यलाभको कामना गर्नु नेपालीहरुको मौलिक संस्कार पनि हो । यस्तो बेलामा प्रधानमन्त्रीको आफ्नै दल नेकपाका नेताहरुले त झनै आफ्ना नेताको स्व्ाास्थ्यस्थितिबारे चासो र चिन्ता प्रकट गर्नु झनै स्वाभाविक मानवीय संवेदनाको पक्ष हो ।

के भएको छ प्रधानमन्त्रीलाई ?

प्रधानमन्त्री ओलीले १२ वर्ष पहिले ट्रान्सप्लान्ट गरिएको एउटा मृगौलाका भरमा सक्रिय जीवनयापन गरिरहेको आम नेपालीलाई थाहा छ । यही क्रममा गत साउन १८ गते सिंगापुरमा जचाउन गएका प्रधानमन्त्री ९ दिन बसेर साउन २७ गते स्वदेश फर्किएका थिए । र, फेरि ९/१० दिनका लागि विहीबार दोस्रोचोटि सिंगापुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक एवं मृगौला रोग विशेषज्ञ डा. दिव्या सिंहका अनुसार साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिन गएको थियो ।

डा. सिंहले विहीबार सिंगापुर प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा भनिएको छ, ‘एण्टीबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचारविधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नुभएको हो ।’

डा. सिंहले अगाडि भनेकी छिन्, ‘सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मृगौलाको थप परीक्षण र क्ष्मता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्नेछ ।’

चिकित्सकहरुका अनुसार प्रत्यारोपण गरिएको मृगौलाले पूर्ण क्षमतामा काम गर्न सकेन भने रगतमा केही खराबी देखा पर्न सक्छ, जसलाई मेडिकल भाषामा ‘एण्टीबडीको मात्रा बढेको’ भन्ने गरिन्छ ।

यसैवीच विहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको औषधि परिवर्तन गरिएको र त्यसको ‘रियाक्सन’ जाँच्न सिंगापुर जानुपरेको बताएका छन् ।

मन्त्री बास्कोटाले प्रधानमन्त्री डोलीमा चढेर नभई हात हल्लाउँदै सिंगापुर गएकाले उहाँ सिरियस अवस्थामा नरहेको बताएका छन् ।

सूचनामा कञ्जुस्याइँ

गत साउन २७ गते सिंगापुरबाट र्फकँदा प्रधानमन्त्री ओलीले विमानस्थलमा मिडियालाई कुनै प्रतिक्रिया दिएनन् । उनको स्वास्थ्यबारे प्रधानमन्त्रीको सचिवालयले कुनै विज्ञप्ति जारी गरेन ।

स्वदेश फर्केकै दिन प्रधानमन्त्री ओलीले आफू स्वस्थ्य बनेको बताउँदै ट्वीट गरे – ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नुहुने सबै दिदीबहिनी-दाजुभाइहरूलाई धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्रीले आफू स्वस्थ्य भएर फर्केको बताए पनि नयाँ औषधि चलाएको र पुनः सिंगापुर जानुपर्ने सूचना सरकारले गोप्य नै राख्यो । अझ प्रधानमन्त्रीको उपचार निजी खर्चमा गरिएको सरकारका प्रवक्ताले सार्वजनिक अभिव्यक्ति दिए । प्रधानमन्त्रीको पुनःउपचार गर्न बाँकी रहेको र मृगौलाको क्षमतामा ह्रास आएको वास्तविकता बारे आम जनतालाई सूचित गराइएन वा गराउन आवश्यक ठानिएन ।

प्रधानमन्त्रीले आफू स्वस्थ भइसकेको जानकारी गराउँदा गराउँदै ज्वरो आएका कारण नेकपा सचिवालय बैठकमा सहभागी हुन नसकेको सूचना आयो । त्यसको भोलिपल्ट गृहजिल्लाका नेता कार्यकर्तासँगको भेटमा प्रधानमन्त्रीले आफूलाई सामान्य ज्वरो आएको र एउटा सिटामोल खाएपछि ठीक भएको बताए । डाक्टरले नङदेखि लिएर शरीरका जम्मै अंग जाँचेको र १५/२० वर्ष केही नहुने बताएको भन्दै प्रधानमन्त्रीले आफू तन्दुरुस्त रहेको देखाउने प्रयास गरे ।

हाल विदेशमा रहेका मिडियाविज्ञ भानुभक्त आचार्यले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी सरकारले सूचना लुकाएको विषयलाई आलोचना गर्दै फेसबुक स्टाटसमा यस्तो लेखेका छन्-

प्रधानमन्त्रीका गफः ‘गतहप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढीऔंलादेखि कान्छीऔंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठीक छ भनेका छन् । अब २०/२५ वर्ष केही हुँदैन भन्छन् । त्यसकारण म बिरामी होइन ।

वास्तविकताः ‘प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए । उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि जान लागेका हुन् ।

नोट- आफ्नो स्वास्थ्यका बारेमा त प्रधानमन्त्रीले देशवासीलाई सही जानकारी दिएनन् । अरु बेला पनि कति सत्य बोल्दा हुन् ? फेकन्युज भनेर अन्त-अन्त कुदेर हुन्छ । बालुवाटार पनि फेक न्युजको स्रोत हो ।

साउन २७ मा सिंगापुरबाट फर्केपछि प्रधानमन्त्री ओलीले यो एकसाताको वीचमा बैठकहरुमा व्यस्त भए । दोस्रोचोटि सिंगापुर जानुपूर्व उनले नेकपाको एकता मैझारो गरे । संसदलाई पनि सम्वोधन गर्न भ्याए । सर्वदलीय बैठक पनि डाके । र, सत्यनिरुपण लगायतका विषयलाई टुंगो लगाउने, नेकपाको बैठकको अख्तियारी प्रचण्डलाई दिने अनि विदेशबाटै क्याबिनेट बैठक राख्न सक्ने लगायतका निर्णयहरु फटाफट गराए ।

यसवीचमा लोकतन्त्रलाई रक्षा गर्न सबै एकजुट हुनुपर्ने सन्देशसमेत दिईवरि उनी विहीबार सिंगापुर लागेका छन् । विहीबार दिउँसो थाई एयरको विमानबाट सिंगापुरका लागि प्रस्थान गरेका प्रधानमन्त्रीका साथमा पत्नी राधिका, निजी चिकित्सक, सुरक्षाकर्मी र सहयोगीहरुसमेत छन् ।

प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म वास्तविकता लुकाउने र जनमानसलाई गुमराहमा राख्ने प्रयास गरेता पनि प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्सा सिंहले सिंगापुरबाटै मिडियामार्फत जनतालाई जानकारी दिइरहने आश्वासन दिएकी छिन् । सिंहको वक्तव्यमा भनिएको छ,’ सिंगापुरमा उहाँको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आम नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अवगत गराउने नै छौं ।

प्रधानमन्त्रीको चिडचिडाहट

पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे चासो राख्नेहरुप्रति रोष व्यक्त गर्ने गरेको पाइएको छ । विहीबारमात्रै सिंगापुर प्रस्थान गर्नुअघि बालुवाटारमा आयोजित नेकपाको बैठकमा माधवकुमार नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्री ओली रिसाएका थिए । तपाईको शुभकामना चाहिँदैन, तपाईले के चाहनुभएको हो, मलाई थाहा छ भन्ने ढंगको छुद्र अभिव्यक्ति प्रधानमन्त्रीले दिएको नेकपा नेताहरु बताउँछन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुधबार आयोजित एक बैठकमा पनि त्यस्तै अभिव्यक्ति दिएका थिए । आफूलाई विरोधीहरुले मरिहालोस् भनेर आरोप लगाएको प्रधानमन्त्रीले सो कार्यक्रममा दाबीसमेत गरे ।

‘मलाई अचम्म लाग्छ, विरोधीहरु कति कमजोर भएछन् भने ऊ बाँचोस् तैपनि मुकाविला गर्छौं भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो भनेर…. मलाई त्यस्ता प्रवृत्तिहरुसँग केही भन्नु छैन । तर, म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदैछु । आएँदो चुनावको पनि सामना गर्न तयार भएर बस्न म त्यस्तो चाहनेहरुलाई भन्न चाहन्छु । मरीगए हुन्थ्यो भन्ने चाहनेलाई । आउँदो चुनाव टफ हुनेछ । अस्थित्व रक्षाको लडाइँमा अहिलेदेखि सुरु गरे हुन्छ । यो मैले किन भनेको भने मरिहालोस् भनेर खुबै प्रचार गरेको हुनाले ।’

प्रधानमन्त्री ओलीले गृहमन्त्रालयको सो कार्यक्रममा अगाडि भने ‘मर्न त मरिन्छ । एक जमानामा, एक समयमा हरेक मान्छे मर्छ । हामी सबै मर्छौं । तर, मैले अस्ति एक ठाउँमा भन्याथें । १५ वर्ष अगाडि बिमारी थिएँ । बिमारी त्यतिबेला थिएँ । अब १५ वर्ष अखडामा सामेल छ । बाँकी १५ वर्षचाहिँ अखडामा हुन्छु म । त्यसकारण पूजा अर्चना प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।’

हुन त कुनै पनि विपक्षीले प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर नकारात्मक टिप्पणी गरेको सुनिएको छैन । त्यस्तो नकारात्मक टिप्पणी सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन । तर, प्रधानमन्त्रीले कसलाई लक्षित गरेर यस्तो छिचरो अभिव्यक्ति दिएका हुन् ? यो अनुमान गर्न अप्ठ्यारो छ ।

विहीबार माधवकुमार नेपालले स्वास्थ्य लाभको कामना गर्दा झनक्क रिसाउनुका पछाडि प्रधानमन्त्री ओलीको संकेत कतै नेकपाभित्रैका नेताहरुसँग त होइन ? यसको जवाफ पनि प्रधानमन्त्रीसँग मात्र छ ।

जे होस्, मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरौं । राज्यले उनको उपचारमा गम्भीरतापूर्वक ख्याल गरोस् र उपचारमा कुनै कमी हुन नदेओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment