Comments Add Comment

प्रदेश २ को नाम : मधेस, जानकी कि मिथिला–भोजपुरा ?

५ भदौ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा ‘मधेस’सहित प्रदेशको चार नाम प्रस्ताव भएको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि दलहरुले फरक फरक प्रस्ताव राखेका हुन् ।

प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव पेश गर्न प्रदेशसभा सचिवालयले बिहीबारसम्म समय दिएको थियो । अन्तिम दिन राजनीतिक दल तथा सांसदहरुले छुट्टाछुट्टै रुपमा प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशको नामलाई लिएर चार वटा प्रस्ताव र राजधानीबारे पाँच वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुसवाहले जानकारी दिए ।

चार प्रस्ताव, चार नाम

प्रदेशसभा सचिवालयमा प्रदेशको नामबारे चार चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता दल (राजपा) ले संयुक्त रुपमै प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जानकी’ र अर्को विपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

कांग्रेसका केही सांसदले प्रदेशको नाम ‘मध्य मधेस’ राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले दर्ता गरेको प्रस्तावको समर्थकमा ओमप्रकाश शर्मा, शंकरप्रसाद चौधरी र अशियादेवी थरुनी छन् ।

स्थायी राजधानी  : चार ठाउँको प्रस्ताव

प्रदेश २ को स्थायी राजधानी जनकपुर बनाउने बिषयमा दलहरु एकमत भएको मानिएको थियो तर, बिहीबार जनकपुरसहित चार ठाउँको प्रस्ताव दर्ता भएको छ ।

सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्व पश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको छ ।

राजपाका प्रमुख सचेतक परमेश्वर साहले दर्ता गराएको प्रस्तावको समर्थकमा समाजवादीकी सांसद सन्चमाया मोक्तान र चमेलीदेवी दास छन् ।

नेकपाले प्रदेशको राजधानी पुरै धनुषा जिल्लालाई बनाउन प्रस्ताव गरेको छ । जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषालाई राजधानी बनाउने उसको प्रस्ताव छ ।

कांग्रेसले स्थायी राजधानी जनकपुर उप–महानगरपालिकाभित्र राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

वीरगञ्जबाट प्रतिनिधत्व गर्ने सांसदहरुले भने पार्टीको निर्णय विपरित छुट्टै प्रस्ताव दर्ता गराएका छन् । वीरगञ्ज महानगरपालिकालाई स्थायी राजधानी बनाउनुपर्ने उनीहरुको प्रस्ताव छ ।

दुई पार्टीका ११ सांसदको फरक मत

प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव पेश गर्ने अन्तिम दिन बिहीबार दुई दलका सांसदहरुले पार्टीको निर्णयविरुद्व प्रस्ताव दर्ता गराएका छन् । सत्तारुढ समाजवादी पार्टीका सात जना र विपक्षी नेपाली कांग्रेसका चार जना सांसद पार्टीको निर्णय विपरीत प्रस्ताव दर्ता गराएका हुन् । प्रस्ताव दर्ता गराउने सांसदहरु वीरगञ्जका हुन् ।

कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेस राख्नुपर्ने प्रस्ताव पेश गरेका छन् । साहको प्रस्तावलाई ओमप्रकाश शर्मा, शंकर प्रसाद चौधरी र अशियादेवी थरुनीले समर्थन जनाएका छन् ।

सांसद साहले नै प्रदेशको राजधानी वीरगंज हुनुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गराएका छन् । जसको समर्थन पनि शर्मा, चौधरी र थरुनीले नै गरेका छन् ।

समाजवादी पार्टीका पर्साका सांसदहरुले राजधानी वीरगञ्ज महानगरपालिकालाई बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । सिंहासन साह कलवारले दर्ता गराएको प्रस्तावमा सांसदहरु प्रल्हाद गिरी गोस्वामी, करिमा बेगम, जन्नत अन्सारी, अन्जु यादव, भीमा यादव, रागिनीदेवी बर्णवालले समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment