Comments Add Comment

सुजललाई राष्ट्रिय टिमको कप्तानी अवसर

६ भदौ, काठमाडौं । मिडफिल्डर सुजल श्रेष्ठले मलेसियाको जोहार दारुलविरुद्ध नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्ने भएका छन् ।

विश्वकप छनोटको दोस्रो राउण्डमा कुवेतसँग खेलअघि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । शुक्रबार राति त्यसतर्फ उड्ने टोलीको अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र राष्ट्रिय खेलकुद परिषद -राखेप) का निमित्त सदस्यसचिव राजेश गुरुङले नेपाली टिमलाई विदाइ गरेका हुन् ।

कप्तानीको जिम्मेवारी सुजललाई दिइएको छ । नियमित कप्तान विराज महर्जनको फिटनेशमा समस्या देखिएपछि टिममा परेनन् । उपकप्तान भरत खवास र किरण चेम्जोङ पनि टिममा छैनन् ।

त्यसैले मुख्य प्रशिक्षक योहान कालिनले सुजललाई कप्तान र विकेश कुथुलाई उपकप्तान बनाएका छन् । पहिलो पटक कप्तानको भूमिका पाएका सुजल आफूलाई दबाव नरहेको सुनाए । भन्छन्, ‘मैदानमा उत्रिने हामी ११ जना नै कप्तान जस्तो लाग्छ । त्यसैले मलाई खासै दबाव छैन ।’

उनले विश्वकप छनोटको लागि लामो समयदेखि तयारी भइरहेको कारण नतिजा सकरात्मक आउने विश्वास व्यक्त गरे । ‘हामीलाई एउटा मैत्रीपूर्ण खेलको आवश्यक थियो । त्यसको लागि मलेसियन क्लबसँग खेल्दैछौं’ उनले भने, ‘यो हाम्रो लागि कमीकमजोरी सुधार गर्ने अवसर हो ।’

मुख्य प्रशिक्षक योहान कालिन पनि मलेसियन क्लबसँगको मैत्रीपूर्ण खेल नेपालका लागि अवसर भएको बताउँछन् ।

एन्फा अध्यक्ष कर्माछिरिङले विश्वकप छनोटमा नेपाली टिमले राम्रो नतिजा ल्याउने दाबी गरे । नेपाली टोलीसँग कुवेत, चाइनिज ताइपे र जोर्डनसँग खेलेको अनुभव रहेको भन्दै उनले भने, ‘हाम्रो लागि भनेको नयाँ प्रतिद्धन्दी हो, अष्ट्रेलिया । सबै खेलाडीलाई देशको इज्जतको लागि खेल्न आग्रह गर्छु ।’

विश्वकप छनोटको दोस्रो राउण्डमा नेपाल, कुबेत, जोर्डन, चाइनिज ताइपे र अष्ट्रेलियासँगै समूह बीमा छ । नेपालले आफ्नो पहिलो अवे खेल कुबेतसँग उसैको भूमिमा भदौ १९ गते खेल्दैछ ।

नेपाली फुटबल टिम

गोलकिपरः विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, रजिन धिमाल, अजित भण्डारी, सरोज दाहाल र दिनेश राजवंशी ।

मिडफिल्डर: सुजल श्रेष्ठ -कप्तान) अञ्जन विष्ट, सुनिल बल, हेमन गुरुङ, विशाल राई, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र रवि पासवान ।

फरवार्ड: विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment