Comments Add Comment

पोखरा १७ ढलान बाटोको पनि पुगेन मापदण्ड

६ भदौ, पोखरा । पोखरा १७ मा बनेको सडक ढलानसमेत मापदण्डविपरीत पाइएको छ । महानगरका इन्जिनियर विक्रम तिमिल्सिनासहितको टोली शुक्रबार उक्त वडाको ढलान बाटो अनुगमनमा पुगेको थियो । अनुगमन टोलीले बाटो फोडेर नाप्दा १ इन्च कम ढलान पाइएको थियो ।

‘हामीले कुनै ठाउँमा ५ मिटर र कुनै ठाउँमा १० मिटर नमुना लिएर नापेका थियौं,’ तिमिल्सिनाले भने, ‘विभिन्न ३ ठाउँको औसत नाप्दा पनि मापदण्ड पुगेन ।’ उनले प्रत्येक १० मिटरको फरकमा ढलान फोडेर मापदण्ड मापन गरिएको जानकारी दिए । बाटो ढलान गर्दा ६ इन्च सोलिङ ४ इन्च ढलान गर्नुपर्ने नियम छ ।

पोखरा महानगरभित्र बनिरहेका ढलान बाटो मापदण्डविपरीत भइरहेको चर्को आलोचनापछि महानगरले अनुगमन थालेको छ ।

अनुगमनका क्रममा सबैजसो ढलान मापदण्डविपरीत पाइएका छन् । मापदण्डविपरीत भए पनि ती बाटोलाई महानगरले कुनै कारबाही भने गरेको छैन । ‘उपभोक्ता आफैं सचेत हुनुपर्ने कुरा हो । उपभोक्ता समितिले योजना लिएर पनि ठेक्कामा दिँदा ढलान मापदण्डविपरीत बन्ने गरेका छन्,’ इन्जिनियर तिमिल्सिनाले भने ।

चालु अवस्थामा रहेका योजना मापदण्ड विपरीत चालु अवस्थामा भइरहेका योजनालाई ‘कम मूल्यांकन’ गरेरमात्रै छोड्ने गरेको छ । मापदण्ड विपरीत भएका योजनालाई स्वीकृति दिँदा गुणस्तरीयतामा कमी आउने र गलत नजिर बस्ने सरोकारवाला बताउँछन् ।

महानगरले गएको आर्थिक वर्षमा बाटो ढलान गर्न १७ करोड ४५ लाख रुपैयाँ खर्चेको थियो । त्यसमध्ये १६ करोड ३४ लाख रुपैयाँ निकासा गरिसकेको छ भने ६६ लाख रुपैयाँ निकासा गर्न बाँकी छ । महानगरले पोहोरयता १ सय ४८ किलोमिटर बाटो ढलान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment