Comments Add Comment

साम्राज्ञीको लोभलाग्दो क्रेज

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज हलमा कस्तो देखिने हो, यो त भदौ १३ गते चलचित्र ‘मारुनी’ रिलिज भएपछि मात्र थाहा हुनेछ । चलचित्रको केन्द्रमा रहेकी नायिकालाई बक्स अफिसमा सफल हुन आवश्यक छ । एकातिर, लामो समयदेखि नेपाली चलचित्र नचलिरहेको अवस्थामा सिंगो चलचित्र क्षेत्रमा नै निराशा छाएको छ । यस्तो अवस्थामा साम्राज्ञीले केही मात्रामा खुशी छर्नेछिन् भन्ने आशा गरिएको छ । तर, यसका लागि उनको स्टारडम र निर्देशक नवल नेपालको निर्देशन चल्नुपर्नेछ ।

नायिका शाह अहिले चलचित्रको टिमसँगै मोफसल दौडमा छन् । आज, नेपालगञ्जमा कन्सर्ट भएसँगै चलचित्रको मोफसल टुर सकिनेछ । यो कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी छन् ।

पछिल्लो समयमा साम्राज्ञीको विवादित बयान र तस्वीरका कारण उनको क्रेज कमजोर पर्न थालेको विश्लेषण पनि सुनिन थालेको छ । तर, मोसफल दौडमा रहेकी साम्राज्ञीलाई फ्यानले दिएको माया भने, गज्जबको छ ।

इटहरीमा ४ घन्टासम्म कुर्ने फ्यान
नायिका शाह र उनको टिमले पहिलो कन्सर्ट पूर्वको इटहरी चोकमा गरेको थियो । इटहरीमा ४ बजे कन्सर्ट सुरु हुने भनिएतापनि ७ बजेमात्र साम्राज्ञी र नायक पुष्प खड्का स्टेज चढेका थिए । तर, साम्राज्ञी आएको थाहा पाएसँगै उनका सयौ बढी फ्यान उनलाई ४ बजेबाट नै पर्खिरहेका थिए । केही यूवती फ्यानहरु साम्राज्ञी बसेको होटलसम्म पुगे ।

धेरैलाई होटलमा सुरक्षागार्डले साम्राज्ञीसम्म पुग्न दिएनन् । तर, उनीहरुको साम्राज्ञीप्रतिको माया लोभलाग्दो थियो । साम्राज्ञीका केही फ्यानले उनलाई भेटेर गिफ्ट थिए । अनलाइनखबरसँग कुरा गर्दै साम्राज्ञीले आफ्ना केही फ्यानको नाम नै सुनाइन् । उनी भन्छिन्–‘फ्यानको यस्तो माया पाउँदा खुशी लाग्छ । तर, फ्यानले भेट्ने वित्तिकै रुँदा भने नरमाइलो लाग्छ ।’

इटहरीमा साम्राज्ञीलाई सुरक्षागार्डले स्टेजसम्म पुर्याउन निकै संघर्ष गर्नुपर्यो । कार्यक्रम सकिएको केही समयसम्म पनि उनलाई फ्यानले कुरिरहेका थिए ।

चितवनमा होटलमै पुगे फ्यान
चितवनको नारायणी किनारमा चलचित्रको प्रचारका लागि कन्सर्ट आयोजना गरियो । काठमाण्डौ बाहिर अत्याधिक गर्मी भएका कारण पनि दर्शक ७ बजेपछि मात्र बढी उपस्थित भएका थिए । चितवनमा पनि साम्राज्ञीलाई भिडबाट जोगाउन प्रहरी र बडीगार्डलाई धौ–धौ नै भयो । स्टेजसम्म पुगेकी साम्राज्ञीसँग तस्वीर खिचाउन स्टेजमै उनका फ्यान चढेका थिए । केहीले त चलचित्रको संवाद समेत बोलेर सुनाए ।

चितवनको कन्सर्ट सकिएपछि उनलाई केही फ्यानले होटलसम्म पिछा गरे । होटलमा आएका फ्यानसँग साम्राज्ञीले तस्वीर खिचाइन् र कुराकानी गरिन् । चलचित्र ‘ड्रिम्स’बाट उदाएकी नायिकाले थोरै चलचित्रमा काम गर्दा नै एकप्रकारको क्रेज बनाएकी छिन् ।

पोखरामा पानीले रोक्यो कन्सर्ट, तर पर्खिरहे फ्यान
चितवनपछि पोखरामा आयोजना भएको कन्सर्ट पानीका कारण स्थगित भयो । तर, साम्राज्ञीलाई नै हेर्न पुगेका सयौ फ्यानले पानीको प्रवाहा नगरि उनलाई पर्खिए । साम्राज्ञी र नायक पुष्प खड्का आउने खबरसँगै कन्सर्ट स्थलमा पुगेका फ्यानले दुबै कलाकारलाई भेट्न पाएनन् ।

कतिपय यूवतीहरु स्थानिय आयोजकसँग साम्राज्ञीलाई भेट गराइदिन आग्रह गर्दै रोएका थिए । वुटवलमा कन्सर्टको आयोजना नभएपनि स्थानिय केही कार्यक्रममा चलचित्रको टिम पुगेको थियो । उक्त कार्यक्रममा पनि साम्राज्ञीसँग तस्वीर खिचाउनेको भीड लोभलाग्दो थियो ।

पछिल्लो समयमा कमै मात्र कलाकार नोटिस भैरहेको अवस्थामा साम्राज्ञीले काठमाण्डौ बाहिर पनि लोभलाग्दो क्रेज बनाएकी छिन् । उनको यो क्रेज अब हलमा पनि देखिन आवश्यक छ । अहिले धेरै कलाकार भेट्दा दर्शक सेल्फी खिच्न लालयित हुने, तर तीनै कलाकारको चलचित्र हेर्न हलसम्म नपुग्ने क्रम बढेको छ ।

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’ र साम्राज्ञीको हकमा भने यो लागू नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment