Comments Add Comment

आफ्नो शेषपछि सम्पत्तिको बाँडफाटका बारेमा अमिताभ बच्चनको अनौठो खुलासा

बलिउडका शहंशाह अर्थात अमिताभ बच्चनले हालै मात्र ‘कौन बनेगा करोडपति’ को सेटमा आफ्नो सम्पत्तिका बारेमा एक महत्वपूर्ण खुलासा गरेका छन् ।

सोनी टेलिभिजनबाट प्रसारण हुने गेम रियालिटी शो ‘कौन बनेगा करोपति-११’ मा गत शुक्रबार कर्मवीर स्पेशल इपिसोडमा भारतीय समाजसेवीका सिन्धुताई सपकाल हटसिटमा थिइन् । सिन्धुताई एक अनाथ आश्रमको सञ्चालिका हुन्, जसले अहिलेसम्म १२ सय बालबालिकाहरुलाई शरण दिइसकेकी छिन् । अमिताभले सिन्धुताईलाई एउटा जिज्ञासा राख्दै सोध्छन्-तपाईंको आश्रममा बालिकाहरु धेरै छन् कि बालक ? यो प्रश्नको जवाफ दिँदै ताईले जवाफ दिन्छिन्-‘बालिकाहरु नै बढी छन्, म पनि बालिकाहरुलाई लिनकै प्राथमिकता दिन्छु, किनभने उनीहरुको सुरक्षा बढी आवश्यक छ ।’

अमिताभले एउटी सानी बालिकाको बारेमा पनि ताईसंग जिज्ञासा राख्छन्, जसलाई केही व्यक्तिहरुले बाल आश्रममा छोडेर गएका थिए । त्यसको जवाफमा सिन्धताईकी छोरी ममता बोल्छिन् । उनी भन्छिन्-‘राति फोन गरेर कसैले छोरी जन्मिएकी छिन्, त्यहाँ तपाईंले राख्न सक्नुहुन्छ, होइन भने हामी अरु नै केही सोच्ने छौं भन्छ । फोन गर्ने व्यक्तिको कुरा सुनेपछि ताईले ती बालिकालाई राख्ने निर्णय गर्छिन् ।’ ममताका अनुसार जब ताईले ती बालिकालाई भेटिन्, उनको अवस्था निकै नाजुक थियो । उनलाई १० दिनसम्म आईसीयूमा राख्नुपरेको थियो । उक्त कुरा सुनेर महानायक अमिताभसमेत निकै भावुक भए ।

सबै कुरा सुनेपछि अमिताभले भावुक हुँदै आफ्नो धारणा राखे । उनको भनाइ थियो-‘मैले पहिला पनि भनेको थिएँ र आज पनि भन्दैछु, जब म मरेर जान्छु, मर्नुभन्दा अगाडि मसंग जे जति सम्पत्ति बाँकी रहन्छ, धेर-थोर जति नै सम्पत्ति बाँकी रहे पनि त्यो सम्पत्ति मेरा दुई सन्तान छन्, एक छोरा र एक छोरी, उनीहरुलाई आधा-आधा बाँडेर दिनेछु, दुबैले बराबरी पाउने छन्, चाहे जे जति होस् ।’

वर्तमान अवस्थामा अमिताभ बच्चनसंग करिव ४ सय ६० करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति छ । यो कुराको खुलासा   अमिताभकी धर्मपत्नी जया बच्चनको निर्वाचन आयोगमा बुझाइएको पत्रबाट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment