Comments Add Comment

ठोरीलाई आँपको पकेट क्षेत्र बनाईने

१५ भदौ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकालाई आँपको पकेट क्षेत्र बनाईने भएको छ । ठोरीलाई आँप खेतीको हवको रुपमा विकास गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष यो मौसममा अभियान नै सञ्चालन गर्दै आइरहेको छ ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जको जंगलसँग जोडिएको ठोरी गाउँपालिकामा अन्नबाली लगाउँदा जंगली जनावारले खाएर दुःख दिने गरेपछि वैकल्किप खेतीको रुपमा विकास गर्न स्थानीय तहले आँपको विरुवा रोप्न ठोरीबासीसँग आव्हान समेत गरेको छ ।

जंगली जनावरको आतङ्कका कारण बाँझो रहेका सयौँ बिघा जमिनलाई सदुपयोग गर्ने उत्तम विकल्प आँप खेती रहेकाले विकल्प खोजिएको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । गाउँपालिकाले प्रतिगोटा ४० रुपैयाँका दरले अनुदानमा आँपको विरुवा वितरण गरेर किसानहरुलाई आँपखेती तर्फ आकर्षित गर्ने काम भइरहेको उनले बताए । निशुल्क विरुवा वितरण गर्दा विरुवाको संरक्षण नहुने गरेको पाईएपछि शुल्क राख्नुपरेको उनले बताए । गाउँपालिकाले १० विगाहामा आँप लगाउने किसानको तारबारको खर्च समेत बेहोर्ने उनले बताए ।

यस आर्थिक वर्षमा २ हजार ६ सय प्रजातिका आँपका विरुवा किसानले लगिसकेको उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार पाँचै वडामा ५ सय विगाहामा आँप रोप्ने लक्ष्य राखेको छ । ‘अन्नबाली लगाउँदा हात्ती, बँदेल, चित्तल, घोड गधा, निलगाई लगायतका जंगली जनावरले खइदिने गरेको छ । व्यवसायिक खेति पनि हुन सकेको छैन । खोलानाला धेरै भएपनि सिँचाईको समेत अभावै छ ।’ उनले भने, ‘ठोरीलाई आँप खेतीको हवको रुपमा विकास गर्ने योजनासहित काम भइरहेको छ ।’

बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत केही दिनअघि गाउँपालिकामा २ हजार २ सय बोट आँपको विरुवा वितरण गरिएको छ । छिट्टै ७–८ हजार आँपका विरुवा रोप्ने तयारी गाउँपालिकाले गरिसकेको छ । गत वर्ष पनि गाउँपालिकामा झण्डै ४ हजारको हाराहारीमा विरुवा रोपिएको थियो ।

‘२० बिघा जतिमा पहिल्यै आँप रोपी सकिएको छ । १० बिघा क्षेत्रफलमा विरुवा रोप्ने किसानको जमिनलाई तारले घेरावार समेत लगाइदिने योजना छ । यो खेतीप्रति किसानलाई आकर्षित गराउन थप स्कीम ल्याउँदै छौं ।’ उनले भने, ‘राम्रो गर्ने किसानलाई हाते ट्याक्टर, औषधी छर्कने मेशिन, तालिम मात्रै दिँदैनौं उत्पादित आँपको बजार व्यवस्थापनमा समेत सघाउँछौं ।’

आँप खेती गर्ने किसानलाई एकजुट गराइ सहकारीको रुपमा स्थापित गरी प्रशिक्षित र सक्षम किसान बनाउने सोचमा स्थानीय तह रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment