Comments Add Comment

अन्तर्राष्ट्रिय सम्मेलनमा कृषिमन्त्रीले गरे नार्कको आलोचना

१७ भदौ, काठमाडौं । कृषि अनुसन्धान परिषद् नार्कको भूमिकालाई लिएर कृषि तथा पशुुपन्छी विकासमन्त्री चक्रपाणी खनालले असन्तुष्टि जनाएका छन् ।

काठमाडौंमा सोमबारबाट सुरु भएको बीउबिजन सम्बन्धि दुई दिने अन्तर्राािष्ट्रय सम्मेलनको उद्घाटन गर्दै उनले नार्कले परम्परागत शैली त्याग्न नसकेको गुनासो गरे । कृषिको प्रचुर सम्भावना भएको मुलुकमा कृषकसम्म पुग्ने गरी वैज्ञानिक अनुसन्धान नभएको उनको भनाइ थियो ।

‘विश्वमा ५० वर्ष पहिले विकसित भएको कृषि सम्बन्धी वैज्ञानिक खोजलाई टालटुल बनाएर नेपालीकरण गरिनुलाई आविष्कार मान्न सकिन्न,’ खनालले भने ।

अमेरिकी फौजी किराको नेपाल प्रवेश पुष्टी गर्नै एक वर्ष लाग्ने शैलीले कृषि क्षेत्रको विकास नहुने उनले बताए । ‘फौजीकिराले मकैबाली सखाप पारीसक्दा पनि किरा आएको हो वा होईन भन्नेमै अल्मिलिनु दुःखद छ,’ उनले भने ।

२ करोड ८० लाख जनसंख्या भएको देशमा तीन करोड केही कित्ता जग्गा रहेको भन्दै मन्त्री खनालले जमिनको डरलाग्दो खण्डिकरणका बीच उन्नत जातको बिउ बिजन आविष्कार हुन नसकेको जनाए । टुक्रे उत्पादन प्रणालीलाई बिस्थापित गर्न नार्कको भूमिका प्रभावकारी हुनु पर्ने भन्दै उनले आवश्यक सबै खाले सहयोगका लागि मन्त्रालय र सरकार तयार भएको उल्लेख गरे ।

सरकारले बीउ बिजन ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको पनि मन्त्री खनालले जानकारी दिए । आगामी ५ वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य सरकारले लिएको भन्दै मन्त्री खनालले सो अनुसार अघि बढ्न सरोकारवालाहरुलाई निर्देशन दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युएस एड र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ । नेपालसहित भारत, पाकिस्तान, केन्या, जिम्बाबे लगायत मुलकका कृषि वैज्ञानिक तथा सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी छन् ।

नेपालको राष्ट्रिय बीउबिजन सोच २०१३–२०२५ र कृषि विकास रणनीति २०२०–२०३५ लाई सफल बनाउनसम्मेलन फलदायी हुने नेपाल बीउ तथा मल परियोजनाका म्यानेजर डा. डिल्लीबहादुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment