Comments Add Comment

बौद्ध विश्वविद्यालयलाई कांग्रेसको ज्ञापनपत्र : केन्द्रीय क्याम्पस बाहिर कक्षा सञ्चालन नगर

१७ भदौ, बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालयले केन्द्रीय क्याम्पस लुम्बिनीमा पर्याप्त भौतिक पूर्वधार हुँदाहुँदै बाहिर कक्षा सञ्चालन गरेकामा नेपाली कांग्रेसले पनि विरोध गरेको छ ।

केन्द्रीय क्याम्पस लुम्बिनीमा पर्याप्त भौतिक पुर्वाधार हुँदाहुँदै महँगो भाडा तिरेर बुटवलमा बीबीटीएम र बीएएलएलबीका कक्षा सञ्चालन गर्नु खेदजनक भन्दै कांग्रेसले तत्काल लुम्बिनीमै कक्षा सञ्चालन गर्न माग गरेको छ ।

यसअघि समाजवादी पार्टीले पनि विश्व विद्यालय उद्देश्यविपरित चल्न थालेको भन्दै लुम्बिनी बाहिर कक्षा सञ्चालन नगर्न माग गरेको थियो ।

विश्व विद्यालयले स्नातकोत्तर तहमा कानुन र ट्राभल्स एण्ड टुरिज्मका कक्षा बुटवलमा सञ्चालन गर्न थालेकामा नेपाली कांग्रेस लुम्बिनी साँस्कृतिक नगर समितिले विरोध गर्दै ज्ञापनपत्र बुझाएको हो ।

क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेलाई ज्ञापनपत्र बुझाउंदै कांग्रेस नगर सभापति मोहम्मद सइद खानले माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिए । अन्यत्र कक्षा सञ्चालन गर्ने निर्णयले विश्व विद्यालयलाई अन्यत्र सार्न खोजिएको त हैन भन्ने आशंका उब्जिएकाले खबरदारी गर्न ज्ञापनपत्र बुझाउनुपरेको उनले बताए ।

केन्द्रीय क्याम्पसमै चिनिया, जापानी, श्रीलङ्कन र थाइ भाषाको ६ महिने कक्षा सञ्चालन गर्न,कम्प्युटर इन्जिनियरिङ,फरेस्ट्री,कृषि विज्ञान जस्ता संभावना बोकेका संकाय थप गर्न पनि कांग्रेसले माग गरेको छ ।

कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकतामा राख्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । यस्तै विश्व विद्यालयका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, शिक्षाविद् र वुद्धिजिवीहरुसँग छलफल गर्न पनि कांग्रेसले माग गरेको छ ।

बौद्ध दर्शन र साहित्यको अध्यापन एवं अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको संस्थाले उद्देश्य विपरित इन्जिनियरिङ, कानुन, टुरिज्म लगायतका विषयहरु पढाउन अन्य संस्थालाई अनुमति दिएपछि स्थानीय राजनीतिक दलहरु र शिक्षाविद्बाट विश्व विद्यालयको आलोचना हुन थालेको छ ।

विश्वविद्यालयले स्कुल अफ डेभलपमेन्ट स्टडिज र एप्लाइड साइन्स संकाय थपेर स्थापनाको उद्देश्य विपरीत हुने गरी स्नातक र स्नातकोत्तर तहमा कानुन, ट्राभल्स एण्ड टुरिज्म, वातावरण, विकास, वन विज्ञान लगायत ११ वटा थप विषयमा पढाइ सञ्चालन गर्न लागेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा करिब दुई सय विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment