Comments Add Comment

परदेशी प्रकरण : कार्यकर्ताले जोगाउने, प्रचण्डले कारबाहीको आश्वासन दिने !

ईश्वरपुर नगरपालिकाका नेकपा इञ्चार्ज नै परदेशीबाट पीडित

१८ भदौ, सर्लाही । सर्लाही ईश्वरपुर नगरपालिकाका नेकपा इञ्चार्ज योगनारायण धामीले मलंगवाका श्यामकृष्ण साह ‘परदेशी’सँग २ लाख ७० हजार ऋण लिए ।

त्यसवापत धामीले साविकको बलबा सोकनाहा गाविस वडा नम्बर २ ‘ख’ कित्ता नम्बर २२५ को घरसहित २ कठ्ठा ५ धुर जग्गा परदेशीकी छोरी ईलाको नाममा पास गरिदिए ।

पछि परदेशीले ईलाको नाममा आएको जग्गा आफ्नी पत्नी मञ्जुको नाममा नामसारी गराए । परदेशीले धामीको जग्गामात्र हात पारेनन्, एक–एक करोडको एउटा र ३१ लाख २० हजारको अर्काे एक गरी तीन वटा छुट्टाछुट्टै तमसुकसमेत बनाए ।

परदेशी पक्राउ परेपछि अनलाइनखबरको सम्पर्कमा आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ईश्वरपुर नगरपालिका इञ्चार्ज धामी भन्छन्, ‘२०७२ सालमा बुवाको उपचार गराउन भन्दै परदेशीसँग २ लाख ७० हजार ऋण लिएको थिएँ, तर उनले जालसाजी गरेर मेरो घर र जग्गा हडपेका छन् ।’
यो पनि पढ्नुहोस परदेशीको मुद्दामा ३९ जनाविरुद्व पक्राउ पुर्जी, ‘ऋणी’को भागाभाग

यो दृष्टान्तले थाहा हुन्छ, परदेशीको ऋणको पासोमा सर्लाहीका सर्वसाधारण जनतामात्र होइन, नेतासमेत परेका छन् । नेकपाभित्रै परदेशीलाई कारबाही गराउने र जोगाउने दाउ चलिरहेको बेला नेकपाकै नेता पनि पीडित बनेको तथ्य बाहिर आएको हो ।

ऋण दिएकोभन्दा चार–पाँच गुणाबढी रकम असुल्ने र असुलिसकेपछि पनि मुद्दा हालेर जेलसम्म पुर्‍याउने सर्लाही मलंगवाका श्यामकृष्ण साह ‘परदेशी’ हाल पक्राउ परेका छन् ।

तर, उनलाई जोगाउन नेकपाका नेताहरु नै लागेको चर्चा नेकपा वृत्तमा चलिरहेको छ ।

प्रचण्डको आश्वासन र नेकपा कार्यकर्ताको भूमिका

न्याय दिलाइदिन माग गर्दै परदेशीबाट पीडित ऋणीहरुले केही हप्तासम्म काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन गरे ।

पर्चा र पम्पलेट छरे । गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेर आफ्ना समस्या सुनाए । तर कतैबाट सुनुवाइ नभएपछि उनीहरु भदौ १३ गते नेकपा अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर समस्याको पोको फुकाए ।
यो पनि पढ्नुहोस सर्वस्व गुम्यो तर सकिएन ऋण

उनीहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तीन–चार सय वर्ष अगाडि यस्तो हुन्थ्यो भनेर किताबमा पढिन्थ्यो । अहिले पनि त्यस्तै अन्याय, शोषण, अत्याचार तपाईंहरुले भोग्नु भएको रहेछ । हामी गृहमन्त्रालय, वकिल, महान्यायाधीवक्ता सबै बसेर यो जालसाजी र अत्याचारबाट कसरी मुक्त गराउने भन्नेबारेमा सामूहिक रुपले कुरा गर्छौं र यसको हल हरहालतमा निकाल्छौं ।’

प्रचण्डले यस्तो आश्वासन दिएको दुई दिनपछि परदेशी पक्राउ परे ।

तर, मिटरब्याजी परदेशीलाई पक्राउ गराउनेदेखि उनलाई जोगाउने दोहोरो भूमिका सत्तारुढ नेकपाकै नेता–कार्यकर्ताहरुले गरेका खुलासा भएको छ ।

परदेशीले ऋणीहरुलाई अत्यधिक मानसिक तनाव दिएपछि गत माघमा पीडित महिलाहरुको समूहले परदेशीका छोरालाई नियन्त्रणमा लिएपछि नेकपा केन्द्रीय सदस्य रेवती पन्तले सहमति गराउँदै उनका छोरा उम्काएका थिए । त्यसबेला परदेशीले लिएको ऋणको दोब्बर रकम तिरिदिए मुद्दा फिर्ता लिने सहमति उनले गराएका थिए । तर यो कार्यान्वयन नभएपछि पन्तले परदेशीलाई उम्काउन खोजेको देखिएको पीडितहरुको भनाइ छ ।

नेकपाका प्रदेश कमिटी सदस्य कमल बुढाथोकी पनि पार्टीका केही नेता परदेशीलाई बचाउनेतिर लागेको बताउँछन् । तर यसले केही फरक नपार्ने उनको भनाइ छ । ‘परदेशीकै पक्ष लिने थोरै मात्र छन्, यसले कुनै फरक पार्दैन,’ बुढाथोकी भन्छन् ।

नेकपाका सर्लाही जिल्ला इञ्चार्ज दाताराम वाग्ले पार्टीका साथीहरुले विगतमा गराएको सहमति समस्या समाधानकै निम्ति भएको बताउँछन् । ‘अहिलेको अवस्थामा कोही पनि उनको पक्षमा जान सक्दैनन्,’ वाग्लेले अनलाइनखबरसँग भने, ‘पीडितहरुलाई न्याय दिलाउन पार्टी केन्द्रीय कमिटीबाटै निर्णय भएकाले यो निर्णयविरुद्ध जाने जोकोहीलाई पनि कारबाही हुन्छ ।’
यो पनि पढ्नुहोस श्याम परदेशीको कर्तुत : महिला ऋणीमाथि गिद्धे नजर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment