Comments Add Comment

विश्व सम्पदा सूचीमा नेपालका तीन सम्पदा थप्न प्रस्ताव लगिने

Photo Credit : कपिलवस्तुको तिलौराकोट / अनलाइनखबर फाइल

१८ भदौ, काठमाडौं । नेपालले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तीन सम्पदाको प्रस्ताव गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई सूचीकृत गर्न खोजिएको हो ।

पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजना अनुसार ६ महिनाभित्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव लगिने छ । रामजानकी र रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया पनि यसै अवधिमा अगाडि बढाउने घोषणा मन्त्री भट्टराईले गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) विश्व सम्पदा सूचीको नियमन गर्ने आधिकारिक निकाय हो । यूनेस्को अन्तर्गत रहने हेरिटेज कमिटीको सेसनले हरेक वर्ष नयाँ थप गर्ने, खतराको सूचीमा राख्ने र खतराको सूचीबाट हटाउने सम्पदाबारे निर्णय गर्छ ।

यूनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सम्पदालाई ‘खतराको सूची’मा राख्ने चेतावनी पटक-पटक दिइसकेको छ । सन् २०१९ को वल्र्ड हेरिटेज कमिटि बैठकमा समेत यूनेस्कोले यो प्रस्ताव लगेको थियो । तर, पारित भएन । यूनेस्कोले भूकम्पपछि नेपालका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको छ ।

सुस्त पुनर्निर्माण, पुनर्निर्माणका दौरान आधुनिक निर्माण सामग्रीको प्रयोग र मानवीय अतिक्रमणका कारण कुरुप बन्दै गएका सम्पदाबारे यूनेस्कोको असन्तुष्टि देखिन्छ । मन्त्रालयले विश्व सम्पदामा यूनेस्कोको चासो सम्बोधन हुने गरी कार्ययोजना बनाउने र त्यसलाई कडाइपूर्वक कार्यान्वयनमा ल्याउने कुरालाई योजनामा समेटेको छ ।

यसैवर्ष यूनेस्कोबाट एक एक टोली नेपाली सम्पदाको अडिटका लागिसमेत आउनेछ । मन्त्रालयका अनुसार यूनेस्कोको चासो उपत्यकाभित्र स्थानीय सरकारहरुले बनाएका भवन निर्माण संहितामा समेत रहेको छ ।

काठमाडौं उपत्यका भित्रका पशुपतिनाथ मन्दिरसहित बौद्धस्तुपा, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचिमा सूचस्कृत छन् । काठमाडौंबाहिर सगरमाथा राष्ट्रिय निकुन्ज, चितवन राष्ट्रिय निकुन्ज र लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् ।

अहिले विश्वका १६७ मुलुकबाट १ हजार १ सय २१ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसमध्ये ५३ वटा सम्पदा खतराको सूचीमा परेका छन् ।

नेपालले विश्व सम्पदा सूचीमा राख्न सकिने सम्भावित सूची यसअघि नै यूनेस्कोमा प्रस्ताव गरिसकेको छ । ती सम्पदामा पनौतीदेखि तिलौराकोट, मुस्ताङ, रामग्राम, गोरखा दरवार, कीर्तिपुर, नुवाकोट, रुरु क्षेत्र, तानसेन, सिन्जा उपत्यका, साँखु, खोकना लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment