Comments Add Comment

जन चाहना अनुसार काम गरेर देखाउछौँ : कार्यवाहक प्रधानमन्त्री पोखरेल

१८ भदौ, वीरगञ्ज । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले जन चाहना अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।

जनता आवास पुनःनिर्माण कार्यदलले वीरगञ्जमा बुधबार आयोजना गरेको समापन तथा हस्तान्तरण समारोहमा उनले मुलुकमा नयाँ व्यवस्था कार्यान्वयनको चरणमा रहेका कारण जन अपेक्षा अनुसार काम हुन नसकेको बताए ।

‘दुई तिहाइको सरकार त बन्यो, अपेक्षाकृत काम हुन सकेन’ उनले भने, ‘हिजो गर्छु भनेका थुप्रै कुराहरु किन भएन भनेर जनताले प्रश्न गर्नु स्वभाविक छ ।’

नयाँ संविधानलाई कार्यन्वयन गराउन आवश्यक कानुन, संरचना र विशेष ऐनहरु पर्याप्त नभएका कारण सोचे अनुसार काम गर्न नसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले पहिलो वर्षलाई आधार वर्ष र दोस्रो वर्षलाई डेलिभरीको वर्ष भनेकोले सोही अनुसार सरकार अघि बढीरहेको भन्दै उनले जन चाहना अनुसार सरकारले काम गरेर देखाउने बताए ।

निर्वाचनको समयमा जनता समक्ष गरेका प्रतिवद्धता अनुसार सरकारले काम गरे नगरेकोबारेमा जनताले सँधै खबरदारी गर्नुपर्ने उनले बताए ।

हुरी प्रभावित जनताको आवास पुनःनिर्माणका क्रममा केहि छुट भएको गुनासो आएको बताउँदै उनले वास्तविक पीडितलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संघ, प्रदेश र स्थानीय सरकारको आपसी समन्वयमा नेपाली सेनाले पुनःनिर्माणको काम समयमा नै सम्पन्न गरेको भन्दै उनले यसले तीनै तहबीच मिलेर अघि बढ्न सन्देश दिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी हुँदा जनता आवास निर्माण सम्पन्न गरेकोमा सेनाको प्रशंसा गर्दै अनुकुल समय मिलाएर हेर्न आउने वाचा समेत गरेको जानकारी उनले गराए ।

दुःखको घडीमा नेपाली सेनाको प्रशंसनीय कार्य: मुख्य मन्त्री

कार्यक्रममा प्रदेश–२ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले सयमयमै घर बन्नुपर्छ भन्ने जन चाहाना पूरा गरको भन्दै नेपाली सेनालाई धन्यवाद दिए ।

पुनःनिर्माणका क्रममा प्रशासनले त्रुटी गरेका कारण जनतामा असन्तुष्टी देखिएको मुख्यमन्त्री गद्दीको भनाइ छ ।

‘नेपाली सेनाले दुःखको घडीमा अति नै स्रहानीय र प्रशंसनीय कार्य गरेको छ, समयमै घर बन्नुपर्छै भन्ने जन चाहनालाई पूरा गरेको छ’ उनले भने, ‘तर बारा जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट केही कमी कमजोरी भएको देखिएको छ, पूर्ण क्षति भएका प्रभावितको घर पनि छुटेको गुनासो हामीकहाँ आएका छन् ।’

छुटेका पीडितको घर बन्नुपर्ने बताउँदै उनले प्रदेश सरकारले सकेको सहयोग गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले विविध कारणले साउन २६ गते घर हस्तान्तरण गर्ने लक्ष्य पूरा गर्न नसकिएको बताए ।

नेपाली सेनाले प्रभावितका लागि निर्माण गरे जस्तै नमूना घर उपप्रधानमन्त्रीलाई, उपप्रधानमन्त्रीले मुख्य मन्त्रीलाई र मुख्य मन्त्री राउतले सम्बन्धित स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरेर पुनःनिर्माण अभियानको समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment